काठमाडौँ — कतारको सडकमा सेतो रङको माइक्रोले नेपालका राजमार्गमा गुड्ने यात्रुबाहक बसको झल्को दिन्थ्यो । त्यसको चारैतिर नेपालको राष्ट्रिय झन्डाको सानाठूला स्टिकर टाँसिएका थिए । अगाडि-पछाडि ठूला अक्षरमा प्रस्ट रुपमा देखिने गरी लेखिएको थियो- ‘गुल्मी यातायात छाप हिले ।’
यो माइक्रोका मालिक थिए- छाप हिले मालिका–५, गुल्मीका ४० वर्षीय झविन्द्र आचार्य । सन् २०१२ देखि उनले चलाइरहेको यो गाडी कतारमा कार्यरत नेपालीमाझ परिचित थियो ।
प्रवासी भूमिमा नेपाली गाडीको झल्को दिने गुल्मी यातायात अब दोहा सहरमा गुड्ने छैन । यसका मालिक आचार्यले बुधबार राति ८ बजे दोहाको अबुहमर रोडमा दुर्घटनामा परी ज्यान गुमाएका छन् ।
गैरआवासीय नेपाली संघ, कतारका अध्यक्ष रमेश भट्टका अनुसार बिग्रिएको माइक्रो बोक्ने गाडी (ब्रेक डाउन) लाई पर्खेर बसिरहेका बेला उनी दुर्घटनामा परेका हुन् ।
‘कामदार क्याम्पमा पुर्याएर कोठा जाने क्रममा बाटोमा माइक्रो बन्द भयो । त्यसलाई साइड लगाएर साइड लाइट बालेर बसिरहेका थिए । उनी गाडीको अगाडिपट्टि थिए,’ अध्यक्ष भट्टले भने, ‘तीव्र गतिमा आएको लिमोजिन गाडीले उनको गाडीलाई ठक्कर थियो । घटनास्थलमै उनको ज्यान गयो ।’
आचार्यलाई ठक्कर दिने गाडी बंगाली नागरिकले चलाएका थिए ।
घटनापछि त्यहाँको नेपाली समुदाय स्तब्ध बनेको छ । कतारमै कार्यरत बलदेव रानाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, 'दोहामा चिरपरिचित मान्छेले यसरी चटक्कै छोडेर जाँदा यहाँ हामी नेपाली समाज एक्लो भएको छ। गुल्मी यातायात छाप हिले सधैं दोहामा रहेका नेपाली समाजमाझ मनमस्तिष्कमा रहिरहनेछ ।'
आचार्य सन् २००७ देखि दोहामा काम गर्दै आइरहेका थिए । ‘सुरुमा लेबरको काममा आएका थिए । पछि आफैले कम्पनी खोलेर पेन्टरको काम गरे । उनीसँग २० जना कामदार छन्,’ अध्यक्ष भट्टले भने, ‘ती कामदारसँग आफै काम गर्न साइटमा जाने गरेका थिए ।’
आचार्य गैरआवासीय नेपाली संघ, कतारका सहकोषाध्यक्ष थिए । उनी गुल्मी सेवा समाजका पूर्वअध्यक्ष हुन् ।
अध्यक्ष भट्टका अनुसार उनको शव पठाउन केही दिन लाग्नेछ । ‘ठक्कर दिने बंगाली नागरिकलाई अदालतमा पेस गरेपछि मात्रै शव लैजाने अनुमति पाइन्छ । आइतबार अदालत खुल्नेबित्तिकै शव पठाउने प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।
आचार्यको शव हमाद अस्पतालमा राखिएको छ ।
