नेपालका साथै भारतभित्रैबाट दबाब बढेपछि विश्वविद्यालयका संस्थापक, उपकुलपति र रजिस्ट्रारले मागे माफी
काठमाडौँ — नेपाली विद्यार्थीको शंकास्पद मृत्युको अनुसन्धान र न्यायको माग गर्ने विद्यार्थीमाथि दमन भएको घटनामा भारतीय राज्य ओडिसाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले विद्यार्थी तथा अभिभावकसँग माफी मागेको छ ।
बी–टेक तेस्रो वर्षमा पढ्ने प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा मृत भेटिएपछि अनुसन्धान र न्यायको माग गर्दा विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीमाथि दमन गरेको थियो ।
न्याय माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई प्रशासनले तत्काल होस्टेल छाड्न आदेशसमेत दिएको थियो । घटनाको चौतर्फी विरोध र नेपालका साथै भारतभित्रबाटै दबाब बढाइएपछि केआईआईटीले माफी मागेको हो । विश्वविद्यालयले माफी मागेपछि नेपाली विद्यार्थी लम्सालको शंकास्पद मृत्युपछि जारी विश्वविद्यालय प्रशासन र नेपाली विद्यार्थीबीचको ‘तनावको अवस्था’ सामान्य बन्दै गएको छ ।
कलेजका संस्थापक, उपकुलपति र रजिस्ट्रारले उत्पन्न परिस्थितिप्रति दुःख व्यक्त गर्नुका साथै क्षमा मागेका छन् । त्यसपछि क्रमशः नेपाली विद्यार्थी कलेज फर्किन थालेका हुन् । कलेजका संस्थापक अच्युत सामन्तले परराष्ट्रमन्त्री आरजु राणा देउवा र नयाँदिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्मासँगको टेलिफोन कुराकानीमा घटनाप्रति दुःख व्यक्त गर्दै नेपाली विद्यार्थीले उठाएका विषय र शैक्षिक समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘नेपाली विद्यार्थीले उठाएका सवाललाई सम्भव भएसम्मका सबैजसो माग पूरा गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ राजदूत शर्माले भने, ‘विद्यार्थीसँग अभद्र व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई निलम्बन गरिएको, कुटपिट गर्ने सुरक्षा गार्डलाई कानुनी कारबाहीमा पठाइएको भन्नुभएको छ । पुनः परीक्षा र अतिरिक्त कक्षाको प्रतिबद्धता पनि जनाउनुभएको छ ।’
घटनाका विषयमा बुझ्न र कलेज प्रशासन, विद्यार्थी तथा स्थानीय प्रशासनसँग समन्वय गरेर सहज वातावरण बनाउन दिल्लीस्थित नेपाली दूतावासले मंगलबार बिहान दुई जना कन्सुलरलाई भुवनेश्वर पठाएको थियो । कन्सुलरद्वय नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सञ्जीव शर्मा र राष्ट्रिय अनुसन्धानका वरिष्ठ उपरीक्षक नवीन अधिकारीले सबै पक्षसँग भेटघाट गरेका छन् ।
राजदूत शर्माले नेपाली विद्यार्थीका तर्फबाट उठाइएका सबैजसो माग कलेज प्रशासनले स्वीकार गरेपछि स्थिति सामान्य बनेको बताए । कन्सुलर एसएसपी शर्माका अनुसार नेपाली विद्यार्थीको सुरक्षा सवालको विषय सबै पक्षसँग राखिएको छ । ‘कलेज प्रशासन र यहाँका प्रहरीले त्यस सम्बन्धमा प्रतिबद्धता व्यक्त गरेका छन् । विद्यार्थी क्रमशः फर्किन थालेका छन्,’ उनले भने, ‘धेरै विद्यार्थी घरतर्फ लागिसकेकाले उनीहरू फर्किन केही समय लाग्न सक्छ ।’ मंगलबार साँझसम्म ६० विद्यार्थी छात्रावासमा फर्किइसकेका छन् ।
केआईआईटीमा अध्ययनरत विद्यार्थीका अनुसार लम्सालमाथि भारतीय विद्यार्थी आद्धिक श्रीवास्तवले बारम्बार दुर्व्यवहार गर्ने गरेका थिए । दुर्व्यवहार सहन नसकेपछि लम्सालले आत्महत्या गरेको उनीहरूको भनाइ छ । लम्सालको मृत्युपछि भारतीय विद्यार्थीमाथि कारबाहीको माग गर्दै प्रशासनमा उजुरी दिन गएका विद्यार्थीमाथि केआईआईटी प्रशासनले विश्वविद्यालयका सुरक्षा गार्ड र बाउन्सर लगाएर उल्टो दमन गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।
त्यसलगत्तै विश्वविद्यालय प्रशासनले सम्पूर्ण विद्यार्थीलाई तत्काल छात्रावास छाड्न सूचना जारी गरेको थियो । ५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई विश्वविद्यालयले भुवनेश्वर र कटक रेलवे स्टेसन लगेर छाडेको थियो । तर चौतर्फी विरोधपछि विश्वविद्यालय प्रशासन निर्णय फिर्ता लिन बाध्य भएको थियो ।
विश्वविद्यालयका उपकुलपति शरणजित सिंहले पनि मंगलबार एक विज्ञप्ति जारी गर्दै सोमबार भएको घटनाप्रति क्षमायाचना गरेका छन् । ‘नेपाली विद्यार्थीलगायत सबै विद्यार्थीको सुरक्षा, मर्यादा र हितका लागि हाम्रो प्रतिबद्धता दोहोर्याउन चाहन्छौं,’ उनले भनेका छन् । विज्ञप्तिमा विश्वविद्यालयका दुई अधिकारीले नेपाल र नेपाली विद्यार्थीप्रति गरेको टिप्पणी गैरजिम्मेवार रहेको र उनीहरूले माफी मागिसकेको जनाइएको छ । ‘कर्मचारीले आवेशमा आएर गरेका टिप्पणी व्यक्तिगत हुन् । ती टिप्पणीलाई संस्थाले समर्थन गर्दैन,’ विज्ञप्तिमा उल्लेख छ ।
विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि सोमबार कुटपिट गर्ने तीन जना सुरक्षा गार्डलाई बर्खास्त गरेको छ । उनीहरूसहित अर्का एक सुरक्षा गार्डलाई पक्राउ गरेको ओडिसा प्रहरीका कमिश्नर देवदत्त सिंहले बताए । सोमबार नै नेपाल र नेपाली विद्यार्थीमाथि गालीगलौजमा उत्रिएका दुई जना छात्रावास अधिकारी र एक जना अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका अधिकारीलाई निलम्बन गरेको छ । नेपाल र नेपाली विद्यार्थीमाथि गैरजिम्मेवार टिप्पणी गर्ने कर्मचारी मञ्जुषा पाण्डेले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै क्षमायाचना गरेकी छन् ।
काठमाडौंस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै ओडिसा राज्य सरकारले केआईआईटी घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको जनाएको छ । ‘समितिले दिएको निष्कर्षका आधारमा आवश्यक कारबाही गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीमाथि भएको दुर्व्यवहारको अनुसन्धान पनि भइरहेको छ र जिम्मेवार व्यक्तिलाई कानुनअनुसार जवाफदेही बनाइनेछ ।’
बि–टेक तेस्रो वर्षमा पढ्ने एक नेपाली विद्यार्थीले पनि स्थितिमा सुधार हुँदै गएको बताए । ‘कलेजबाट निकालिएपछि सबैभन्दा बढी तनाव हाम्रो अभिभावकलाई भयो,’ उनले भने, ‘हामी होस्टल फर्किएको सूचना दिएपछि केही राहत त भएको छ । तर, ढुक्क हुन सक्नुभएको छैन ।’ नेपाली विद्यार्थीले घटनाबारे निष्पक्ष छानबिन, संलग्न कर्मचारीको बर्खास्ती, बाहिरबाट आएर विद्यार्थीमाथि कुटपिट गर्नेमाथि कानुनी कारबाही, पीडित विद्यार्थीलाई क्षतिपूर्तिलगायतका ७ बुँदे माग अघि सारेका छन् । घर फर्किएका कारण छुटेको स्थितिमा पुनः परीक्षा सञ्चालनदेखि अतिरिक्त कक्षा सञ्चालनसम्मको प्रतिबद्धता कलेज प्रशासनले गरेको छ । दूतावासले घर फर्किन बाध्य भएकाको टिकट खर्चसमेत बेहोर्ने प्रतिबद्धता जनाएको छ ।
कान्तिपुरको सम्पर्कमा आएका विश्वविद्यालयका एक कर्मचारीले स्थिति सामान्य बन्दै गएको र विद्यार्थी छात्रावासमा फर्किन थालेको बताएका छन् । ‘कतिपय विद्यार्थी भने नेपाल फर्कन रेल चढिसकेका रहेछन्,’ उनले भने, ‘अन्य विद्यार्थी भने फर्किरहेका छन् ।’ उनका अनुसार हाल विश्वविद्यालयमा १ हजार १ सय ९६ नेपाली विद्यार्थी छन् । उनका अनुसार विश्वविद्यालयमा सन् २००१ देखि नेपाली विद्यार्थीले अध्ययन गर्न थालेका हुन् । दुई दशकभन्दा लामो समयमा यस्तो तनावपूर्ण अवस्था पहिलो पटक उत्पन्न भएको उनको दाबी छ ।
मृतक नेपाली छात्रा प्रकृति लम्सालको शवको पोस्टमार्टम भइसकेको छ । शव परिवारजनका साथमा बुधबार नेपाल पठाउने तयारी गरिएको छ । छोरीको मृत्युपछि भुवनेश्वर पुगेका बुबा सुनीलले भारतीय सञ्चारमाध्यम एएनआईसँग ‘अनुसन्धानपछि न्याय पाउने आशा व्यक्त गरेका’ छन् । ‘घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ । हामीलाई न्याय चाहिएको छ,’ उनले भनेका छन् ।
नेपाली अधिकारीसँगको भेटमा ओडिसा प्रहरीका कमिश्नर देवदत्त सिंहले नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति दिलाएका छन् । उनले नेपाली छात्रा लम्साल मृत्यु प्रकरणमा कुनै कसर बाँकी नराखी छानबिन गरिने प्रतिबद्धता जनाएका छन् ।
नेपाली विद्यार्थीको मृत्यु र त्यसपछि उत्पन्न घटनाको विरोधमा नेपालमा विभिन्न दलनिकट विद्यार्थी संगठनहरूले पनि प्रदर्शन गरेका छन् । ओडिसामा नेपाली विद्यार्थीसँग भएको घटनाको भारतभित्र पनि विभिन्न विद्यार्थी संगठनले विरोध जनाएका छन् । घटनाको विरोधमा मंगलबार भुवनेश्वरमा प्रदर्शनसमेत भएको छ । त्यस्तै घटनाको विषयमा ओडिसा विधानसभामा पनि प्रश्न उठेको छ ।
ओडिसामा ‘एनओसी’ रोक्ने शिक्षा मन्त्रालयको चेतावनी
शिक्षा मन्त्रालयले केआईआईटी विश्वविद्यालयमा भएको घटना र समस्याको न्यायपूर्ण समाधान नगरिए वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) रोक्ने चेतावनी दिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै ओडिसा राज्यका विश्वविद्यालय र शिक्षण संस्थामा अध्ययनका लागि प्रदान गर्दै आएको एनओसी रोक्न सकिने जनाएका हुन् । मन्त्रालयले त्यहाँ समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्न सहायता कक्षसमेत स्थापना गरेको जनाएको छ ।
