केआईआईटीका १६२ विद्यार्थी वीरगन्ज नाकाबाट स्वदेश फर्किए

फाल्गुन ९, २०८१

शंकर आचार्य

162 students of KIIT returned to the country through Birganj crossing

पर्सा — भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत १ सय ६२ विद्यार्थीहरु वीरगन्ज नाका हुँदै स्वदेश फर्किएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयका अनुसार बुधबारदेखि शुक्रबार सम्ममा यति संख्यामा नेपाली विद्यार्थीहरु स्वदेश फकिएका हुन् ।

यो नाका हुँदै फर्किने उक्त इन्स्टिच्युटका विद्यार्थीको तथ्यांक सीमामै स्थानीय प्रशासलने संकलन गरिरहेको छ । फर्किएका अधिकांश भारतको कोलकाता हुँदै रक्सौलसम्म आइपुगेका हुन् । फर्किएकामध्ये करिब ८० प्रतिशत विद्यार्थी पर्सा जिल्लाका बाँकी बारा, रौतहट, धनुषा लगायतका जिल्लाको रहेको उनीहरुले नै दिएको जानकारीबाट खुलेको छ । 

घर फर्किएका धेरैजसो विद्यार्थीले आत्महत्या गरेकी नेपाली विद्यार्थी प्रकृति लम्सालले न्याय पाउनुपर्ने माग गरेका छन् । आफूहरुलाई बिना कारण होस्टेलबाट निकालिएको गुनासो गर्दै नजिकिएको आफूहरुको परीक्षा तत्कालका लागि स्थगित गरिनुपर्ने माग पनि गरेका छन् । 

प्रजिअ अर्यालयका अनुसार, उक्त इन्स्टिच्युटबाट फर्किएका नेपाली विद्यार्थीहरुको एक समूहले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आई ज्ञापनपत्र बुझाएको छ । ‘१५/१६ जनाको संख्यामा विद्यार्थी ज्ञापनपत्र लिएर आएका थिए,’ अर्यालले भने, ‘ज्ञापनपत्रमा उनीहरुले आफूहरुलाई इन्स्टिच्युट फर्किने वातावरण बनाइदिन आग्रह गरेका छन् ।’ 

आफूले ज्ञापनपत्र बुझ्दै यो घटना अब राष्ट्रिय स्तरको भइसकेकाले आफूले तत्कालै चाहेर पनि व्यक्तिगत रुपमा सहयोगको आश्वासन दिन नसक्ने बताए । ‘गृह र परराष्ट्र मन्त्रालयले समेत आ–आफ्नै किसिमले यो घटनामा काम गरी रहेको छ,’ उनले भने, ‘जिल्ला स्तरबाट दिन सकिने सूचना, समन्वय र सहयोग गर्न म तयार छुँ भनि प्रतिबद्धता जनाएको छु ।’ 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully