‘गठबन्धनले पार्टीहरुलाई भुत्ते बनाउँछ’
काठमाडौँ — एकीकृत समाजवादीले कांग्रेस-एमाले गठबन्धन सरकार मुलुकको आर्थिक सुधार, सुशासन लगायतका विषयमा असफल भएको आरोप लगाएको छ । शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सरकारले मुलुकका समस्या समाधान गर्न नसक्ने बताएका छन् ।
‘कांग्रेस-एमाले गठबन्धन सरकारले राम्रो काम गर्न सकेको छैन,’ नेपालले भनेका छन्, ‘सरकारबाट जनताले पाउने सेवा सुविधा, आर्थिक सुधार हुन सकेको छैन । मुलुकको अवस्था नकारात्मक दिशातिर गइरहेको छ ।’
नेपालले कांग्रेस एमाले दुई दलीय व्यवस्था ल्याउन तत्पर भएको बताएका छन् । ‘दुई दलीय तानाशाही लाद्न खोजेको छ,’ उनले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरी जानुपर्छ ।’
उपाध्यक्ष बेदुराम भुसालले अध्यक्षको राजनीतिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय, राष्ट्रिय परिस्थितिको समीक्षा उल्लेख भएको जनाउँदै शक्ति राष्ट्रको शक्तिसंघर्षबीच नेपालले सन्तुलित कूटनीति अघि बढाउनु पर्ने उल्लेख छ । त्यस्तै राष्ट्रिय परिस्थिति कांग्रेस, एमाले सरकारका कारण मुलुकमा अराजकता बढ्ने जोखिम औंल्याएको छ ।
महासचिव घनश्याम भुसालको गत स्थायी समितिमा छलफल भएको राजनीतिक प्रतिवेदन अन्तिम रप दिन केन्द्रीय समितिमा प्रस्तुत भएको छ । प्रतिवेदनमा मुलुकको संकट टार्न नसक्ने उल्लेख छ । ‘अहिले नेकपा एमाले र नेपाली कांग्रेसको सरकार बनेको छ । ती पार्टी र खासगरी नेतृत्वका कारणले गर्दा यसले संकट दुश्चक्रलाई समाधान गर्न सक्दैन,’ प्रतिवेदनमा भनिएको छ, ‘दुई ठूला पार्टी विचारका हिसाबले समाजवादी र पुँजीवादी हुन्, राजनीतिक हिसाबले अदालतको परामादेशद्वारा सरकारमा पुर्याइएको र सरकारबाट निकालिएको पार्टीहरु हुन्, प्रवृत्तिका हिसाबले सत्ताका लागि जेसुकै गर्न तयार नेताहरु हुन् । जसले गर्दा यिनीहरुबाट मुलुकका समस्याको समाधान हुने कुनै सम्भावना छैन ।’
कांग्रेस–एमालेको भूराजनीतिक लगावका कारण पनि समस्या आउने भुसालको ठम्याइ छ । ‘यिनीहरुले अगाडि सारेको संविधान संशोधनको मुद्दाले राजनीतिक अन्तर्विरोधलाई अझ बढाउने छ’ प्रतिवेदनमा भनिएको छ, ‘अर्थात्, अब यिनीहरुले जेसुकै गरे पनि समस्या बढ्दै जानेछ । सत्ताको विरोध अझ बढ्छ । सत्ता गठबन्धनले विरोधको जवाफ दमन र षड्यन्त्रबाट दिने प्रयत्न गर्छ । त्यसले पपुलिष्ट अराजकतालाई अझ बढाउने छ । अराजकता र दमन बढ्दै जानेछ र मुलुक अझै डरलाग्दो अराजकताको खाडलतर्फ जान सक्छ । संक्षेपमा, सत्ता फासिष्ट बन्दै जाने र सडक अराजक बन्दै जान सक्छ ।’
‘गठबन्धनले पार्टीहरुलाई भुत्ते बनाउँछ’
एकीकृत समाजवादीले गठबन्धनले क्रान्तिकारी पार्टीहरुलाई वैचारिकरुपले नै भुत्ते बनाउने भएकाले पार्टी निर्माणमा लाग्नु पर्नेमा जोड दिएको छ । ‘आन्दोलनबाट पार्टी निर्माण गर्ने हाम्रो पहलकदमीले नै क्रान्तिकारी ध्रुविकरणलाई तीव्र पार्नेछ । आन्दोलनको उद्देश्य, आन्दोलनका माग र आन्दोनलनको स्वरुपमा समानता हुने व्यक्ति, समूह र पार्टीहरु एक ठाउँमा उभिने अवस्था आउँछ र वाम तथा कम्युनिष्ट एकताको प्रक्रिया अगाडि बढ्छ,’ भुसालको प्रतिवेदनमा भनिएको छ, ‘नेतृत्वका केही मानिसका सत्तास्वार्थका कारण गरिने एकता भरपर्दो हुँदोरहेनछ भन्ने उदाहरण २०७५ सालमा भएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा भएको एकता, कचिंगल र विभाजनले देखाएको छ ।’
प्रतिवेदनमा ‘ठोस राजनीतिक कार्यक्रमका आधारमा गरिने सहकार्य, मोर्चा वा एकताबाहेक कुनै पनि गठबन्धन गर्दैन भन्ने कुरामा आफै पनि स्पष्ट हुनुपर्ने’ भनिएको छ ।
विगतमा राजनीतिक नेतृत्वले गरेका बाचा पूरा गर्न नसक्दा जनताले धोका पाएको ठानेको महासचिव भुसालको भनाइ छ । ‘गणतन्त्रका शक्तिहरुले गणतन्त्रको नेतृत्व गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न उठेको छ । जसले गर्दा जनतामा निराशा र आक्रोश बढ्दै छ’ प्रतिवेदनमा भनेका छन्, ‘कम्युनिष्ट आन्दोलनमा त ठूलो मनोवैज्ञानिक आघात लागेको छ । यही मौकामा सामाजिक लफङ्गाहरुले सडकमा गणतन्त्रलाई दुत्कारिरहेका छन् । विचार/सिद्धान्तको खिल्ली उडाइँदै छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले पपुलिष्ट राजनीतिलाई संस्थागत गरेका आरोप समाजवादीले लगाएको छ । ‘तिनीहरुको पपुलिज्ममा विचार/सिद्धान्तको जलप थियो । आजको अर्थ राजनीतिक संकटले विचार/सिद्धान्त केही पनि नमिसिएको विशुद्ध ‘नयाँ’ पपुलिष्टहरु जन्माएको छ’ प्रतिवेदनमा भनिएको छ, ‘आम नागरिकले गणतन्त्रका नायकका रुपमा हेरेका नेताहरुले त्यो भूमिका पूरा नगरेको छलाछुल्ल भएपछि अहिले पुराना पार्टी र पुराना नेता, राज्य (खासगरी सरकार), राजनीति, विचार/सिद्धान्तको विरोध सामाजिक संवादको मुख्य विषय बन्दै गएको छ ।’
