ओडिसाको विश्वविद्यालयले नेपाली विद्यार्थी निकालेको घटना सरकारले बुझिरहेको छ : प्रधानमन्त्री ओली

फाल्गुन ५, २०८१

कान्तिपुर संवाददाता

The government is understanding the incident of Odisha University expelling Nepali students: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ओडिसाको एक विश्वविद्यालयले नेपाली विद्यार्थीलाई निकालेकोबारे बुझ्ने काम भइरहेको बताएका छन् । ओडिसाको भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एक जना नेपाली छात्राको मृत्युपछि त्यहाँ रहेका सबै नेपाली विद्यार्थीलाई तत्काल घर जान भनिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कूटनीतिक रूपमा घटनाबारे बुझिरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।'

बी-टेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालले भारतीय विद्यार्थीले लगातार दुर्व्यवहार गरेपछि आत्महत्या गरेको केआईआईटीले जनाएको छ ।

भारतीय विद्यार्थी आद्विक श्रीवास्तवले गर्दै आएको लगातारको दुर्व्यवहार सहन नसकेपछि लम्सालले आत्महत्या गरेकी हुन् । दुर्व्यवहार गर्ने भारतीय विद्यार्थीमाथि कारबाहीको माग गरेपछि कलेज प्रशासनले सोमबार सबै नेपाली विद्यार्थीलाई कलेज छाड्न सूचना जारी गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully