बदलिँदो सुरक्षा चुनौती सामना गर्न नयाँ रणनीति आवश्यक : सेना

राज्य संयन्त्रबीच समन्वय र सहकार्य बलियो हुनुपर्ने सेनाको निष्कर्ष 

फाल्गुन १०, २०८१

कान्तिपुर संवाददाता

New strategies needed to meet changing security challenges: Army

काठमाडौँ — नेपाली सेनाले अन्तर्राष्ट्रिय र क्षेत्रीय भूराजनीतिक बदलावबाट सिर्जित सुरक्षा चुनौती सामना गर्न नयाँ रणनीति बनाएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । यसका लागि राज्य संयन्त्रबीच समन्वय र सहकार्य बलियो हुनुपर्ने पनि सेनाको निष्कर्ष छ ।

देशको सुरक्षा अवस्था, भूराजनीतिक परिस्थिति र यसले निम्त्याउने सम्भावित जोखिमलगायत विषयमाथि बिहीबार र शुक्रबार सैनिक मुख्यालय जंगी अड्डाले ‘पृतनापति समन्वयात्मक बैठक’ मार्फत समीक्षा गरेको थियो ।

जंगी अड्डा र अन्तर्गतका विभाग/निर्देशनालय तथा आठवटै पृतनापति मुख्यालयबाट मुलुकको समग्र वस्तुस्थितिमाथि छलफल भएको थियो । सहभागी अधिकांशले बदलिँदो परिस्थिति सामना गर्ने गरी अघि बढ्न आवश्यक रहेको बताएका थिए । दुईदिने सम्मेलन शुक्रबार सकिएको छ ।

सम्मेलन समापनमा प्रधानसेनापति अशोकराज सिग्देलले बदलिँदो चुनौती सामना गर्न सोहीअनुसार रणनीति आवश्यक रहेको बताएका थिए । जंगी अड्डाले सम्मेलनको निचोडलाई समेटेर सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । ‘सम्मेलन उद्घाटनकै क्रममा प्रधानसेनापतिले राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति र यसबाट सिर्जित भूराजनीतिक वस्तुस्थितिले राष्ट्रिय सुरक्षा चुनौतीबारे अवगत गराउनुभएको थियो,’ बैठकमा सहभागी एक सैनिक अधिकारीले भने, ‘त्यसलाई नै अझ जोड दिएर सम्मेलनले आगामी दिनमा कसरी अघि बढ्ने भन्ने उपायबारे निचोडका रूपमा एउटा मार्गचित्र तयार पारेको छ ।’

बदलिँदो चुनौतीको सामना गर्न सबै सुरक्षा निकाय, अरू सरकारी संयन्त्र, राज्यसम्बद्ध स्टेक होल्डरबीच समन्वयबाट मात्रै चुनौती सामना गर्न सकिने पनि पृतनापति सम्मेलनको निचोड रहेको बैठकमा सहभागी स्रोतको भनाइ छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले भने ‘वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, तालिमहरूको समीक्षा, बन्दोबस्ती पक्षलगायत विविध विषयमा छलफल भएको’ जनाएको छ । 

सम्मेलनमा सहभागी सातवटै प्रदेश र उपत्यकास्थित पृतनापतिले आ–आफ्ना क्षेत्रको सुरक्षा, आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयमा प्रतिवेदनसहित वस्तुस्थिति जानकारी गराएका थिए । त्यसक्रममा कोशी र मधेश प्रदेशको अवस्था अरूभन्दा ‘केही जटिल’ रहेको टिप्पणी गरेका थिए । त्यसलाई ‘उचित सम्बोधन’ गर्नुपर्ने सेनाको निचोड छ । 

हरेक वर्ष सेना दिवसको पूर्वसन्ध्यामा जंगी अड्डाले मुलुकको समग्र वस्तुस्थितिको विश्लेषण गर्न देशभरका पृतनापतिलाई डाकेर समीक्षा गरी आवश्यक रणनीति तय गर्छ । पछिल्लो समय अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाले नेपालसहित विभिन्न मुलुकलाई यूएसएआईडीमार्फत दिँदै आएको अनुदान स्थगन गरिसकेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपाललाई दिइएको अनुदान पनि अमेरिकाले स्थगित गरेको छ । यसबाट सिर्जित परिस्थितिबारे पनि सेनाले समीक्षा गरेको हो ।

‘संसारभर देखा पर्ने उतारचढाव खासगरी राजनीतिक, कूटनीतिक, सांस्कृतिक, सामाजिक, व्यापार, प्रविधि, आर्थिकलगायत मामिलासँगै जोडिएर आउने गर्छन्, यस्ता कुरामा असर गर्ने भनेको राजनीतिक निर्णयले नै हो,’ एक सैनिक अधिकारीले भने, ‘यस्तो निर्णयको सबैभन्दा बढी असर पर्ने साना राष्ट्रलाई हो, त्यसबाट नेपाल पनि प्रभावित पर्ने नै भयो, अमेरिकाले वैदेशिक अनुदान स्थगन गर्दा कति मुलुकको वार्षिक बजेटमै हलचल ल्याइदिएको छ, यी र यस्ता पक्षले नेपाललाई पनि प्रभावित त बनाएकै छ । यी विषयबारे पनि स्वाभाविक रूपमा छलफल र समीक्षा भयो ।’

कान्तिपुर संवाददाता

Link copied successfully