भारतमा रहेका नेपाली विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल गर्न सांसदको माग

फाल्गुन ६, २०८१

कान्तिपुर संवाददाता

MP's demand to take diplomatic initiative for the safety of Nepali students in India

काठमाडौँ — भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि कूटनीतिक र राजनीतिक पहल तत्काल थाल्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले भारतको उडिसा राज्यको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु घटनाबारे कुरा उठाएका थिए । घटनाको छानबिन र त्यहाँ अध्ययनरत अन्य विद्यार्थीको सुरक्षाका लागि भारत सरकारसँग समन्वय गर्न उनीहरुले सरकारलाई आग्रह गरे ।

सांसदहरु छविलाल विश्वकर्मा, माधव सापकोटा, ध्रुवबहादुर प्रधान, ठाकुर गैरेले लम्सालको रहस्यमय मृत्युबारे छानबिन, दोषीमाथि कारबाही तथा केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिको माग गरेका हुन् ।

लम्सालको शंकास्पद मृत्युपछि निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीमाथि क्याम्पस प्रशासन र सुरक्षा कर्मचारीले दुर्व्यवहार र कुटपिट गरेका थिए । बी–टेक तेस्रो वर्षमा पढ्ने लम्साल आइतबार साँझ होस्टेलमा मृत भेटिएकी थिइन् ।

कान्तिपुर

Link copied successfully