आज देश दुनियाँमा के-के भयो ?

फाल्गुन ९, २०८१

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — जीडीपी अनुपातमा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो, माघमा मात्रै ४७८ ठाउँमा आगलागी : २२ को मृत्यु, १८ करोडभन्दा धेरै क्षतिदेखि एरिकाले के वानमा जितिन् रजत पदकसम्मका खबर आज चर्चामा रहे । 

000

मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको दायित्व ४५ प्रतिशत नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को माघसम्ममा सरकारी ऋण २६ खर्ब ११ अर्ब छ करोड पुगेको छ । 'चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा माघ मसान्तसम्ममा एक खर्ब ७६ अर्ब ९६ करोड थपिएको छ । 

000

एक महिनाको अवधिमा मात्रै देशभर चार सय ७८ आगलागीका घटना हुँदा २२ जनाको मृत्यु भएको छ। ती आगलागीमा परी १८ करोड ४८ लाख ८१ हजार २५० रुपैयाँ बराबरको क्षति भएको छ। माघ मात्रै आगलागीका कारण देशभर ११ पुरुष, १० महिला र १ बालक गरी २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । 

000

पाथीभरा मुक्कुम्लुङ केबलकार खारेजीको माग गर्दै आन्दोलनरत समूहलाई सरकारद्वारा गठित वार्ता समूहले फेरि वार्तामा आह्वान गरेको छ । सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत समूहबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको स्थानीय समस्या समाधाका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्तामा आउन अपिल गरेका हुन् ।  

000

टेक अर्बपति इलन मस्कको एआई कम्पनी एक्सएआईले यसै साता सार्वजनिक गरेको ‘ग्रोक-थ्री’ भर्सन अहिले चर्चामा छ । यसले ओपेनएआईको जीपीटी-फोर ओ र डिपसिक भीथ्रीजस्ता लार्ज ल्यांग्वेज मोडल (एलएलएम)हरूलाई टक्कर दिने लक्ष्य राखेको छ । ग्रोक-थ्रीले उन्नत तार्कित क्षमता र इमेज एनालिसिस गर्न सक्ने भएकाले यसलाई एआई क्षेत्रमा शक्तिशाली प्रतिस्पर्धीका रूपमा हेरिएको छ । 

000

कराते खेलाडी एरिका गुरुङले यूएईमा भएको कराते युथ लिग के–वानमा रजत पदक जितेकी छन् । एसियाली खेलकुदकी रजत पदक विजेता एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । शुक्रबार बिहान भएको खेलमा उनी फाइनलमा इरानी खेलाडी हनानेह साहेहिलासँग पराजित भइन् । त्यसअघि उनले भारतकी दानिष्ठा पाहुजा, काजकिस्तानकी भेनेरा र टर्कीकी गुस्ता सामेजलाई हराएर फाइनलमा स्थान बनाएकी थिइन् । 

कान्तिपुर

Link copied successfully