यो सरकारले प्रभावकारी काम नगरे देश थप अफ्ठ्यारोमा जान्छ : कोइराला

फाल्गुन ८, २०८१

ज्योति कटुवाल

If this government does not work effectively, the country will go into trouble: Koirala

सुर्खेत — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस-एमाले नेतृत्वको वर्तमान सरकारले प्रभावकारी काम गर्न नसके देश थप अफ्ठ्यारोमा पर्ने बताएका छन् । बिहीबार सुर्खेत विमानस्थलमा नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा बोल्दै नेता कोइरालाले मुलुकमा सुशासन कायम नभएको र आर्थिक अवस्थामा सुधार हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे । 

नेता कोइरालाले पार्टीको १५ औँ महाधिवेशनका विषयमा विभिन्न चर्चा भइरहेको भन्दै समयमै महाधिवेशन गर्ने वातावरण सुनिश्चत गर्न सबै लाग्नुपर्ने बताए ।

'१५ औँ महाधिवेशन विधान अनुसार समयमै नगरे पार्टीको अवस्था झन् नाजुक हुन्छ । अहिले विभिन्न चर्चा भइरहेको छ । कतै २०८४ को आम निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने खेल त भइरहेको छैन भनेर प्रश्न उठिरहेको छ,' कोइरालाले भने, 'यस्तो हुन नदिन सबै कार्यकर्ताले एकजुट भएर लाग्नुपर्ने बेला छ । २०८२ साल मंसिरमा गर्नुपर्ने महाधिवेशन कुनै पनि बहानामा पछि धकेल्न मिल्दैन ।'

उनले कांग्रेस आजका दिनसम्म एक ढिक्का रहेको भन्दै अब महाधिवेशन समयमा नगर्ने विषयले पार्टीलाई पनि क्षति गर्ने बताए । 'कोही पनि पार्टी विधान र संविधानभन्दा बाहिर जानु हुँदैन, फेरि ०८४ को निर्वाचनभन्दा अघि नै महाधिवेशन नगर्ने र नयाँ नेतृत्व चयन नगर्ने हो भने पार्टीलाई थप क्षति हुन्छ,' उनले भने । 

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully