काठमाडौँ — कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अध्यादेशमा अनावश्यक बखेडा झिकिएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा घिमिरेले मुलुकलाई आर्थिक समृद्धिमा लैजानका लागि सरकारले अध्यादेश ल्याइएको बताए ।
सरकारले अध्यादेश ल्याउँदा सत्ता र प्रतिपक्ष हुन जरुरी नरहेको बताए । 'यो अध्यादेशहरूमा के त्यस्तो कुराहरू छन् जसले यत्रो कोकोहोलो मच्चाउनु पर्यो ? अध्यादेश जारी गर्नुपर्ने, संसद्लाई छलेर अध्यादेश जारी गर्न के त्यस्तो पर्यो सरकारलाई भन्ने हो भने संसद् सुरु हुने मुखमै ९ वटा कानुनलाई संशोधन हुने गरी अध्यादेश जारी गरेको जस्तो लाग्छ मलाई प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदाखेरि,' घिमिरेले भने ।
दाहाल नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा त्यतिखेरको प्रमुख प्रतिपक्षी कांग्रेसले सहयोग गरेको घिमिरेको भनाइ थियो । प्रतिपक्षमा बस्दा कांग्रेस अध्यादेशमा साथ, सहयोग र समर्थन गरेको बताए । माओवादीहरू ढिलो गरी संसदीय अभ्यासमा आएकाले छुट दिनुपर्ने पनि उनको भनाइ थियो ।
सरकारले सहकारीसम्बन्धी, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, निजीकरण (पहिलो संशोधन), आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश ल्याएको छ ।
यी अध्यादेशहरू राष्ट्रिय सभामा सत्तारुढ दलहरूको बहुमत नहुँदा स्वीकार हुन सकेका छैनन् । सरकारले संवैधानिक व्यवस्थाअनुसार नै अध्यादेश ल्याइएको पनि घिमिरेको भनाइ थियो । आर्थिक उदारीकरण र आर्थिक उत्पादनको क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नको लागि अध्यादेश ल्याइएको उनले बताए ।
अध्यादेश ल्याउँदा संसद् छलेको कुरा आफू मान्न तयार नरहेको घिमिरेले बताए । उनले अध्यादेशबारे मित्थ्या आरोप नलगाएर एकमतले अध्यादेश पारित गर्न सहयोग मागेका थिए ।
