पोखरा — पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न सक्ने बताएका छन्।
शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै दाहालले सो कुरा बताएका हुन् ।
भेलामा दाहालले भने, 'संविधान निर्माणको बेला नै हामीले केही 'रिजर्भेसन' राखेका छौँ । संविधान संशोधन नै गर्ने हो भने हामी तयार छौँ । तर, कसका लागि, कसको पक्षमा ? यो महत्त्वपूर्ण प्रश्न हो । हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौँ । यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ।' उनले २०८४ को निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धन गर्न चुनौती समेत दिए ।
अध्यक्ष दाहालले भने, 'अहिले कांग्रेस र एमालेको गठबन्धन छ । उपनिर्वाचनमा पनि कांग्रेस-एमालेबीच गठबन्धन गरियो । उनीहरू २०८४ मा गठबन्धन गर्न चाहेका छन् । म चाहन्छु- उनीहरू मिलून् । हामी एक्लै जनतामा जान्छौँ । हामी जनताको तागतमा विश्वास गर्छौँ । जनतालाई मेरो अपील छ- तपाईंहरू एकतावद्ध हुनुस्, आफ्नो तागत देखाउनुस्।'
उनले आफू उत्पीडित वर्ग र जातिको पक्षमा रहेको बताए । उनले भने, 'हामीले उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा संघर्ष गर्दै आएका छौँ । बीचमा हाम्रो वर्गपक्षधरता कमजोर भयो। अब फेरि वर्गतिर फर्किएर आन्दोलनको उठान गर्ने ठाउँमा छौँ । यसमा दह्रोसँग उभिन्छौँ।'
