राजासँग सम्झौता गरेर लोकतन्त्र मास्न हिँडेकाहरू उल्टै लोकतन्त्रका मसिहा ! गणतन्त्रका लागि कहिले लडेका थिए ? राजासँग साँठगाँठ गरेर सम्झौता गरेको होइन ? त्यस्ता निर्लज्जहरूले लोकतन्त्रका बारेमा हामीलाई दुहाई दिने ? - केपी शर्मा ओली, प्रधानमन्त्री
काठमाडौँ — पछिल्लो समय प्रधानमन्त्री र प्रमुख प्रतिपक्षका नेता ओली र दाहालबीच एकले अर्कालाई हिलो छ्यापाछ्याप गर्ने प्रवृत्ति देखिएको छ । ओलीले दाहाललाई ‘राजावादी’ र दाहालले ओलीलाई संघीय लोकतान्त्रिक गणतन्त्रविरोधीको आरोप लगाएका छन् । दुई नेताबीच वैचारिक बहसभन्दा विगतको तुस पोख्न आरोप–प्रत्यारोप हुने गरेको देखिन्छ ।
गत फर्केर हेर्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच एकताभन्दा मनमुटाव बढी छ । दाहाल नेतृत्वको माओवादीले कांग्रेससँग गठबन्धन तोडेर एक वर्षअघि ओली नेतृत्वको एमालेसँग सहकार्य गरे पनि त्यो दुई महिनाभन्दा बढी टिक्न सकेन । त्यसपछि सात महिनाअघि कांग्रेस–एमाले सहकार्य भएपछि प्रतिपक्षमा पुगेका दाहाल र सरकारको नेतृत्व गरिरहेका ओलीबीच ‘वाकयुद्ध’ नै चलेको छ ।
कम्युनिस्ट सिद्धान्तमा ‘संघर्षपछि एकता’ हुनुपर्ने भए पनि यी दुई कम्युनिस्ट पार्टीका शीर्ष नेताबीच भने ‘एकताभन्दा संघर्ष’ को सम्बन्ध छ । पछिल्लो समय प्रधानमन्त्री र प्रमुख प्रतिपक्षका नेता भएपछि यी ओली र दाहालबीच एकले अर्कालाई हिलो छ्यापाछ्याप गर्ने प्रवृत्ति तीव्र बनेको छ । ओलीले दाहाललाई ‘राजावादी’ र दाहालले ओलीलाई संघीय लोकतान्त्रिक गणतन्त्रविरोधीको आरोप लगाएका छन् । दुई नेताबीच वैचारिक बहसभन्दा विगतको तुस पोख्न आरोप/प्रत्यारोप हुने गरेको देखिन्छ ।
प्रधानमन्त्री ओलीले सोमबार दाङमा भएको पार्टीको सभालाई सम्बोधन गर्दै ‘दाहालले राजासँग साँठगाँठ गरेको’ आरोप लगाए । यतिसम्म कि उनले दाहाललाई लोकतन्त्र मास्न खोजेको आरोप लगाउन पुगे । ‘राजासँग सम्झौता गरेर, गठजोड गरेर लोकतन्त्र मास्न हिँडेकाहरू बाध्यताले सम्झौता गरेका हुन् । उल्टै लोकतन्त्रका मसिहा ! गणतन्त्रका लागि कहिले लडेका थिए ? राजासँग साँठगाँठ गरेर सम्झौता गरेको होइन ?’ ओलीले प्रश्न गरे, ‘त्यस्ता निर्लज्जहरूले लोकतन्त्रका बारेमा हामीलाई दुहाई दिने ?’ उनले दाहाललाई चेतावनीको भाषामा ‘विगतका षड्यन्त्रको पर्दाफास गरिदिने’ भन्दै धम्क्याए । ‘प्रचण्डजीलाई भन्न चाहन्छु, त्यस्ता बकबास गरेर नहिँड्नुस् । धेरै कुराहरूको, षडयन्त्रहरूको पर्दाफास गर्न नपरोस् ।’
गत पुस १५ मा दाहालले ओलीको गृह जिल्ला झापा पुगेर ‘झेली’ भएको उल्लेख गर्दै ‘संघीयताविरोधी भएको’ आरोप लगाएका थिए । ‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी । धेरै जाली, यति धेरै झेली मान्छे । उहाँको ठाउँमा म बोल्दै छु,’ उनले ओलीलाई भनेका थिए, ‘जालझेलबाहेक उहाँको दिमागमा अरू केही छैन ।’
ओलीले नेपालको संविधानलाई खारेज गर्न खोजेको भन्दै दाहालले उनलाई व्यवस्थाविरोधीको गम्भीर आरोप लगाएका थिए । ‘केपी ओलीजीलाई संघीयता नै ठीक लागेको छैन, समावेशी, समानुपातिक, महिला, दलितलाई अधिकार दिएको मन परेको छैन । माओवादीले आँधीहुरी ल्यायो, मैले पनि मान्नै पर्यो भन्ने मान्छे ओलीजी हो,’ उनले झापाको सभामा भनेका थिए, ‘बाध्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेका मान्छे हुन् । उहाँ जतिबेला सत्तामा पुग्नुहुन्छ, यो संविधान च्यात्न खोज्नुहुन्छ । किनकि यो संविधानमा महिला, आदिवासी, मधेशी, मुस्लिम, थारूको केही न केही अधिकार स्थापित छ । उहाँलाई त्यो मन पर्दैन । यसलाई विघटन गर्न चाहनुहुन्छ ।’
ओलीले पनि दाङ पुगेर ‘भ्रष्टाचारका फाइल खोल्न खोज्दा आफूलाई हटाइएको’ भन्ने दाहालको भनाइलाई ‘कुप्रचार’ भनेर खण्डन गरे । ‘देशका सबैभन्दा ठूला लुटेराले भ्रष्टाचारका फाइल खोल्न खोज्दा प्रधानमन्त्रीबाट हटाइयो भनेर कुप्रचार गर्दै हिँडेका छन्,’ ओलीको भनाइ थियो, ‘भ्रष्टाचारको फाइल प्रधानमन्त्रीसँग हुँदैन । म पनि प्रधानमन्त्री छु । मसँग त छैन ।’ साथै, उनले सरकार आफैं ढल्ने भन्ने दाहालको तर्कलाई पनि खारेज गर्न खोजे । ‘१७ महिना अझै प्रधानमन्त्री हुन्छु, केपी ओलीलाई हटाउन कुनै बल लगाउनु पर्दैन,’ उनले भने, ‘बेला आएपछि आफैं छोड्छु, बेला नआउँदासम्म कुनै तोप नै हाने पनि प्रधानमन्त्री ढल्दैन, १७ महिनापछि बल लगाउनै पर्दैन ।’
ओली र दाहालबीच ंसंसद्मा समेत सवालजवाफ चल्दै आएको छ । गत माघ १८ मा प्रतिनिधिसभाको बैठकमा ओलीले ‘विपक्षीले सरकार ढल्यो, ढल्यो’ भनेर गीत गाउनु अशोभनीय भएको टिप्पणी गरेका थिए । ‘विपक्षीमा रहेका साथीहरूले समय व्यर्थ खेर फालेको जस्तो लागेको छ । एउटा गीत बजारमा ढलें ढलें भन्ने प्रचारमा छ । राजनीतिक नेताहरूले त्यस्तै गाएको सुन्छु, आजै ढल्यो, भरे ढल्यो, ढल्यो, ढल्यो, ढल्यो’ ओलीले भनेका थिए, ‘यो गीत राजनीतिका मञ्चमा सुहाउँदैन । मनारेञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ ।’
दाहालले माघ २४ को संसद् बैठकमा ओलीको भनाइको जवाफ फर्काए । ‘अस्ति प्रधानमन्त्रीले संसदमा गीत गाउनुभयो– ढलेँ, ढलेँ, ढलेँ....। तपाईहरूबीच विश्वास छ भने दिनदिनै म यति महिनापछि शेरबहादुरजीलाई छाड्छु भनिरहनुपर्छ ? हरेक ठाउँमा भनिरहनुपर्ने ? के शेरबहादुरजी कान सुन्नुहुन्न ?’ दाहालले भने, ‘सुन्नोस्, हामी टिप्न हिँडदैनौं तर यो सरकार कुहिएर झर्नेवाला छ ।’
साढे तीन दसकदेखि पार्टीको नेतृत्व गर्दै आएका दाहालले एमालेमा ओलीले आलोचनालाई निषेध गरेको आरोप समेत लगाए । ‘प्रधानमन्त्री केपी ओलीजी बिरोध त परको कुरा, रचनात्मक आलोचना पनि सहन सक्नुहुन्न । यो पटक–पटक प्रमाणित तथ्य हो । उहाँले सक्नुभयो भने सिंगो देशलाई आफ्नो पार्टी (एमाले) जस्तै एकदमै प्रश्नमुक्त, एकदमै आलोचनामुक्त र खासमा एकदमै विवेकमुक्त बनाउन चाहनुहुन्छ’ दाहालको आरोप थियो, ‘मेरो प्रश्न छ, नेपाली कांग्रेसलाई । के हो यो सामाजिक सञ्जाल नियमन विधेयक ? हिजो त तपाईंहरू यसको विपक्षमा उभिनुभएको थियो । आज कता हुनुहुन्छ ? तपाईंहरू सत्ताका लागि मात्रै सहकार्यमा हुनहुन्छ कि राजनीतिक दृष्टिकोणमै परिवर्तन आइसकेको हो ? कि कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो ?’
ओलीले माओवादीसँग डराएर गठबन्धन तलमाथि नहुने बताएको दाहालको भनाइ थियो । ‘हामीसँग डराएर हरेक दिन सत्ता हस्तान्तरणको राग गाइरहन पर्दैन, यति दिनमा धरोधर्म छाड्छु भनेर कसम खाइरहन पर्दैन,’ दाहालको आरोप थियो, ‘प्रधानमन्त्रीजी बेलाबेला संसद्को दुईतिहाइ सम्झाउनुहुन्छ र बलियो सरकारको घमण्ड गर्नुहुन्छ । व्यवहारमा कति बलियो छ त यो सरकार ?’
ओलीले आगामी असारमा कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताउँदै आएका छन् । तर दाहालले माघ १८ मा ताप्लेजुङ पुगेर सरकार आफैं ढल्ने दाबी गरे । ‘हामीले केही नगरे पनि यो सरकार ढल्छ, हामी हिँड्दा हिँड्दै ढल्छ, कसैले केही गर्नै पर्दैन,’ उनको भनाइ थियो, ‘हाम्रो नेतृत्वले राम्रो काम गर्न खोजिरहेको थियो तर दलाल पुँजीपतिहरूलाई बसिखानु भएन, प्रचण्डको नेतृत्व रहिरहे हामी माथि उठ्न सक्दैनौं भन्ठानेर रातारात होटल–होटल धाएर गठबन्धन बनाए ।’
विगतको सम्बन्ध
प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्ष दलका नेता दाहाल सदन र सडकमा आमनेसामने छन् । सरकारको नेतृत्व गरेको एमालेले सदन र सडकमा प्रमुख प्रतिपक्षको आरोपको खण्डन गर्दै आएको छ भने माओवादीले खबरदारी । २०६५ साउनमा सबभन्दा ठूलो दलको नेताका रूपमा दाहाल प्रधानमन्त्री भए पनि तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई कारबाही गर्न खोज्दा नौ महिनामा सरकारबाट बाहिरिए ।
०६६ वैशाखमा प्रधानमन्त्रीबाट अकस्मात् राजीनामा दिएदेखि अघिल्लो सरकार निर्माणका लागि एमालेसँग सहकार्य गर्दासम्म उनले धेरै बाइरोडको बाटोजस्तै दायाँबायाँ गरिसकेका छन् । २०७४ मंसिरमा आम चुनावको मुखमा वामपन्थी एकता भन्दै एमालेसँग चुनावी गठबन्धन गरेका दाहालले २०७५ जेठ ३ मा एमालेसँग पार्टी एकता नै गर्न पुगे । त्यसको तीन वर्ष नपुग्दै ओलीसँग शक्ति संघर्ष चर्कियो । सर्वोच्चले एमाले–माओवादी अलग गरिदिएपछि ओलीसँग सम्बन्धविच्छेद गरेका थिए । त्यसपछि दाहालले २०७७ फागुनमा एमाले अध्यक्ष ओलीसँग सम्बन्धविच्छेद गरे ।
त्यसअघि फर्केर हेर्दा १७ पटकसम्म प्रधानमन्त्रीमा बहुमत पुर्याउन नसक्दा २०६७ माघमा संसद्मा प्रधानमन्त्रीको दौड छाडेर दाहालले तत्कालीन एमाले अध्यक्ष खनाललाई प्रधानमन्त्री बनाएका थिए । उनले त्यसबेला आफ्नै बलबुताले सरकार बनाएको दाबी गरेका थिए । तत्कालीन कांग्रेस सभापति सुशील कोइराला सरकारबाहिरै बसेको माओवादीले २०७२ असोजमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनायो ।
ओलीसँग असमझदारी भएपछि दाहालले २०७३ जेठमा ओली सरकार ढालेका थिए । त्यसपछि कांग्रेससँग सहकार्य गर्न पुगे । २०७३ साउनमा कांग्रेससित सहकार्य गरी दाहाल आफैं दोस्रो पटक प्रधानमन्त्री बने । २०७४ जेठ १० मा राजीनामा दिएर बाटो खुला गरेपछि देउवा प्रधानमन्त्री बने ।
