त्रिपाठीले गरे भूमिसम्बन्धी अध्यादेशको विरोध 

फाल्गुन ६, २०८१

कान्तिपुर संवाददाता

Tripathi opposed the land ordinance

काठमाडौँ — जनता प्रगतिशील पार्टी नेपालले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशको विरोध गरेको छ । साथै, मधेसकेन्द्रित दल जनता समाजवादी पार्टी, नेपाल र  लोकतान्त्रिक समाजवादी पार्टीले उक्त अध्यादेशको विरोधमा लिएको अडानको प्रशंसासमेत गरेको छ ।  

पार्टी अध्यक्ष हृदयेश त्रिपाठीले मंगलबार वक्तव्य जारी गर्दै मधेसकेन्द्रित दलहरूबीच बन्दै गरेको ‘लुज एलाइन्स’का महत्वपूर्ण घटक जसपा नेपालले सबैभन्दा पहिला र त्यसपछि लोसपाले लिएको दृष्टिकोणले देशव्यापी सकारात्मक सन्देश गएको भनेका छन् । उनले भूमिसम्बन्धी अध्यादेशलाई लिएर उक्त दुई दलका तर्फबाट आएको विरोधले सार्वजनिक जग्गा, वनक्षेत्र, बुट्यान, हाटबजार, गौचर, राष्ट्रिय निकुञ्ज वा आरक्ष, मध्यवर्ती क्षेत्रको जग्गा र चुरे क्षेत्रको संरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले सरकारमा वा सरकार बाहिर रहेका सबै मधेसकेन्द्रित दलबीच यसैगरी मुद्दागत रूपमा एकता निर्माणका लागि ‘लुज एलाइन्स’को अपरिहार्यता रहेको बताएका छन् । 

मधेसकेन्द्रित दलबीच बन्दै गरेको गठबन्धन आगामी दिनमा थप प्रभावकारी हुने र नेपाली राजनीतिलाई सृजनात्मक तथा सकारात्मक योगदान दिने त्रिपाठीले विश्वास व्यक्त गरेका छन् । उनले गठबन्धन कुनै पार्टी विशेष विरूद्धमा नरहेको समेत स्पष्ट पारेका छन् । 

मधेसकेन्द्रित दलबीच बन्दै गरेको गठबन्धनप्रति आफ्नो दल प्रारम्भदेखि नै सकारात्मक रहेको समेत भनेका छन् । सबै दलबाट गठित संयुक्त कार्यदलले गठबन्धनको आधारका लागि तय गर्ने मस्यौदा नेतृत्व तहबाट अनुमोदित भएपछि तराई/मधेसको राजनीतिमा सकारात्मक सन्देश जाने त्रिपाठीले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

कान्तिपुर

Link copied successfully