काठमाडौँ — नेपालको मिडियामा महिला राजनीतिकर्मीलाई ११.४३ प्रतिशत मात्र स्थान पाएको एक अध्ययनले देखाएको छ । मिडिया एड्भोकेसी ग्रुपले दुई महिना लगाएर तयार पारेको प्रतिवेदन मंगलबार सार्वजनिक गर्दै सोबारे जानकारी दिएको हो ।
ग्रुपले गत नोभेम्बर र जनवरीमा सञ्चारको मूल प्रवाहमा महिला राजनीतिकर्मीको स्थानको अवस्थालाई लिएर अध्ययन गरेको थियो । ‘दुई महिनामा सात वटा दैनिक पत्रिकामा कूल एक हजार छ वटा सामग्री प्रकाशित भए,’ ग्रुपद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जसमा ११५ वटा सामग्री महिला राजनीतिकर्मीसँग सम्बन्धित थिए ।’
अध्ययनको उद्देश्य राजनीतिलाई लिएर छापा माध्यममा प्रकाशित सामग्रीलाई लैंगिक दृष्टिकोणबाट विश्लेषण गर्नु रहेको ग्रुपले जनाएको छ । यसका लागि ग्रुपले देशमा मूलधारका सात वटा दैनिक पत्रिकामा प्रकाशित समाचारको अध्ययन गरेको जानकारी दिएको छ ।
