रिंकु सदाको न्यायका लागि विद्यार्थीले गरे हस्ताक्षर संकलन

फाल्गुन ९, २०८१

विनय आजाद

Students collect signatures for justice for Rinku Sada

सिरहा — सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको न्यायका लागि दबाब स्वरूप काठमाडौंमा विद्यार्थीहरूले हस्ताक्षर संकलन गरेका छन् । काठमाडौंस्थित नेपाल ल क्याम्पसका विद्यार्थीहरूले हस्ताक्षर संकलन गरेका हुन् ।

रिंकुको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनाको सूक्ष्म छानबिन गरी दोषीलाई कारबाही तथा पीडित परिवारलाई न्यायका लागि दबाब दिन हस्ताक्षर संकलन गरिएको विद्यार्थी सुजितकुमार पण्डितले बताए । जसमा विद्यार्थी, वरिष्ठ अधिवक्ता, प्राध्यापकलगायतले हस्ताक्षर गरेका छन् ।

गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेकी थिइन् । उनी भोलिपल्ट बिहानमात्रै रुँदै घर पुगेकी थिइन् । तर, वडासदस्यसहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो । 

पञ्चायतीले बलात्कारका पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर, पञ्चायती नमिल्दा पीडक पक्षको धम्कीका बीच ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

यस घटनाका विषयमा समाचार आएपछि प्रहरीले बलात्कारमा संलग्न तीन जना र पञ्चायती गर्ने ५ जना गरी ८ जनाविरुद्ध ४ वटा मुद्दामा पूरक जाहेरी लिएर अनुसन्धान गरिरहेको छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully