सभामुख घिमिरेले रास्वपा सांसद श्रेष्ठलाई भारतमा नेपाली विद्यार्थीको अवस्थाबारे बोल्न दिएनन्

फाल्गुन ५, २०८१

कान्तिपुर संवाददाता

Speaker Ghimire did not allow RSVP MP Shrestha to speak about the situation of Nepali students in India

काठमाडौँ — प्रतिनिधिसभाको बैठकमा भारतको एक विश्वविद्यालयबाट निष्कासन गरिएका विद्यार्थीबारे बोल्न खोज्ने सासंदलाई सभामुख देवराज घिमिरेले समय दिएनन् । संसदको सोमबारको बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले आकस्मिक समयमा भारतमा रहेका नेपाली विद्यार्थीको अवस्थाबारे विषय राख्न खोज्दा सभामुखले समय नदिएका हुन् ।

संसदको बैठकमा उक्त विषयमा आफ्ना धारणा राख्न र सरकारबाट सूचना माग गर्नुपर्ने भएकाले समय मागेको सांसद श्रेष्ठले बताएकी थिइन् । आफूले पहिल्यै समय माग गर्दा पनि सभामुखले किन समय नदिएको हो ? भनेर उनले सोधेकी थिइन् ।

सभामुख घिमिरेले भने समय नदिएकाले बोल्न नपाइने बताएका थिए । 'मैले बोल्न समय दिएको छैन । समय पाएमा आफ्ना कुरा राख्ने हो, नपाएमा नियमअनुसार बस्ने हो,' घिमिरेले भनेका थिए ।

त्यसपछि सांसद श्रेष्ठले विषय गम्भीर भएको र परराष्ट्र मन्त्रालयसँग सोध्नुपर्ने भएकाले आकस्मिक समय दिन आग्रह गरेकी थिइन । तर, सभामुखले उक्त आग्रह स्वीकार गरेनन् र समय नदिने अडानमा रहे ।

श्रेष्ठले भारतको भुवनेश्वरमा रहेको केआईआईटी विश्वविद्यालयले नेपाली विद्यार्थीलाई निष्कासन गरेको विषय राख्न खोजेकी थिइन् । ती विद्यार्थीलाई तत्काल सरकारले सहयोग गर्नुपर्ने माग राख्नपर्ने सांसद श्रेष्ठको भनाइ थियो ।

कान्तिपुर

Link copied successfully