अन्तर्राष्ट्रिय र क्षेत्रीय भूराजनीतिक परिस्थितिका कारण सिर्जित परिस्थितिले राष्ट्रिय सुरक्षामा चुनौती थपिएको प्रधानसेनापति सिग्देलको विश्लेषण
काठमाडौँ — अन्तर्राष्ट्रिय र क्षेत्रीय भूराजनीतिक बदलावले राष्ट्रिय सुरक्षामा चुनौती थपिएको विश्लेषण नेपाली सेनाले गरेको छ । चुनौती सामना गर्न ‘नयाँ रणनीति’ बनाएर अघि बढ्नुपर्ने र राज्यका निकायहरूबीच समन्वय हुनुपर्नेमा सेनाको प्रस्ताव छ ।
सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार सुरु भएको दुईदिने पृतनापति समन्वयात्मक बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले अहिलेको विश्व सुरक्षा परिस्थिति बहुआयामिक दृष्टिकोणले थप संवेदनशील, जटिल र अन्योलपूर्ण बन्दै गएको निष्कर्ष सुनाए ।
‘यस्तो अवस्थामा आन्तरिक र बाह्य परिस्थितिमा आउन सक्ने उतारचढावले नयाँ प्रकृतिका सुरक्षा चुनौती सिर्जना हुन सक्छन्,’ उनले भने, ‘त्यसलाई सामना गर्न सबै पक्षबीच समन्वयात्मक ढंगले काम गर्नुपर्ने अवस्था आएको छ ।’
सहभागी एक उपरथीका अनुसार बैठकमा सैनिक संगठनको अर्धवार्षिक समीक्षा हुनेछ । भूराजनीतिक परिस्थितिका विषयमा समेत समीक्षा गर्दै बैठकले सुरक्षा प्रतिवेदन तयार गर्नेछ । ‘डोनाल्ड ट्रम्पले शासनसत्ता सम्हालेपछि अमेरिकाले यूएसएआईडी, एमसीसीलगायतबाट आउने अनुदान हाललाई स्थगन गरेको छ । यसले नेपालको कुन क्षेत्रलाई कुन रूपमा असर पारेको छ भनेर गहन विश्लेषण गरी मुलुकले आगामी रणनीति बनाउनुपर्ने देखिन्छ,’ ती उपरथीले भने ।
भूराजनीतिमा आएको बदलावका कारण सरकारले वार्षिक बजेट प्रणालीभित्रैबाट तय गरेका कार्यक्रममा पनि असर पर्ने भएकाले समग्र राष्ट्रिय हितको दृष्टिकोणबाट समेत कस्तो रणनीति अपनाउने भन्नेमा बैठकले मार्गचित्र तय गर्ने उनको भनाइ छ ।
बैठकमा सहभागी अर्का उच्च सैनिक अधिकृतले पछिल्लो समय देशभित्रै आआफ्नो माग राखेर विभिन्न पक्ष आन्दोलित भएको अवस्थालाई पनि बैठकमा समीक्षा गरिने जानकारी दिए । ‘अहिले पाथीभरामा केबलकार बनाउन हुने–नहुने भनेर पक्ष/विपक्षमा गतिविधि भइरहेको छ, यसको पृष्ठभूमि कोशी नामकरणसँगै गएर जोडिन्छ,’ उनले भने, ‘यस विषयलाई शान्तिपूर्ण र सर्वस्वीकार्य नबनाउने हो भने राष्ट्रिय सुरक्षामा प्रतिकूल असर पुग्ने गरी अघि बढ्न सक्छ । पृतनापति समन्वयात्मक बैठकमा पनि यो विषयमा गहन छलफल हुन्छ ।’
मधेशमा ‘राज्यको मूल प्रवाहमा आफ्नो पहुँच र उपस्थिति कमजोर’ देखिएको अनुभूति गर्ने पक्षका मागमा पनि उचित सम्बोधन आवश्यक रहेको ती अधिकृतले बताए । बैठकको पहिलो दिन भूराजनीतिक अवस्था र नेपाललाई यसले पार्ने असरका विषयमा युद्धकार्य महानिर्देशनालय, सैनिक इन्टेलिजेन्स महानिर्देशनालयलगायत विभिन्न विभागका तर्फबाट उच्च सैनिक अधिकारीले प्रस्तुति दिएका थिए । सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार शुक्रबार पृतनापतिहरूले आआफ्नो क्षेत्रको सुरक्षास्थिति, अन्य वस्तुस्थितिसहित ‘ब्रिफिङ’ एवं समीक्षा गर्नेछन् ।
बैठक उद्घाटन गर्दै रक्षामन्त्री मानवीर राईले बदलिँदो भूराजनीतिक परिवेश र ध्रुवीकरण तथा विभिन्न स्थानमा चलिरहेको द्वन्द्वले नेपाललाई कुनै न कुनै रूपमा प्रभाव पारेको उल्लेख गर्दै यसको सामना गर्न तयार हुनुपर्ने बताए । ‘जलवायु परिवर्तन र प्रविधितर्फ कृत्रिम बौद्धिकताले निम्त्याउन सक्ने चुनौतीसमेतलाई सूक्ष्म रूपमा अध्ययन गरी तिनलाई सामना गर्न सबै एकजुट हुनुपर्छ,’ उनले भने ।
