केआईआईटीमा नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारको स्थानीय स्तरमा व्यापक विरोध भइरहेको छ : के रवि, आवासीय सम्पादक, द स्टेट्सम्यान पत्रिका, ओडिसा संस्करण
काठमाडौँ — भारतको ओडिसा प्रान्तको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली छात्राको शंकास्पद मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि गरिएको दमनको भारतमै पनि व्यापक विरोध भएको छ ।
राजनीतिक दल, मिडिया र नागरिक तहबाट मृतक नेपाली छात्रा प्रकृति लम्सालले न्याय पाउनुपर्ने आवाज उठाइएको छ । घटना अनुसन्धान र न्यायको माग गर्ने नेपाली विद्यार्थीमाथि गरिएको दमनको निन्दा सबैतिर भएको छ ।
भारतभित्रैबाट दबाब बढेपछि भारत सरकारले पनि उक्त घटनाका विषयमा मुख खोलेको छ । अहिलेसम्म मौन रहेको केन्द्र सरकारले शुक्रबार त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा र भलाइलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । विदेश मन्त्रालयले ओडिसा सरकारले घटना अनुसन्धानका लागि गठन गरेको उच्च स्तरीय समितिको निष्कर्षका आधारमा थप कानुनी र प्रशासनिक कदम चालिने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विद्यार्थीको सुरक्षा र शैक्षिक गतिविधिहरूमा सक्रियातका लागि आवश्यक सबै कदमहरू चलिएको विश्वास दिलाएका छन् । उनले नेपाली विद्यार्थीको निधनप्रति गहिरो दुःख प्रकट गर्दै परिवारजनमा हार्दिक समवेदना समेत प्रकट गरेका छन् । घटना जानकारीमा आएदेखि नै मन्त्रालय नेपाल सरकार, राज्य सरकार, केआईआईटी पदाधिकारीसँगको सम्पर्कमा रहेर आवश्यक कदम चाल्दै आएको उनले बताएका छन् । ओडिसा सरकार र सम्बन्धित संस्थानले स्थितिलाई सम्बोधन गर्न धेरै कारबाही पनि बढाइसकेको उनको भनाइ छ ।
ओडिसा प्रहरीले ओरापित र विद्यार्थीमाथि कुटपिटमा संलग्न धेरैलाई पक्राउ गरिसकेको र उनीहरूमाथि कारबाही चलाइएको उनले बताए । नेपाली विद्यार्थीलाई फर्काउन तथा उनीहरूलाई सहीजकरण गर्न विदेश मन्त्रालय नियमित रूपमा राज्य सरकारसँगको सम्पर्कमा रहेको उनले भनेका छन् । भारतमा अध्ययनरत नेपाली छात्रछात्रा दुई देशबीच कायम जनस्तरको स्थायी सम्बन्धका लागि महत्वपूर्ण हिस्सा रहेको समेत उनले उल्लेख गरेका छन् ।
केआईआईटीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल आइतबार साँझ होस्टलमा मृत भेटिएकी थिइन । उनको मृत्यु शंकास्पद रहेको भन्दै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीले वास्तविक अनुसन्धान र न्यायको माग गरेपछि कलेज प्रशासनबाट दमन गरिएको थियो । केआईआईटी प्रशासनले सुरक्षा गार्ड र बाउन्सर लगाएर सयौं नेपाली विद्यार्थीमाथि कुटपिट गर्दै होस्टलबाट बाहिर निकालिएको थियो । होस्टलबाट निकालिएपछि उनीहरू रेल्वे स्टेसनमा अलपत्र परेका थिए ।
शैक्षिक संस्थानमा भएको उक्त घटनाको नेपालमा चर्को विरोध भयो । सडक, संसद् र मिडिया सर्वत्र उक्त घटनाको विरोध जारी छ । यस मुद्दामा नेपाली समाजले भारत सरकार, राज्य सरकार र त्यहाँको मिडियाको साथ पाएको छ । नेपाली विद्यार्थीमाथि गरिएको व्यवहारको त्यहाँका सबैजसो मिडियाले निन्दा गरेका छन् । घटना विवरणको समाचार मात्रै होइन, सम्पादकीय तथा विचारमार्फत प्राय: मिडियाले घटनाको विरोध जनाएका छन् ।
प्रसिद्ध अंग्रेजी पत्रिका 'द इन्डियन एक्सप्रेस'ले बिहीबार आफ्नो सम्पादकीयमार्फत भारतका विश्वविद्यालय तथा कलेजलाई ‘भद्र र दयालु’ हुन सुझाएको छ । केआईआईटीमा भएको घटना प्रसंगलाई उल्लेख गर्दै उक्त पत्रिकाले नेपाली विद्यार्थीले आफूमाथि भइरहेको उत्पीडनविरूद्ध उजुरी दिँदा पनि कलेज प्रशासनबाट पर्याप्त कदम नचालिएको लेखेको छ । भारत अझै पनि अन्तर्राष्ट्रिय विद्यार्थीका लागि ‘ग्लोबल क्याम्पस’ को आदर्श छविबाट टाढा रहेको वास्तविकतालाई सम्पादकीयमा दर्शाइएको छ ।
कलेजका कर्मचारीले नेपालका विद्यार्थीलाई क्याम्पस खाली गर्न दिएको निर्देशन, उनीहरूको व्यवहार कच्चा र डरलाग्दो रहेको सम्पादकीयमा भनिएको छ । कलेजहरूमा समावेशी वातावरणको सुनिश्चितताका लागि पनि ध्यानाकर्षण गराइएको छ । सोही पत्रिकाले बुधबार पहिलो पृष्ठको मुख्य समाचारमा ओडिसा प्रकरणलाई लिएर नेपालको संसद्मा उठेको विषयलाई स्थान दिएको छ ।
भारतका चर्चित पत्रकार रविश कुमारले आफ्नो युट्युब च्यानलमार्फत केआईआईटीमा नेपाली विद्यार्थीसँग गरिएको व्यवहारको निन्दा गरेका छन् । उनले केआईआईटीको प्रशासन र उडिसा प्रहरीमाथि सुरुदेखि भरोसा योग्य कारबाही नबढाएको भन्दै प्रश्न समेत उठाएका छन् ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले समाजिक सञ्जाल एक्समा ओडिसा घटनाको प्रसंग लेखेपछि मात्रै ओडिसा सरकार ‘एक्सन’ मा आएको उनले भनेका छन् । नेपालका विद्यार्थीमाथि गरिएको व्यवहार अत्यन्तै गलत भएको भन्दै कुनै पनि विश्वविद्यालयलाई यति धेरै अहंकार हुन नहुने उनले उल्लेख गरेका छन् ।
केआईआईटीका केही अधिकारीले ‘जति नेपालको बजेट छैन, त्योभन्दा बढी युनिभर्सिटीले विद्यार्थीलाई नि:शुल्क खाना खुवाइइरहेको’ भन्दै दिएको अभिव्यक्तिको समेत रविश कुमारले निन्दा गरेका छन् । उनले केआईआईटीमा भएको घटनालाई भारतको छविमा पार्ने असरसँग जोडेका छन् । उनले नेपाली विद्यार्थीलाई जबर्जस्ती होस्टलबाट निकालिनु, उनीहरूमाथि कुटपिट गरिनुमा को को संलग्न छन्, कसको आदेशले त्यस्तो गरिएको हो, सबै छानबिन हुनुपर्ने भनेका छन् । यस मामिलामा विदेश मन्त्रालयले हस्तक्षेप गरेर ठोस कारबाही सुनिश्चत गराउनुपर्ने समेत उनको भनाइ छ । प्रकृति लम्सालको मृत्युको जिम्मेवार को भन्ने विषयमा पारदर्शी अनुसन्धान गरिनुपर्ने उनले बताएका छन् ।
त्यस्तै, पत्रकार शुभशंकर मिश्राले नेपाली छात्रालाई न्याय दिलाउनुको साटो केआईआईटीका तर्फबाट गरिएको दुर्व्यवहार भारतकै लागि लज्जाको विषय बन्न पुगेको भनेका छन् । आफ्नो युट्युब च्यानलमार्फत उनले कलेज प्रशासनको रवैयाका कारण १ सय ४० करोड भारतीय लज्जित हुनुपरेको बताएका छन् ।
केआईआईटी प्रकरणबारे १४ मिनेट लामो आफ्नो टिप्पणीमा उनले कलेज प्रशासनको निन्दा गर्दै भारतका कसैले पनि उनीहरुलाई साथ दिन नहुने, ऊसँग उभिन नहुने भनेका छन् । नेपाली छात्रा लम्सालको शंकास्पद मृत्युपछि त्यसलाई लुकाउन कलेजबाट नेपाली विद्यार्थीमाथि गरिएको दमनको उनले निन्दा गरेका छन् ।
उक्त विश्वविद्यालयमा आइतबार र सोमबार नेपाली विद्यार्थीसम्बन्धित घटनाले द हिन्दु, टाइम्स अफ इन्डियादेखि हिन्दी पत्रपत्रिका र टेलिभिजनमा प्रशस्तै स्थान पाएका छन् । अंग्रेजी पत्रिका 'डेक्कन हेराल्ड'ले केआईआईटी घटनाको सन्दर्भमा कूटनीतिक परीक्षणमा भारत विफल रहेको विचारलाई प्रकाशित गरेको छ । लेखक शास्त्री रामचन्द्रनले भारतमा आफ्नो नागरिकको सहयातका लागि विदेशी मिसनका अधिकारी आफै दौडिनुपर्ने स्थितिलाई उनले भारतको कूटनीतिक विफलता भनेका छन् । घटनाको गम्भीरतालाई बुझ्न नसक्नु केन्द्र र राज्य सरकारको कमजोरीका रूपमा उनले औंल्याएका छन् । नेपाली विद्यार्थीसँग भएको घटनालाई उनले भारतमा उत्तरपूर्वका विद्यार्थीमाथि हुँदै आएको नश्लीय पूर्वाग्रहकै निरन्तरता भनेका छन् ।
'द स्टेट्सम्यान' पत्रिकाको भुवनेश्वर संस्करणका आवासीय सम्पादक के रवि केआईआईटीमा नेपाली विद्यार्थीसँग भएको दुर्व्यवहारको स्थानीय स्तरमा व्यापक स्तरमा बिरोध भइरहेको बताउँछन् । ‘प्रिन्ट, टेलिभिजन सबैजसो मिडियाले उक्त घटनालाई प्राथमिकता दिएर कभरेज मात्रै गरेका छैनन् । मिडियाले कलेज प्रशासन र राज्य सरकारमाथि अनेकौ प्रश्न उठाएका छन्,’ उनले भने, ‘राज्यको विधानसभामा विपक्षी दल र सत्तापक्षका सांसदले पनि घटनाको निन्दा गर्दै नेपाली विद्यार्थीको सुरक्षा सवाल उठाएका छन् ।’
स्थानीय विद्यार्थी संगठनले समेत घटनाको विरोधमा लगातार प्रदर्शन गरेका छन् । स्थानीय तहमा भएको विरोध तथा दिल्लीबाट आएको दबाबले राज्य सरकार तत्कालै सक्रिय भएको थियो । चौतर्फी दबाबले कलेज प्रशासन रक्षात्मक स्थितिमा पुगेको छ । संस्थापक, उपकुलपतिदेखि रजिस्ट्रार सबैले पटकपटक घटनालाई लिएर माफी मागिरहेका छन् ।
भुवनेश्वर प्रहरीले नेपाली विद्यार्थीको मृत्यु तथा विद्यर्थीमाथि भएका दमनको घटनामा संलग्न १० जनालाई पक्राउ गरेर मुद्दा चलाइसकेको जनाएको छ । त्यस्तै, राज्य सरकारका तर्फबाट घटना अनुसन्धानका लागि उच्च स्तरीय समिति गठन गरिएको छ । ओडिसाको विधानसभामा शुक्रबार केआईआईटीका संस्थापक अच्युत सामन्तलाई पक्राउ गरेर घटनाको अनुसन्धान गरिनुपर्ने माग उठेको छ । ओडिसाको शिक्षा क्षेत्रमा केआईआईटीले ठूलो योगदान रहे पनि पछिल्लो घटनाले गम्भीर प्रश्न उठाएको छ ।
ओडिसाबाट बीबीसीका लागि कार्यरत वरिष्ठ पत्रकार सन्दीप साहुले नेपाली विद्यार्थीमाथि भएको घटनाको व्यापक तहमा ओडिसामा विरोध भइरहेको बताए । घटनाको पारदर्शी ढंगले अनुसन्धान गर्न तथा नेपाली विद्यार्थीको सुरक्षा र सम्मानको विषयमा जनस्तरमै आवाज उठेको उनको भनाइ छ । 'घटनाको विरोधमा ‘मिडिया कभरेज’ पनि उल्लेख्य भइरहेको छ । दोषीमाथि कारबाहीको माग उठिरहेको छ,' उनले भनेका छन् ।
