काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले राजनीतिक दलका घोषणापत्रहरू लोभलाग्दा भएपनि कार्यान्वयन नहुँदा समस्या भएको बताएका छन् । उनले घोषणा पत्रमा लेखिएका कुरा कति कार्यान्वयन भए भनेर दलहरूले समीक्षा गर्नुपर्ने बताए ।
बुधबार नेपाल शिक्षक संघ ललितपुरले गरेको २४औं प्रतिनिधि सभा स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबल लोकतान्त्रिक मुलुक निर्माणमा दलहरू प्रमुख जिम्मेवार रहेको बताए ।
'सवल लोकतान्त्रिक देश भनेको त्यस्तो देश हो, जसले नागरिकका अधिकार र स्वतन्त्रता सुनिश्चित गर्छ। विधिको शासन पालना गर्छ। जवाफदेही सरकारको व्यवस्था गर्दछ। र, जनताको सहभागिता बढाउँछ,' उनले भने, 'लोकतन्त्रलाई बलियो बनाउने जिम्मेवारी दलहरूको हो । यसको व्यवहारिक अभ्यासलाई राम्रो बनाउने भूमिका दलहरूको हो ।' उनले अधिकार र कर्तव्यको संयोजनले मात्र प्रजातान्त्रिक प्रणाली बलियो हुने बताए ।
अहिलेसम्म अधिकारको मात्र कुरा गरिएकोमा त्यो सँगसँगै कर्तव्यनिष्ठ हुनुपर्नेमा उनको भनाइ छ । '२००७ सालदेखि आजसम्म अधिकारका बारेमा ठूला बहस भए। आन्दोलन भए। हामीले संविधान बनायौं। पार्टीका घोषणा पत्र बनायौं। थुप्रै अधिकार स्थापित भए। अधिकारसँगै कर्तव्यको पालनाले मात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने कुरालाई ध्यान दिएर कर्तव्य पालनातर्फ लागेनौं,' उनले भने।
यस्ता खाले कमजोरीका कारण प्रजातन्त्रले हामीलाई के दियो भन्ने प्रश्न उठ्ने गरेको उनको टिप्पणी छ। प्रधानमन्त्रीदेखि श्रमिकसम्म कर्तव्य पालनामा चुक्दा समस्या देखिएको उनको भनाइ छ। अधिकार र कर्तव्यको पालनाले मात्र लोकतन्त्र बलियो पार्दै जनताका सपना साकार पार्न सकिनेमा उनले जोड दिएका छन्।
'२००७ सालदेखि नेताहरूले राजनीतिक नेतृत्व गर्नु भयो। तर, मुलुकलाई पूर्णरुपमा गतिशिल बनाउन ऐन, कानुन दिन सक्नु भएन। अहिलेको ज्वलन्त समस्या यही हो। अब राजनीतिक दलहरू पूरानै शैलीबाट चल्नु हुँदैन। समय सापेक्ष बन्दै परिणाममुखी काम गर्नुपर्छ,' उनले भने।
