सिरहा बलात्कार घटना : किशोरीको मृत्युपछि परिवार घरबाटै विस्थापित, पीडकका आफन्तले दिएका थिए धम्की

आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी परेका एक युवक फरार, अन्य आरोपितले पनि गाउँ छाडे

फाल्गुन ५, २०८१

विनय आजाद

Siraha rape incident: After the death of the girl, the family was displaced from the house, the relatives of the victim threatened

सिरहा — सिरहा सदरमुकामबाट बरियारपट्टी हुँदै अगाडि बढेपछि आउँछ, भगवतीपुर चोक । नवराजपुर गाउँपालिका–१ मा पर्ने यो चोकदेखि उत्तरतिर अवस्थित भगवतीपुर गाउँको अन्तिममा छ, मुसहर बस्ती । यो सिंगो मुसहर बस्तीमा अहिले सन्नाटा छ । यहाँभन्दा करिब एक सय मिटर पर एकान्तमा रहेको एउटा झुपडी त गएको बिहीबारदेखि नै सुनसान छ । यहाँ अहिले कोही बस्दैनन् ।

यो त्यही झुपडी हो, जहाँ गएको ३० गते बेलुकी ७ बजे झुन्डिएको अवस्थामा भेटिएकी थिइन्, १७ वर्षीया रिंकुकुमारी सदा । त्यसयता सदा परिवारका सबै सदस्य त्रासका कारण घरबाटै विस्थापित भएका छन् । रिंकु गाउँकै तीन युवकको अपहरणपछि बलात्कारमा परेकी  थिइन् । त्यसपश्चात् बसेको पञ्चायतीपछि उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

रिंकुका बुवा बिजुल, आमा सीतादेवी, दाइ वीरेन्द्र र भाइ भुला नजिकै रामअशिष सदाका घरमा बसिरहेका छन् । 

‘घटनापछि घरमा अनेक थरी नयाँनयाँ मान्छे आइरहेका छन्, कोही धम्की दिन आउँछन्, कोही के गर्न आउँछन्, एकान्तमा घर छ, को आएर कतिबेला के गरिदिने हो ठेगान छैन, हामी निकै डराएका छौं,’ रिंकुका बुवा बिजुलले भने, ‘घरमा बस्न सक्ने अवस्था रहेन । जेठो दाइले हामीलाई शरण दिनुभएको छ ।’ 

Siraha rape incident: After the death of the girl, the family was displaced from the house, the relatives of the victim threatened

मृतक किशोरीकी आमा सीता त घटना भएदेखि घरीघरी मुर्छा पर्ने गर्छिन् । तर, पैसा नभएर उनलाइ परिवारले  अस्पताल लान सकेको छैन। ‘अस्पताल लान पाए हुन्थ्यो तर पैसा नभएपछि के गर्ने ?,' आफन्त कागतीदेवी सदाले भनिन्, ‘घरका एकजना त चौबिसै घन्टा उनको रेखदेखमा खटिनुपर्छ ।’

घटना मिलाउन पञ्चायती

माघ २७ गते राति करिब ९ बजेतिरको कुरा हो, रिंकु शौच गर्न खेततिर निस्किएकी थिइन् । तर, उनी लामो समयसम्म पनि फर्केर नआएपछि परिवारले खोजबिन सुरु गरे । रातभर खोज्दा पनि नभेटिएकी रिंकु भोलिपल्ट बिहान ३ बजे मात्रै रुँदै घर आइपुगेकी थिइन् ।

आमा सीताका अनुसार रिंकु आएपछि उनको शरीरमा माटो लागेको थियो । सुरुमा त उनले केही बताउन नै चाहिनन् । तर, विस्तारै उनले आफ्नो पेट दुखिरहेको र आफूलाई गाउँकै रूपेश मण्डलसहित चन्दन साह र रामविनय मण्डलले जबरजस्ती करणी गरेको बताइन् ।

Siraha rape incident: After the death of the girl, the family was displaced from the house, the relatives of the victim threatened

सिरहाको भगवतीपुरमा बलात्कार घटनामा मिलापत्रका लागि बसेको पञ्चायती ।

शौच गरिरहेकै बेला रुपेश आएर आफूलाई शारीरिक सम्पर्क राख्न प्रस्ताव गरेको र नमान्दा उनीसहित चन्दन र रामविनयले मुख थुनेर अपहरण गरी भित्र खेततिर लगेको रिंकुले सुनाएको आमा बताउँछिन् । 'लुगा च्यात्दै हातखुट्टा समातेर पालैपालो करणी गरेका रहेछन्,' उनले भनिन् ।

गाउँमा हल्लाखल्ला भएपछि केही व्यक्तिले पीडित परिवारलाई यो घटनालाई धेरै तन्काउन नहुने र गाउँमै मिलाउनुपर्ने भन्दै २९ गते पञ्चायती बोलाए । पञ्चायतीमा पनि किशोरीले आफूमाथि भएको घटना सुनाइन् । पञ्चायतीमा स्थानीय नथुनी साह, रामपुकार मण्डल, रामकृपाल मण्डल, रामपृत साहलगायत थिए । उनीहरुसहित करिब ३० जना सहभागी पञ्चायतीले घटनाका मुख्य आरोपित रुपेशलाई डेढ लाख रुपैयाँ जरिवाना सुनायो । उनका आफन्तले कम गर्न भनेपछि पञ्चहरुले एक लाख ४० हजारमा टुंगो लगाए । तर, पीडित परिवारले असहमति जनायो ।

बिहान ३० गते आरोपित रुपेशका आफन्त रामपुकार मण्डल मृतककी काकी कागतीदेवीलाई लिएर किशोरीको घर पुगे र जसरी पनि पञ्चायती मान्न धम्की दिए । कागतीदेवीका अनुसार मण्डलले उक्त पैसाबाट ४० हजार आफूले लिएर ५० हजार पञ्चलाई, २५ हजार मुसहरका अगुवालाई र २५ हजार पीडित परिवारले राख्ने बताएका थिए । 'नमाने जे पनि हुने भनेर धम्की दिए,' उनले भनिन् ।

Siraha rape incident: After the death of the girl, the family was displaced from the house, the relatives of the victim threatened

सोही दिन फेरि गाउँमा पञ्चायती बस्यो । आरोपित रुपेशका परिवारले घटनामा तीन जना संलग्न रहेकाले सबैले भाग लगाएर जरिवाना रकम तिर्नुपर्ने भनेपछि आरोपितका आफन्तबीच नै विवाद भयो । पीडित परिवार पञ्चायतीबाट निस्केर घर आए ।

अपराह्नतिर छोरीलाई घरमै छाडेर आफू टोलतिर निस्किएको र फर्केर आएपछि ७ बजे बेलुकी घरमै झुन्डिएको अवस्थामा देखेको सीताले बताइन् । 'छोरी झुन्डिरहेको बेला घरको चुकुल बाहिरबाट लागेको थियो,' उनले भनिन्, 'कि त मेरो छोरीलाई कसैले झुन्ड्याइदियो वा पीडक पक्षको धम्कीका कारण झुन्डिइन् ।’

आत्महत्या दुरुत्साहनमा एकविरुद्ध मात्र मुद्दा

किशोरीको मृत्युपछि भोलिपल्ट बिहीबार मुसहरका अगुवासहित आफन्तहरु जाहेरी लिएर इलाका प्रहरी कार्यालय, लहान पुगेका थिए । उनीहरुले आरोपित रूपेश, चन्दन र रामविनय तथा धम्की दिने रामपुकार मण्डलविरुद्ध जबरजस्ती करणी तथा आत्महत्या दुरुत्साहनको जाहेरी तयार गरे ।

'तर, मुद्दा फाँटका प्रहरीले जाहेरी लिन मानेनन्,' मुसहर समुदायकी अभियन्ता संगीतादेवी सदाले भनिन्, 'प्रहरीले जाहेरी बदल्न र एक जनाको नाम मात्रै उल्लेख गर्न भने ।' त्यसपछि उनीहरुले अपहरण तथा बलात्कारका आरोपित रुपेश र धम्की दिने रामपुकारविरुद्ध जाहेरी दिए । त्यसपछि पनि जाहेरी दर्ता भएन । जाहेरी लेख्ने ठाउँमा प्रहरी आएर आफ्नै हिसाबले लेखाएको, मुद्दा शीर्षक बदलेर आत्महत्या दुरुत्साहन मात्रै राखेको र प्रतिवादीमा पनि एकजना रुपेशको मात्र नाम राखेको संगीताको भनाइ छ । ‘घटना हेर्दा चारै जनाविरुद्ध मुद्दा चल्नुपर्ने हो,’ उनले गुनासो गरिन्, ‘तर, प्रहरीले पीडितको भन्दा पीडकको लागि काम गरेको देखियो ।’

जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवान भने यो कुरा अस्वीकार गर्छन् । पीडित परिवारले नै एकजनाविरुद्ध आत्महत्या दुरुत्साहनको मात्रै जाहेरी दिएको र त्यसै हिसाबले आफूहरु अगाडि बढेको उनको दाबी छ । ‘हामीले कसैलाई जाहेरीमा यो लेख्नुपर्छ, त्यो लेख्नुपर्छ भनेर भन्दैनौं, जे आउँछ त्यसलाई दर्ता गरी अनुसन्धान अघि बढाउने हो,’ डीएसपी पासवान भन्छन्, ‘यो घटनामा बलात्कार र पञ्चायतीको कुरा आएपछि झन् हामीले धरानमा पोस्टमार्टम गराएका छौं, यसको सूक्ष्म अनुसन्धान हुँदैछ, थप कुरा खुल्यो भने पीडित परिवारसँग पूरक जाहेरी लिएर अर्को मुद्दामा जान्छौं ।’

आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी परेका रुपेशविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार छन् । अन्य आरोपितले पनि किशोरीको मृत्युपछि गाउँ छाडेका छन् । 

अहिले पीडित परिवारलाई सहयोग गरिरहेका राष्ट्रिय मुसहर संघका प्रवक्ता सुनिल सदाले यस्तो बेला पीडितलाई राज्यले संरक्षण गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको बताए । पीडित परिवारको सुरक्षा, घटनामा संलग्न दोषी तथा पञ्चायती बस्नेलाई कारबाहीका लागि उनले माग गरे ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully