माओवादीले स्थानीय जनप्रतिनिधिलाई समाजवादबारे प्रशिक्षण दिने

फाल्गुन ९, २०८१

कान्तिपुर संवाददाता

Maoists will train local people's representatives about socialism

काठमाडौँ — माओवादीले स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण गर्ने उद्देश्यले पार्टीका तर्फबाट स्थानीय तहमा विजयी प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ । त्यसका लागि माओवादीले शनिबार र आइतबार कामाठमाडौंमा स्थानीय पालिकाका जनप्रतिनिधिको राष्ट्रिय भेला राखेको छ । 

भेलामा स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

भेलामा माओवादीका तर्फबाट विजयी भएका एक सय २३ पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षको सहभागिता रहनेछ । माओवादी केन्द्रले भेलाबाट पछिल्लो निर्वाचनमा विजय हासिल गरेका स्थानीय तहमा समाजवादको अभ्याससहितको कार्यक्रम निर्माण र नमूना पालिका बनाउने लक्ष्य लिएको छ । 

भेलामा निर्धारित राष्ट्रिय सूचकांकमा उत्कृष्ट ठहर भएका ११ वटा पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले आआफ्नो अनुभव सुनाउने कार्यक्रम छ । भेलामा समाजवाद निर्माणको आधारबारे विज्ञ सोमत घिमिरे, कृष्णराज अधिकारी, मीनबहादुर श्रेष्ठलगायतले प्रशिक्षण दिने कार्यक्रम छ । 

स्थानीय जनप्रतिनिधिलाई समाजवादी नीति कार्यक्रम, कानुन र बजेट निर्माण, उत्पादन र रोजगारीलगायत विषयमा प्रशिक्षण दिइनेछ । माओवादीले यसअघि स्थानीय तहको निर्वाचनलगत्तै पार्टीका तर्फबाट विजयी स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिएको थियो ।

कान्तिपुर

Link copied successfully