काठमाडौँ — एमालेका सांसद सूर्य थापाले एमाले र कांग्रेसले सरकारमा सहकार्य गरेपनि राजनीतिमा तीव्र प्रतिस्पर्धा गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद थापाले दुई पार्टीले मुलुकमा राजनीतिक स्थिरताका लागि सरकारमा सहकार्य गर्ने निर्णय लिएको पनि बताए ।
नेपालको राजनीतिक इतिहासमा संसद्को पहिलो र दोस्रो पार्टीबीच बिरलै मात्र सरकारमा सहकार्य हुने गरेको पनि थापाको भनाइ थियो । सरकारमा सहकार्य गरिएपनि राजनीतिक रूपमा भने प्रतिस्पर्धा जारी रहेको उनले बताए ।
'एमाले र कांग्रेसबीच सरकार सञ्चालन गर्न सहमति भएर अस्थिरताको अन्त्य गर्ने र मुलुकलाई राजनीतिक स्थिरिता, विकास र सुशासन दिन साझेदारी भइरहेको छ । मुलुकका दुई ठूला पार्टीबीच बिरलै यस्तो सहकार्य हुन्छ । तर, विगतमा जबजब यस्तो सहकार्य हुने गरेको छ ठूल्ठूला उपलब्धि हासिल हुन गरेका छन्,' थापाले भने, 'हामीले सरकारमा सहकार्य गरिरहँदा राजनीतिमा तीव्र प्रतिस्पर्धा र प्रतिद्वन्द्विता पनि रहेको छ ।'
एमाले र कांग्रेस प्रतिद्वन्द्वी पार्टी हुँदाहुँदै पनि सरकारमा सहकार्य गरिरहँदा असन्तुष्टिका अभिव्यक्ति आइरहेका छन् । त्यसबारे थापाले भने, 'दुईवटा हाराहारीका ठूला पार्टी सहकार्यमा छौं, त्यसका बाछिटाहरू अनेक रूपमा प्रकट हुने पनि गरेका छन् तर राष्ट्रिय कोर्समा दुईवटा पार्टीको बीचको सम्बन्ध समझदारीमा कुनै अलमल, द्विधा र संकट छैन ।'
सरकार प्रभावकारी हुनु अपरिहार्य रहेको पनि सांसद थापाले बताए । उनले मन्त्रीहरूले परिणाम निस्किने गरी काम गर्नुपर्ने बताए । उनले भने, 'सरकारको काममा दुई ठूला पार्टीको सहकार्य माध्यम मात्रै हो, मूख्यतः सफलता हासिल गर्नु नै हो ।'
थापाले प्रतिपक्षमा हुँदा भ्रष्टाचारका काण्डबार बोल्ने तर सरकारमा हुँदा त्यसको छानबिन नगर्ने प्रवृति रहेको बताए ।
