भैरहवा — भारतको प्रयागराजमा भएको कुम्भमेलाबाट घर फर्केका तीन नेपाली नागरिकको सोमबार बिहान भारतमा भएको सडक दुर्घटनामा मृत्यु भएको छ ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले रुपन्देहीको देवदह नगरपालिका-९ निवासी ४५ वर्षीय गणेश खनाल र उनकी श्रीमती ३५ वर्षीय दीपा खनाल तथा ४० वर्षीया गीता शर्माको मृत्यु भएको सूचना प्राप्त भएको बताए । दुर्घटनामा पाँचजना घाइते भएका छन् । घाइते हुनेमा देवदह-९, भलुहीकी कोपिला पोखरेल, उनका छोरा शुभम, आविष्कार पराजुली र यमकलादेवी मगर छन् । दुर्घटनामा सवारी चालक भारतीय नागरिक रितेश दुबे पनि घाइते भएका छन् ।
एसपी राठौरका अनुसार उनीहरु प्रयागराज कुम्भमेलामा स्नान गरेर फर्किंदै थिए । सोमबार बिहान भारतको उत्तरप्रदेशस्थित बाराणासी–आजमगढ राजमार्गस्थित आजमगढ भन्ने स्थानमा सडकको डिभाइडरमा गाडी ठोक्किएर दुर्घटना भएको हो । ‘घटनाबारे हामीले भारतीय पक्षसँग समन्वय गरी थप जानकारी लिने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘घटनाको विस्तृत विवरण आउन बाँकी छ ।’
देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले पनि दुर्घटनामा ३ जनाको मृत्यु भएको खबर आएको बताए ।
