ओडिसामा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु, न्याय माग्दा दमन

बी–टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्सालको शंकास्पद मृत्यु, केआईआईटी विश्वविद्यालय प्रशासनले छात्रावासबाट ५ सय नेपाली विद्यार्थीलाई निष्कासित गरेकामा चौतर्फी विरोधपछि फिर्ता

फाल्गुन ६, २०८१

राजेश मिश्र

Suspicious death of a Nepali student in Odisha, suppression of demand for justice

काठमाडौँ — भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएपछि तनाव बढेको हो  । बी–टेक तेस्रो वर्षमा पढ्ने प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा मृत भेटिएपछि नेपाली विद्यार्थीले अनुसन्धान र न्यायको माग गर्दा दमन भएको छ । 

नेपाली विद्यार्थीहरूका अनुसार लम्सालमाथि भारतीय विद्यार्थी आद्धिक श्रीवास्तवले बारम्बार दुर्व्यवहार गर्ने गरेका थिए । असह्य भएपछि लम्सालले आत्महत्या गरेको उनीहरूको भनाइ छ । यसअघि लम्सालले समेत आफूमाथि दुर्व्यवहार भएको भन्दै श्रीवास्तवविरुद्ध विश्वविद्यालय प्रशासनमा उजुरी दिएकी थिइन् । तर, विश्वविद्यालय प्रशासनले उजुरीको सुनुवाइ नगरेको नेपाली विद्यार्थीको भनाइ छ । 

दुर्व्यवहार गर्ने भारतीय विद्यार्थीमाथि अनुसन्धान तथा कारबाहीको माग गर्दै उजुरी दिन गएका विद्यार्थीमाथि केआईआईटी प्रशासनले सुरक्षा गार्ड र बाउन्सर लगाएर दमन गरेको नेपाली विद्यार्थीले बताएका छन् । नेपाली विद्यार्थी आइतबार राति विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा उजुरी दिन गएका थिए । ‘तर कारबाही त परै जाओस्, हाम्रो कुरा पनि सुनिएन,’ कम्प्युटर इन्जिनियरिङमा स्नातक अध्ययनरत एक नेपाली विद्यार्थीले फोनमा कान्तिपुरलाई भने । 

लम्सालको मृत्युको खबर बाहिरिएपछि नेपाली विद्यार्थी प्रदर्शनमा उत्रिएका थि । ‘आइतबार साँझ ४–५ बजे प्रकृतिको आत्महत्याको खबर विश्वविद्यालयमा फैलिएको थियो । त्यसलगत्तै उनलाई किम्स अस्पताल लगिएको थियो,’ एक नेपाली विद्यार्थीले भने । राति १० बजे प्रदर्शन सुरु भएपछि विद्यार्थीमाथि चरम दमन भएको उनले बताए । ‘सोमबार बिहान सबैलाई छात्रावासबाट निकाल्न थालियो । म खाजा खान मेसतिर जाँदै थिएँ, वार्डेनले तिमीहरू घर फर्कनुपर्छ भने,’ उनले भने, ‘जान नमान्नेलाई सेक्युरिटी गार्डले कुटे ।’

Suspicious death of a Nepali student in Odisha, suppression of demand for justiceविश्वविद्यालयमा मृत भेटिएकी प्रकृति लम्साल ।

विद्यार्थीको प्रदर्शन चर्केपछि विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई तत्काल छात्रावास छाड्न सूचना जारी गरेको थियो । केआईआईटीका रजिस्ट्रारले जारी गरेको सूचनामा नेपाली विद्यार्थीलाई अर्को सूचना नभएसम्मका लागि तत्काल छात्रावास छाड्न भनिएको छ । 

केआईआईटीमा एक हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयको सूचनापछि सयौं नेपाली विद्यार्थी अलपत्र परे । केही विद्यार्थी नेपाल हिँडिसकेको कान्तिपुरको सम्पर्कमा आएका एक विद्यार्थीले बताए । उनका अनुसार ५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई विश्वविद्यालयले भुवनेश्वर र कटक रेलवे स्टेसनमा ल्याएर छोडिदिएको छ । नेपाली सीमातर्फ आउने रेल बिहीबार मात्र चल्ने भएकाले आफूहरू अलपत्र परेको उनले बताए । ती विद्यार्थीका अनुसार केहीले भने आफैं व्यवस्था गरेर छात्रावासबाहिर बसेका छन् । 

नेपाली विद्यार्थीलाई निष्कासन गरिएको खबर बाहिरिएपछि फिर्ता बोलाउन विश्वविद्यालय प्रशासनमाथि चौतर्फी दबाब परेको थियो । नयाँदिल्लीस्थित नेपाली दूतावासले कूटनीतिक च्यानलमार्फत र सिधै विश्वविद्यालयसँग संवाद गरेपछि कलेज प्रशासनले विद्यार्थीलाई छात्रावासमा फर्कन सूचना जारी गरेको छ । 

नेपाली दूतावासले घटनाका सम्बन्धमा विश्वविद्यालयका प्रतिनिधिसँग कुरा गरेको र नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था अपनाउन आग्रह गरेको जनाएको  । ‘घटनाबारे जानकारी पाएसँगै विश्वविद्यालय प्रशासनसँग कुरा गरिरहेका छौं । घटनाको छानबिन र विद्यार्थीको सुरक्षाका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौं,’ दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले भने । 

उता भारतीय सञ्चारमाध्यमका अनुसार श्रीवास्तवलाई प्रहरीले पक्राउ गरिसकेको र घटनाबारे छानबिन सुरु गरेको छ । उनीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको भुवनेश्वर प्रहरीका डेपुटी कमिस्नर पिनाक मिश्रलाई उद्धृत गर्दै एनडीटीभीले जनाएको छ ।

विश्वविद्यालय प्रशासनले सोमबार साँझ विज्ञप्ति जारी गरी नेपाली विद्यार्थीलाई छात्रावासमा फर्कन आग्रह गरेको हो । ‘केआईआईटी प्रशासनले शैक्षिक गतिविधि सुचारु गर्न क्याम्पस र छात्रावासको स्थिति सामान्य बनाउन हरसम्भव प्रयास गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘क्याम्पस छाडेका वा छाड्ने योजना बनाएका सबै नेपाली विद्यार्थीलाई छात्रावासमा फर्कन र कक्षाहरू पुनः सुरु गर्न अपिल गरिन्छ ।’ स्थिति अनियन्त्रित हुन नदिन र निष्पक्ष छानबिन सुनिश्चित गर्न नेपाली विद्यार्थीलाई घर फर्कन सुझाव दिएको विश्वविद्यालयको दाबी छ । 

सम्बन्धित शैक्षिक संस्थाले नेपाली विद्यार्थीलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई कक्षा सञ्चालन गरिने प्रतिबद्धता दूतावाससमक्ष पनि जनाएको छ । दूतावासले वक्तव्य निकालेर यसबारे जानकारी दिएको छ । नियोग उपप्रमुख थापाले विद्यार्थीलाई फिर्ता बोलाउन, पढाइ सञ्चालन गर्न तथा नेपाली विद्यार्थीको मृत्यु भएको घटनाको निष्पक्ष छानबिनका लागि कलेज प्रशासनलाई आग्रह गरेको बताए । 

नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा घटनाबारे स्वतन्त्र एवं निष्पक्ष ढंगले अनुसन्धान गर्नॅपर्ने विषयलाई सम्बन्धित शैक्षिक संस्थाले गम्भीरतापूर्वक लिएको समेत जनाइएको  । दूतावासले दिल्लीमा रहेका केआईआईटीका प्रतिनिधिलाई दूतावासमै बोलाएर छलफलसमेत गरेको छ । भारतको विदेश मन्त्रालय, ओडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित निकायसँग दूतावास लगातार सम्पर्कमा रहेको विज्ञप्तिमा जनाइएको छ । नियोग उपप्रमुख थापाले ओडिसामा घटनाको जानकारी आउनासाथ विद्यार्थी, कलेज प्रशासन र सरकारी निकाय सबैसँग समन्वय गरिएको बताए । दूतावासले नेपाली विद्यार्थी तथा अभिभावकलाई आवश्यक परेको स्थितिमा सम्पर्कमा रहन इमेल तथा हटलाइन नम्बरसमेत सार्वजनिक गरेको छ । 

कलेज प्रशासनले विद्यार्थीलाई होस्टेलमा फर्किन सूचना पठाइरहेको एक विद्यार्थीले बताए । ‘दूतावासको सक्रियतापछि उनीहरू हाम्रो सम्पर्कमा आउन थालेका छन्,’ ती विद्यार्थीले भने, ‘अपमानित गरेर हामीलाई निकालिएको छ । त्यहाँ सम्मान र सुरक्षाका साथ बस्ने वातावरण बन्नुपर्छ ।’ 

विद्यार्थीलाई कुटपिट र बल प्रयोग गरेर निकालिएकामा त्यसविपरीत कलेजले स्वेच्छाले नेपाली विद्यार्थीले होस्टेल छाडेको गलत कुरा भनिरहेको उनले बताए । कलेजले बाहिर निकालेपछि धेरै विद्यार्थी जे–जस्तो साधन भेटिए, त्यहीबाट घरतर्फ लागेका छन् । सयौं विद्यार्थी रेल्वे स्टेसन र होटलमा बसेका छन् । 

दूतावासका नियोग उपप्रमुख थापाले दूतावासका दुई जना वरिष्ठ अधिकारीलाई मंगलबार ओडिसा पठाउन लागिएको बताए । कलेज प्रशासन र विद्यार्थीसँग समन्वय गरेर सहज वातावरण बनाउने प्रयास गरिने उनले उल्लेख गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि घटनाबारे कूटनीतिक माध्यमबाट बुझिरहेको बताएका छन् । ‘केआईआईटी विश्वविद्यालयको होस्टेलमा एक नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको  । यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।

त्यस्तै, परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि भारतका लागि नेपाली राजदूत शंकर शर्मालाई घटनाको वास्तविकता बुझ्न र विद्यार्थीको समस्या समाधान गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । काठमाडौंस्थित भारतीय दूतावासले सोमबार साँझ विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ । त्यस्तै, विश्वविद्यालय प्रशासन र ओडिसा सरकारसँग निरन्तर सम्पर्क रहेको जनाउँदै दूतावासले घटनाको अनुसन्धान सुरु भइसकेको जानकारी प्राप्त भएको जनाएको छ ।

‘हामीमाथि दमन गरियो’

प्रकृतिको मृत्युको घटनासँगै प्रदर्शन चर्किएपछि विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीमाथि दमन गर्‍यो । प्रदर्शनमा विभिन्न तहमा अध्ययनरत एक हजारभन्दा बढी नेपाली विद्यार्थी सहभागी थिए । प्रदर्शन चर्किंदै गएपछि विश्वविद्यालयका फाउन्डरले विद्यार्थीलाई चित्त बुझाउने प्रयास गर्नुका साटो दमनको बाटो लिए । उनीहरूले स्थानीय विद्यार्थीको पनि समर्थन पाउने स्थिति बनेपछि कलेज प्रशासनले नेपालीमाथि दमन गर्न थाल्यो ।

बिहानैबाट होस्टेलका कोठामा कलेजका गार्ड मात्रै होइन, बाहिरबाट बाउन्सरसमेत ल्याएर धम्क्याउने काम भयो । होस्टेल छाडेर निस्किन धम्कीपूर्ण चेतावनी आउन थाल्यो । सामान बाहिर निकाल्न थाले, प्रतिवाद गरे कुटपिट गरियो । युनिभर्सिटीले बसमा चढाएर एकपछि अर्को समूहलाई कलेज परिसरबाहिर निकाल्यो । बिहानैदेखि रेल्वे स्टेसन पुर्‍याउन थालियो ।

रेल्वे स्टेसनमा सयौं नेपाली विद्यार्थी अलपत्र परेका छन् । रेलको टिकटसमेत पाइएको छैन । कतिपय विद्यार्थी भने रेल चढे । धेरैजसो विद्यार्थी रेल्वे स्टेसनमै बिना पूर्वयोजना कता कसरी जाने भनेर अलपत्र छन् । समूह–समूह बनाएर विद्यार्थी होटलमा पनि बास बसेका छन् । आफैंले चार वर्षदेखि पढ्दै आएको कलेजबाट यसरी निकालिनु पर्ला भनेर कहिल्यै सोचेका थिएनौं । हामीमाथि हदैसम्मको अमानवीय व्यवहार गरिएको छ । (केआईआईटी प्रशासनले छात्रावासबाट निकालेपछि रेल्वे स्टेसनमा अलपत्र नेपाली विद्यार्थीसँगको कुराकानी)

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully