लुम्बिनी सरकारको अर्धवार्षिक समीक्षा : पुँजीगत खर्चको आकार बढाउन मुख्यमन्त्री आचार्यको निर्देशन

फाल्गुन ८, २०८१

दुर्गालाल केसी

Half Yearly Review of Lumbini Govt.: Chief Minister Acharya's instructions to increase size of capital expenditure

दाङ — लुम्बिनी प्रदेश सरकारले अर्धवार्षिक समीक्षा गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार अर्धवार्षिक समीक्षा कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक वर्षमा विनियोजन भएको पुँजीगत बजेटको कार्यान्वयन र भुक्तानीलाई विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन् । चालु आर्थिक वर्ष २०८१\८२ को अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री आचार्यले पुँजीगत खर्च बढाउन र सम्पन्न आयोजनाको भुक्तानी अविलम्ब गर्न निर्देशन दिए ।

‘वैशाखलाई अन्तिम भुक्तानीको महिना बनाउन सक्ने हो भने धेरै समस्या हल भएर जाने थिए,’ उनले भने, ‘अन्य प्रदेशको तुलनामा माघ मसान्तसम्म लुम्बिनी प्रदेशको पुँजीगत खर्च सबैभन्दा राम्रो छ । तर, यसलाई निरन्तरता दिनेगरी काम गरौं ।’

सार्वजनिक विवरणअनुसार अन्य प्रदेशको तुलनामा लुम्बिनीको पुँजीगत खर्च धेरै देखिएको छ । चालु आर्थिक वर्षको फागुन ३ सम्म सरकारले कुल बजेटको २४.९१ प्रतिशत खर्च गरिसकेको छ । जसमा पुँजीगत खर्च २२.८३ प्रतिशत र चालु खर्च २८.४७ प्रतिशत रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

मुख्यमन्त्री आचार्यले चालु खर्च घटाउने र पुँजीगत खर्च बढाउने नीति अवलम्बन गर्न निर्देशन दिए । संघीय सरकारबाट प्राप्त समानीकरण, ससर्त तथा विशेष अनुदानका कार्यक्रम कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । टुक्रे आयोजना निरुत्साहित गर्न योजना छनोटमा कठोर बन्नुपर्ने धारणा राख्दै उनले प्रदेश सरकारले बहुवर्षीय आयोजनालाई प्राथमिकता दिने बताए ।

चालु वर्षमा ३८ अर्ब ९७ करोड बजेट विनियोजन गरिएको थियो । जसमा पुँजीगततर्फ २४ अर्ब ५८ करोड र चालु खर्चतर्फ ११ अर्ब २४ करोड विनियोजन गरिएको थियो ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, स्वास्थ्यमन्त्री खेमबहादुर सारु, वन तथा वातावरणमन्त्री देवकरण कलवार, प्रमुख सचिव बाबुराम अधिकारी, प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराज अर्याललगायत मन्त्रालयका सचिवले अहिलेसम्मका उपलब्धि र भावी योजनाका बारेमा धारणा राखेका थिए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डिलाराम पन्थीले समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully