काठमाडौँ — नेपाली विद्यार्थीको मृत्युपछि ओडिसाको केआईआईटी विश्वविद्यालयले सबै नेपाली विद्यार्थीलाई घर फर्काएकोदेखि अध्यादेश जसरी पनि पारित हुने प्रधानमन्त्री केपी शर्मा ओलीको दाबीसम्मका समाचार आज कान्तिपुरमा प्रकाशित भएका छन् ।
ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी-टेक अध्ययनरत बुटवलकी प्रकृति लम्सालले आइतबार आत्महत्या गरेको विश्वविद्यालयको दाबी छ ।
भारतीय विद्यार्थी आद्विक श्रीवास्तवले गर्दै आएको लगातारको दुर्व्यवहार सहन नसकेपछि केआईआईटी बी-टेक तेस्रो वर्षमा अध्ययनरत लम्सालले आत्महत्या गरेको विश्वविद्यालयले जनाएको छ । दुर्व्यवहार गर्ने भारतीय विद्यार्थीमाथि कारबाहीको माग गरेपछि विश्वविद्यालय प्रशासनले सोमबार सबै नेपाली विद्यार्थीलाई कलेज छाड्न सूचना जारीसमेत गरेको छ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश जसरी पनि पारित हुने बताएका छन् । एमालेले सोमबार घोराहीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले देश विकासको यात्रा रोक्न कसैले नसक्ने धारणा व्यक्त गरेका हुन् । ‘देश बदल्ने कामको नेतृत्व गर्ने जिम्मेवारी मेरो हो । यसमा कसैले अवरोध गर्न सक्दैन,’ प्रधानमन्त्री ओलीले भने,’अध्यादेश कसरी पारित हुन्छ, हेर्दै जानुहोला । यो देशको विकास गर्न ल्याएको हो । कसैले रोक्न मिल्दैन ।’
त्यस्तै गएको माघमा अत्यधिक सवारी साधन दुर्घटना भएको समाचार पनि कान्तिपुरमा प्रकाशित भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार माघमा मात्रै चार हजार ५३५ सवारी साधन दुर्घटनामा परेका छन् । कुल दुई हजार ९०६ दुर्घटनामा यती धेरै सवारी साधन परेका हुन् । ती दुर्घटनामा १९९ जनाको मृत्यु भएको छ ।
त्यस्तै भारतको प्रयागराजको कुम्भमेलाबाट घर फर्केका तीन नेपाली नागरिकको सोमबार बिहान भारतमा भएको सडक दुर्घटनामा मृत्यु भएको छ । रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले रुपन्देहीको देवदह नगरपालिका-९ निवासी ४५ वर्षीय गणेश खनाल र उनकी श्रीमती ३५ वर्षीय दीपा खनाल तथा ४० वर्षीया गीता शर्माको मृत्यु भएको सूचना प्राप्त भएको बताए ।
त्यस्तै आजको आर्थिक समाचारमा नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि परेको आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनौट गरिएको विषय छ । प्राधिकरणको अध्यक्ष नियुक्तिका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले परेका १२ जना आवेदकमध्ये पाँच जनालाई ‘सर्टलिस्ट’गरेको हो ।
पहिलो चरणमा छनौटमा परेकाहरूमा कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा छन् । पहिलो चरणमा छानिएका उम्मेदवारहरूको अन्तर्वार्ताका लागि यही माघ १० (आउँदो शनिबार)मा डाकिएको छ ।
