दक्षिण सुडानमा शान्ति कायम गर्न नेपाली सुरक्षा फौज सन् २०११ देखि परिचालन, २० भन्दा बढी देशसँगै नेपालका १ हजार ९ सय ६६ शान्ति सैनिक तैनाथ
जुबा, दक्षिण सुडान — दक्षिण सुडानको राजधानी जुबास्थित यूएन हाउसस्थित अरिदमन गण एफआरबी (फोर्स रिजर्भ बटालियन) को नेतृत्व सम्हालिरहेका नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) महेश्वर सिल्वाल १४ महिनाको बसाइ बिट मार्दै आगामी शुक्रबार नेपाल फर्कंदै छन् ।
उनी ‘युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (अनमिस)’ अन्तर्गत ०८० मंसिर २१ मा कमान्डरका रूपमा जुबा पुगेका थिए । उनको ठाउँमा जिम्मेवारी लिन माघ ११ मै चण्डीप्रसाद गणका प्रमुख सेनानी मनोज कार्की त्यहाँ पुगिसकेका छन् ।
यूएन हाउसस्थित एफआरबीमा ८ सय ५० नेपाली शान्ति सैनिक छन् । जुबामै १ सय ५० नेपाली शान्ति सैनिकको अर्को विशेष डफ्फा छ, जसलाई प्रमुख सेनानी (कर्णेल) सन्तोष चन्दले नेतृत्व गरेका छन् । यो ईश्वरी बक्स गुल्म एचआरसी (हाई रेडिनेस कम्पनी) को डफ्फा हो ।
संवेदनशील एवं विशेष परिस्थितिमा अपरेसन सञ्चालनका लागि खडा गरिएको उक्त फौज सन् २०१७ देखि जुबामा तैनाथ छ । जुबाबाट ३ सय ५० किलोमिटरको दूरीमा रहेको रुम्बेकमान कर्णेल सुरेश देवकोटाको नेतृत्वमा श्रीनाथ गणको डफ्फा तैनाथ छ । त्यहाँ ६६ महिलासहित ७ सय शान्ति सैनिक छन् ।
अफ्रिकी मुलुक सुडानबाट विभाजन भएर नयाँ मुलुक दक्षिण सुडान स्थापना भएकै वर्ष सन् २०११ देखि राष्ट्रसंघले ‘अनमिस’ स्थापना गरेर शान्ति सैनिक परिचालन गर्दै आएको छ । राष्ट्रसंघ मातहतमा रहेर विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि फौज परिचालन गर्नेमा नेपाल पहिलो नम्बरमा छ । दक्षिण सुडानमा नेपाली सेनाको उपस्थिति संख्याका हिसाबले तेस्रो नम्बरमा पर्छ । दक्षिण सुडानको मिसनमा अहिले २० भन्दा बढी देशका सैनिक, प्रहरी र गैरसैनिक गरी १८ हजार १ सय ३४ जना कार्यरत छन् ।
नयाँ मुलुक स्थापना भएको डेढ दशक बित्न लाग्दा पनि दक्षिण सुडान अझै अशान्त र अस्थिर छ । आन्तरिक राजनीतिक किचलो र जातीय समूहका सशस्त्र गतिविधि त छँदै छन्, राज्य संयन्त्रको पकड पनि कमजोर छ । राष्ट्रपति साल्भा किर र उपराष्ट्रपति रिक मचार समर्थित जातीय समूहहरू क्रमशः डिन्का र न्युरबीचको द्वन्द्वले मुलुकलाई गाँजेको छ । राष्ट्रपति र उपराष्ट्रपतिबीचको टकरावले राज्यका संयन्त्र विभाजित छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकमा समेटिएका १ सय ८० मुलुकमध्ये दक्षिण सुडान सबैभन्दा पुछारमा छ ।
दक्षिणी सुडानको अशान्त परिस्थिति नियन्त्रणमा ल्याउन र देशभित्र राजनीतिक स्थायित्व गराउन ‘अनमिस’ ले पहल गरिरहेको छ । ‘अनमिस’ अन्तर्गत नै नेपाली शान्ति सैनिक पनि सुरुदेखि नै दक्षिण सुडानमा खटिएका छन् । नेपालबाट जाने मिसनको अवधि सामान्यतः एक वर्षको हुन्छ । अवस्थाअनुसार समय थपघट हुन सक्छ । शान्ति सैनिककहरूले समुदायसँग नजिक भएर काम गर्दै आएका छन् ।
अरिदमन गणअन्तर्गत सिमिक र इन्जिनियर अधिकृतका रूपमा काम गरी नेपाल फर्किएका सेनानी (मेजर) शरद मरासिनीले समुदायलाई खानेपानीदेखि स्टेसनरीसम्ममा सहयोग गरिएको जानकारी दिए । ‘यहाँ रहँदा हामीले स्थानीय समुदायलाई खेलकुद, स्टेसनरी, सेनेटरीका सामान, अनाथ गृह मर्मत, फर्निचर, पानीको व्यवस्थामा सहयोग गर्यौं,’ उनले भने, ‘यसले शान्ति सैनिक र स्थानीयलाई जोड्न पुलको काम गर्छ ।’
स्थानीय जेसीसी हाई नेगिल प्राथमिक विद्यालयका प्रधानाध्यापक फ्रान्सिस ओकुमुले नेपाली सेनाले समुदायसँग नजिक भएर काम गर्दा खुसी लागेको सुनाए । ‘शान्ति सैनिकको काम सराहनीय छ, हाम्रो विद्यालय र यही क्षेत्रको समुदायले राम्रो सहयोग पाएका छौं,’ उनले भने ।
कर्णेल सिल्वालले विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) अन्तर्गत खाद्यान्नलाई आफूहरूले जोङलेआई स्टेटमा सफलतापूर्वक पुर्याएको सुनाए । ‘विगतमा यसरी लगिएको खाद्यान्न लुटिने गर्थ्यो । हाम्रो फौजमाथि पनि अज्ञात हतियारधारी समूहले फायरिङ गरेको थियो, त्यसपछि जवाफी फायरिङ गर्नुपरेको थियो,’ उनले भने, ‘कुनै मानवीय क्षति सम्बन्धित ठाउँमा पुर्याएर खाद्यान्न हस्तान्तरण गर्यौं, जसको प्रशंसा फोर्स र सेक्टर हेडक्वार्टरबाट गरिएको थियो ।’
दक्षिण क्षेत्रमा सामुदायिक तथा जातीय हिंसा, प्रतिशोधको भावना र चौपाया चोरी शान्ति सैनिकका लागि मुख्य चुनौती रहेको कर्णेल देवकोटाले बताए । ‘आफूले पाएको जिम्मेवारीभित्र शान्ति सुरक्षा कायम गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छौं,’ उनले भने, ‘वर्षात्को समयमा अधिकांश बाटो बिग्रिने समस्या र हवाई साधनको सीमितता बाबजुद पनि नेपाली सेना अनमिसले दिएको जिम्मेवारी पूरा गर्न कटिबद्ध छ ।’
भर्खरै स्वदेश फर्किएकी क्याप्टेन डा. जस्मिन गुरुङले दक्षिण सुडानको फरक वातावरणमा काम गर्दा धेरै विषय सिक्ने, बुझ्ने मौका पाएको सुनाइन् । ‘दक्षिण सुडानमा मलेरिया, मंकिपक्सलगायत रोगको उच्च जोखिम छ,’ उनले भनिन्, ‘स्वास्थ्य सतर्कता अपनाउँदै हामीले काम गर्यौं । हामीले जानेका कतिपय कुरा स्थानीय समुदायलाई सिकायौं ।’
श्रीनाथ गण रुम्बेकमा कार्यरत अमल्दार अञ्जना याक्खाले शान्ति मिसनमा पुरुष शान्ति सैनिकसरह नै आफूहरूले पनि काम गर्दै आएको सुनाइन् । उनी बरख गण, राजविराजबाट शान्ति सैनिकका रूपमा ६ महिनाअघि रुम्बेक पुगेकी हुन् । अब उनले ६ महिनासम्म रुम्बेकमै बसेर शान्ति सैनिकका रूपमा काम गर्ने छिन् । ‘यहाँ नेपालमा भन्दा बढी चुनौती छ, त्यहीअनुसार हामी ड्युटी गर्छौं,’ उनले भनिन्, ‘महिला शान्ति सैनिकको हिसाबले यहाँका जनताको सुरक्षा गर्नु हाम्रो जिम्मेवारी हो ।’ शान्ति मिसन चुनौतीसँगै राम्रो काम देखाउने अवसर पनि भएको उनले बताइन् ।
एक वर्षसम्म मिसनमै बस्दा शान्ति सैनिकलाई तनाव नहोस् भनेर अधिकृत र चिकित्सकले बेला–बेलामा तनाव व्यवस्थापनबारे तालिम दिन्छन्, हौसला दिन्छन् । नेपाली शान्ति सैनिक यहाँ नेपाली चाड पनि मनाउँछन् । प्रत्येक गण, गुल्ममा हरेक साँझ भजन–कीर्तन हुन्छ । कर्णेल चन्द नेतृत्वको विशेष फौजले दक्षिण सुडानका विभिन्न ठाउँमा विशेष अपरेसन सञ्चालन गर्दै आएको छ । ‘विशेष फौज भएकाले जे आइपर्छ, त्यहीअनुसार काम गर्छौं,’ कर्णेल चन्दले भने, ‘चुनौती धेरै छन् । कहाँ के भइरहेको छ भन्नेबारेमा हरेक दिन ब्रिफिङ गर्छौं, त्यहीअनुसार तयारी अवस्थामा बस्छौं ।’
सन् २०२२ सेप्टेम्बरमा अज्ञात हतियारधारी समूहले अनमिसको बन्दोबस्ती सामान बोकेको पानी जहाजलाई नाइल नदीमा अगाडि बढ्न नदिएपछि उक्त डफ्फाको एक टुकडीले हेलिकोप्टरबाट पानी जहाजमै ओर्लेर अवरोध हटाएको थियो । सन् २०१८ जुनमा मालाकालस्थित शरणार्थी शिविरमा सिलुक जातिले डिन्का जातिका १८ जनालाई बन्धक बनाउँदा अन्य देशका शान्ति सैनिकबाट उद्धार हुन नसकेपछि विशेष अपरेसन फौज परिचालन गरिएको थियो । फौजले बन्धकको सकुसल उद्धार गरेको थियो ।
एचआरसीले दक्षिण सुडानमा उच्चस्तरीय व्यक्तिहरूको भ्रमण हुँदा संवेदनशील स्थानमा विशेष अपरेसन सञ्चालन गर्ने गरेको कर्णेल चन्दले बताए । दक्षिण सुडानमा एचआरसीको क्षमता नै अनमिसको क्षमता भएको अनमिसका फोर्स कमान्डर लेफ्टिनेन्ट जनरल मोहन सुव्रमन्यमले बताए । ‘यहाँ नेपाली सेनाको काम प्रशंसायोग्य छ, नेपाली सेनासँग काम गर्न सजिलो पनि छ,’ उनले भने ।
दक्षिण सुडानको उत्तरी क्षेत्र (नर्थ सेक्टर) को कमान्ड नेपाली सेनाका उपरथी नकुल रायमाझीले गरिरहेका छन् । दक्षिण सुडानका मुख्य स्थानमा शान्ति सैनिकका रूपमा नेपाली सेनाको उपस्थिति रहेको उनले बताए । ‘स्थानीय जनताको कुरा बुझेर काम गर्दै आएका छौं,’ उनले भने, ‘नेपाली शान्ति सैनिकको उपस्थिति र काम गराई सबैले मन पराएका छन् ।’
दक्षिण सुडानमा नेपाली सेना, सशस्त्र प्रहरीबाट गरी १ हजार ९ सय ६६ शान्ति सैनिकका कार्यरत छन् । सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीका अनुसार विभिन्न मुलुकमा गरेर अहिले ५ हजार ९ सय १२ जना शान्ति सैनिकका रूपमा खटिएका छन् । त्यसमा ५ हजार २ सय ६९ पुरुष र ६ सय ४३ जना महिला छन् । अहिलेसम्म ४४ वटा मिसनमा २ हजार ८ सय ८३ महिलासहित १ लाख ५४ हजार २ सय ७४ जनाले शान्ति सैनिकका रूपमा सहभागिता जनाइसकेका छन् । अहिले ११ मिसनमा नेपाली शान्ति सैनिक छन् ।
सेनाका अनुसार नेपालबाट पहिलो पटक सन् १९५८ मा शान्ति सैनिकका रूपमा ‘युनाइटेड नेसन्स अब्जरभेसन ग्रुप इन लेबनान’ मा सैनिक पर्यवेक्षकका रूपमा ५ जनाको टोली खटिएको थियो । त्यसपछि सन् १९७४ मा कन्टिनजेन्टका रूपमा पुरानो गोरख गण इजिप्टमा खटिएको थियो ।
शान्ति सैनिकका रूपमा खटिँदा ७३ जनाले ज्यान गुमाइसकेका छन् । ‘जति पनि नेपाली शान्ति सैनिक मिसनमा खटिएर काम गरिरहेका छन्, उनीहरूको कार्यदक्षताको संयुक्त राष्ट्रसंघ र मिसनका विभिन्न नेतृत्वबाट प्रशंसा हुँदै आएको छ,’ सहायक रथी केसीले भने, ‘द्वन्द्वग्रस्त इलाकामा शान्ति स्थापना गर्न नेपाली शान्ति सेनाले राम्रो सफलता हासिल गरेको छ ।’
