काठमाडौँ — परराष्ट्रमन्त्री डा आरजु राणा देउवा ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएकी छन् ।
भारतीय विदेशमन्त्री डा एस जयशंकर र ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा यही फागुन २ गते ओमन प्रस्थान गरेकी थिइन् ।
ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे पत्रकारहरुलाई जानकारी गराउँदै मन्त्री डा देउवाले सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा मुख्य विषय राखिएको उक्त सम्मेलनमा आफूले नेपालका तर्फबाट सहभागी भई सम्बोधन गरेको बताइन् ।
सो सम्मेलनमा हिन्द महासागरीय क्षेत्रका ४० देशका विदेश मन्त्रीस्तरीय सहभागिता रहेको थियो । सो सम्मेलनमा उनले ग्लोबल साउथको आवाजलाई थप सशक्त पार्ने सम्बन्धी सत्रलाई सम्बोधन गरेकी थिइन् ।
उनले इरानका विदेशमन्त्रीसँगको भेटवार्ताका क्रममा मन्त्री डा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन् ।
त्यसैगरी जापानका विदेश राज्यमन्त्रीसँगको भेटमा नेपालमा गत असोजमा आएको बाढीका कारण क्षति पुगेको बीपी राजमार्गको पुनर्निर्माणका लागि सहयोग गर्न आग्रह गरेकी थिइन् भने युएई, श्रीलंका र ओमनका विदेशमन्त्रीसँगको भेटका क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गर्न सम्बद्ध देशहरुलाई आग्रह गरिन् । यस भ्रमणका क्रममा नेपाल र ओमनबीच कूटनीतिक तथा पर्यटन क्षेत्रका दुई छुट्टाछुट्टै समझदारी पत्रमा हस्ताक्षर पनि भएको थियो ।
