'राजनीति कहिल्यै पनि फोहोर र सफा भन्ने हुँदैन । यो खैरो (ग्रे) लाइनमा हुन्छ । सुधार गर्दा सफा हुन्छ, बिगार्दा फोहोर हुन्छ । राजनीति धमिलो पानी जस्तो हो । यसलाई जान्यो भने सफा पानी बनाउन सकिन्छ । जानेन भने झन् धमिलो हुन सक्छ ।'
काठमाडौँ — नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को गत साता सकिएको महाधिवेशनले बाबुराम भट्टराईको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । ९९ सदस्यीय केन्द्रीय समितिमा सबैभन्दा कान्छा केन्द्रीय सदस्य हुन् २३ वर्षीय अमित खनाल ।
भारतमा इन्जिनियरिङ अध्ययन सकेर गत वर्ष स्वदेश फर्केका उनी नेपालको राजनीति सही मार्गमा लैजान युवाहरू नै आउनुपर्ने बताउँछन् । खनाल किन राजनीतिमा आए त ? कान्तिपुरका गंगा बीसीसँगको कुराकानीमा उनले राजनीतिमा आउनुको कारण यसरी सविस्तार खुलाएका छन् :
म पहिले भारतको महाराष्ट्रको कोल्हापुरस्थित शिवाजी विश्वविद्यालयमा बी-टेक मेकाट्रोनिक्स सकेर फर्किएको हुँ । त्यहाँ रहँदा पनि विद्यार्थीका समस्या समाधानका लागि लागिपर्थेँ । तर एक्लै जति लागे पनि बल नपुग्ने रहेछ । त्यसपछि त्यहाँ पढ्दै गर्दा नयाँ शक्तिको भारतको विद्यार्थी संगठनमा आबद्ध भएँ । त्यहीँबाट मेरो राजनीतिक यात्रा सुरु भएको हो ।
नेकपा (नयाँ शक्ति)को गत साता भएको महाधिवेशनमा युवाको तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएँ । म नै सबैभन्दा कान्छो (२३ वर्ष) केन्द्रीय सदस्य हुँ । खुला युवा पदका लागि पाँच जनाको उम्मेदवारी परेको थियो । म पहिलेदेखि नै बाबुराम भट्टराईको शिक्षा र विचारसँग प्रभावित थिएँ ।
इन्जिनियरिङ पढेकाले म जागिर सजिलै पाउँथेँ । तर मैले नेपालमा युवाहरूले राम्रो पढ्न नपाएको, रोजगार नपाएर भौंताइरहेको झन् नजिनबाट महसुस गरेँ । भारतमा पढ्दादेखि नै नेपालको राजनीति नियालिइरहेको थिएँ । कांग्रेस सभपाति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले युवाका लागि राजनीति गरेको भन्नुहुन्थ्यो । तर युवाहरूको समस्या सम्बोधन भएको देखिएन । उहाँहरू प्रधानमनत्री भएको बेला युवाहरूको समस्या जहाँको त्यहीँ रहेको देखेँ । भारतमा पढ्दै गरेको बेला मैले नेपाली युवाहरू महाराष्ट्रका होटल, चाउमिन सेन्टरमा काम गरिहेको देख्थेँ, अनि मेरो मनमा प्रश्नै प्रश्न उठ्थे । त्यसपछि ई युवाहरू राजनीतिमा आउनुपर्छ भन्ने लागेर सक्रिय भएको हुँ ।
नेपालमा पार्टीहरूको प्रमुख पदमा युवा खासै देखिनँ । विद्यार्थी संगठनमा सीमित गर्ने काम भयो । पुराना नेताहरूले युवाहरूको समस्या शिक्षा, रोजगार कसैले नबुझेको देखियो । किन युवाहरू विदेश गइरहेका रहेछन् ? उत्तर किन नखोज्ने ? भनेर राजनीतिमा लागेको हुँ । युवाहरू राजनीतिमा नलागेसम्म फोहोर बढारिँदैन ।
बाबुराम भट्टराईले नयाँ शक्तिमार्फत राजनीतिमा लाग्न युवालाई बाटो खोल्दिनुभयो । विधानअनुसार केन्द्रीय सदस्यका लागि सक्षम रहेछु । अहिले म राजनीतिमा लागिनँ भने कहिले लाग्ने त ? जति सेवा राजनीतिबाट हुन्छ, अरु पेशाबाट हुन सक्दैन भनेर राजनीतिमा समातेको हो । खासगरी युवाको सपना पूरा गर्न मजस्तै युवाहरू पनि राजनीतिमा आउन् भन्ने हो । अहिले नेपालका प्रमुख नेताहरू पनि युवा अवस्थामै राजनीतिमा लागेका थिए । उनीहरूले ठूल्ठूला आन्दोलन, संघर्ष गरेका हुन् । अहिले आएर युवालाई नेतृत्वमा आउन किन दिएका छैनन् ? यो प्रश्न गहिरो छ ।
हामीले राजनीतिलाई पेसा बनाउनु हुँदैन सेवा गर्ने थलो बनाउनुपर्छ भनेर स्टार्टअप कम्पनी खोलेका छौँ । हामीले महाभी आईटी कम्पनी सुरु गरेका छौँ । हाम्रा जति पनि नेताले राजनीति नै सबै कुरा ठान्नुहुन्छ । राजनीतिलाई मुख्य पेशा बनाउनु भएको छ । सरकारमा गएपछि कमाइ खाने पेसा अरु भएन । राजनीतिमा भ्रष्टाचार हुनुको मुख्य कारण राजनीतिनै मुख्य कमाउने पेसा बनाउनु हो । राजनीति गर्नेहरुले सँगैसँगै आय स्रोतको अर्को पेसा बनाउनुपर्छ । राजनीति कमाइखाने माध्यम हुनुहुँदैन । अहिलेका धेरै नेताका लागि गरिखाने भाँडो राजनीति भयो । वैकल्पिक राजनीति गरेकाले हामी स्टार्टअप कम्पनी सुरु गरेका हौँ ।
नेपालको राजनीतिमा विसंगति धेरै छन् । त्यसलाई चिर्न युवाहरु आउनुपर्छ । युवा उमेरले मात्र होइन, विचारमा पनि हुनुपर्छ । युवा विचारमा नयाँ हुनुपर्यो । विचार सक्षम छन् कि छैनन् ? मुलुकलाई सही गति दिन सक्ने हुनुपर्छ । देउवा, ओली र प्रचण्ड मेरो हजुरबुवाको उमेरका हुनुहुन्छ । प्रमुख पार्टीहरूमा बुवा उमेरका नेताले खास मौका पाएनन् । त्यहाँ वैचारिक खाडल छ । राजनीतिमा पुस्तान्तरण हुनु भनेको राम्रो होइन । अब नेपालको राजनीति हजुरबुवा पुस्ताबाट नाति पुस्तामा आउँदैछन् । हजुरबुवा पुस्ताको परम्परागत राजनीतिले हामीले दुःख पाइरहेका छौँ । हाम्रा नेताहरूले युवा पुस्ताबाट सल्लाह लिन किन नसकेको हो ? यदि लिएको हो भने नेपालको राजनीति यति धेरै किन बिग्रको हो ? यसको उत्तर खोज्न जरुरी छ ।
पुराना नेताहरूले युवा पुस्ताको चाहना बुझेको पाइँदैन । उनीहरू परम्परागरत बाटोबाट अघि जान खोजेका छन् । युवाहरूले कसरी सोचिरहेका छन् ? पाका नेताहरूले एक पटक आफू युवा हुँदा कसरी परिवर्तन गर्न सकिन्छ भनेर हेर्नुपर्यो ।
राजनीति कहिले पनि फोहोर र सफा भन्ने हुँदैन । यो खैरो (ग्रे) लाइनमा हुन्छ । सुधार गर्दा सफा हुन्छ, बिगार्दा फोहोर हुन्छ । राजनीति धमिलो पानी जस्तो हो । यसलाई जान्यो भने सफा पानी बनाउन सकिन्छ । जानेन भने झन् धमिलो हुन सक्छ ।
नेपालमा वैज्ञानिक विचार कहाँ छ ? देशको आर्थिक अवस्था कसरी सुधार गर्ने ? मुख्य बहस हुनुपर्छ । युवा नेताहरुमा बहस हुनजरुरी छ । अब मुख्य मुद्दा नै आर्थिक क्रान्ति हो । कसरी देशलाई आर्थिक समृद्धिको बाटोमा लान सकिन्छ भन्ने विषय पार्टीहरूमा छलफल हुनुपर्छ ।
