काठमाडौँ — गत माघ २७–२९ काठमाडौंमा सम्पन्न पहिलो ऐतिहासिक महाधिवेशनपछि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौंमा शनिबार सुरु भएको छ ।
भोलिसम्म चल्ने बैठकमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराइएको छ । बैठकमा वैचारिक राजनीतिक कार्यदिशा र संगठनात्मक सिद्धान्त, प्रणाली, पार्टीको आचारसंहिता र कार्यविधिका विषयमा छलफल सुरु भएको छ । विभिन्न केन्द्रीय परिषद् तथा आयोग गठन, पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना र समसामयिक प्रस्तावबारे बैठकमा छलफल हुनेछ ।
बैठकमा उपाध्यक्ष ईश्वर रिजालले पदाधिकारी एवं सदस्यले पालना गर्नुपर्ने आचारसंहिता प्रस्तुत गरेका थिए । सचिव लक्ष्णम कार्कीले ३ महिने संगठन विस्तार तथा सुदृढीकरण अभियानबारे प्रस्ताव पेस गरे । त्यसैगरी, महासचिव सोनामसिं स्याङ्तानले संगठनात्मक सिद्वान्त र प्रणालीमाथि धारणा राखे ।
पार्टीका मुख्य निर्णय भोलि हुने पार्टी उपाध्यक्ष मानुषी यमि भट्टराईले जानकारी दिइन् ।
नेसपा नयाँ शक्तिको केन्द्रीय कार्यसमिति ९९ सदस्यीय छ ।
