काठमाडौँ — एक महिनाको अवधिमा मात्रै देशभर चार सय ७८ आगलागीका घटना हुँदा २२ जनाको मृत्यु भएको छ। ती आगलागीमा परी १८ करोड ४८ लाख ८१ हजार २५० रुपैयाँ बराबरको क्षति भएको छ।
माघ मात्रै आगलागीका कारण देशभर ११ पुरुष, १० महिला र १ बालक गरी २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।
उनकाअनुसार ती आगलागीमा परी २६ पुरुष, ५४ महिला र ७ जना बालबालिका घाइते भएका छन् । आगलागीका कारण १७ जना विस्थापित भएका छन् ।
प्रहरीका अनुसार देशभर आगलागीका कारण ६८ घर र ६६ वटा गोठ जलेका छन् भने यस अवधिमा २४७ वटा चौपाया जलेर मरेका छन्। ४७८ आगलागीका घटनामध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा १२९ ठाउँमा आगलागी भएको छ।
त्यस्तै, मधेशमा ८९, बागमतीमा ४२, उपत्यकामा ३७, गण्डकीमा ३९, लुम्बिनीमा ६३, कर्णालीमा ४७ र सुदुरपश्चिममा ४७ वटा आगलागीका घटना भएका छन्।
