गत चुनावमा एमाले महासचिवलाई हराएकी शर्मा भन्छिन् : प्रधानमन्त्री ओलीले दंगाली मतदाताको अपमान गरे

सोमबार प्रधानमन्त्री ओलीले शंकर पोखरेललाई हराएर दंगाली जनताले गल्ती गरे भनेका थिए

फाल्गुन ५, २०८१

कान्तिपुर संवाददाता

Sharma, who defeated the UML general secretary in the last election, says: Prime Minister Oli insulted the riotous voters

काठमाडौँ — पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री  दाङ पुगेर मतदाताको अपमान गरेको बताएकी छिन् । एमालेले  दाङको घोराहीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनमा शंकर पोखरेललाई हराएर दंगाली जनताले गल्ती गरे भनेका थिए ।

प्रधानमन्त्री ओलीले पोखरेले चुनाव जित्दा दाङको  विकास गर्न धेरै सहज हुने थियो भन्ने कुरा गलत  भएको शर्माको टिप्पणी  छ । 

आम मतदाताले कुन दल र कुन उम्मेदवारलाई भोट हाल्ने भन्ने कुरा मतदाताको अधिकार भएको प्रतिक्रिया दिँदै शर्माले शंकर पोखरेललाई  दंगाली जनताले हराएर  गल्ती गरे भन्नु सिंगो दंगाली जनताप्रति नै अपमान गरेको भन्दै खेद प्रकट गरिन् । २०७४  मा एमालेका पोखरेलले  नेकपा माओवादी केन्द्रकै सहारामा चुनाव  जितेको प्रधानमन्त्री ओलीले भुल्न नहुने उनको भनाइ छ । 

प्रतिनिधिसभा दाङ क्षेत्र नं.२ बाट निर्वाचित पूर्वमन्त्री शर्माले  शंकर पोखरेलले माओवादी को सहयोगबिना  चुनाव जित्न नसक्ने प्रतिक्रिया दिएकी छिन् । 

२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा दाङ २ बाट एमाले महासचिव शंकर पोखरेल पराजित भएका थिए । उनलाई माओवादीकी रेखा शर्माले हराएकी थिइन् । कांग्रेससँगको गठबन्धनबाट उम्मेदवार बनेकी शर्माले पोखरेललाई १९३ मतले हराएकी थिइन् । शर्माले २६ हजार ८ सय ८  मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८७ मत प्राप्त गरेका थिए  ।  दाङ-२ मा तेस्रो स्थानमा रहेका रास्वपा उम्मेदवार विशाल अधिकारीले १५ हजार ८ सय ६१ मत ल्याएका थिए ।

सम्बन्धित समाचार

कान्तिपुर संवाददाता

Link copied successfully