सिरहाकी रिंकुको न्यायका लागि काठमाडौंमा प्रदर्शन

फाल्गुन ६, २०८१

कान्तिपुर संवाददाता

Demonstration in Kathmandu for justice for Sirahaki Rinku

काठमाडौँ — सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको न्यायका लागि काठमाडौंमा प्रदर्शन भएको छ ।

अपहरण र सामूहिक बलात्कारमा परेको घटना गाउँमै मिलाउन भएको पञ्चायतीपछि रिंकु आफ्नै घरमा गत माघ ३० गते साँझ झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । रिंकुको न्याय र दोषीमाथि कारबाहीको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको हो ।

सिरहासहित मधेशका जिल्लाका युवाले रिंकुको सम्झनामा मैनबत्ती पनि बाले । घटनामा संलग्न र पञ्चायती गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ ।

Demonstration in Kathmandu for justice for Sirahaki Rinku

राज्य र राज्यको गैरजिम्मेवार रबैयाका कारण मधेशमा बलात्कारजस्ता जघन्य अपराधका घटनालाई पनि गाउँमै मिलाउन पञ्चायती गर्ने प्रवृत्ति अझै अन्त्य हुन नसकेको सिरहाका शिव यादवको भनाइ छ । 'देशमा ऐन र कानुन छ, तर राज्य र राज्यका संयन्त्र त्यसको कार्यान्वयनमा कहिल्यै गम्भीर भएन,' उनले भने, 'जसले गर्दा पञ्चायतीजस्तो कुप्रथा अझै जीवित छ, यो घटना त उदाहरण हो ।'

सदा गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्कँदा स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन् । घटनालाई पञ्चायती बसेर गाउँमै ढाकछोप गर्ने प्रयास गरिएको थियो ।

कान्तिपुर

Link copied successfully