काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरु नाङ्गिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा गैरसरकारी संस्थासम्बन्धी कांग्रेसको नीति विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सभापती देउवाले हिमालको हिउँ पग्लिएर हिमाल नाङ्गो भएकोप्रति गुनासो गर्दै हिमालहरु कसरी जोगाउने भन्नेबारेमा गैरसकारी संस्थाहरुले नीतिगत पैरवीदेखि हिमाल जोगाउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
उनले जलवायु परिवर्तनको समस्या नेपालमा दिनप्रतिदित बढ्दै गएको बताउँदै भने, 'क्लाइमेट चेन्जले धेरै समस्या पारेको छ । गैरसकारी संस्थाहरुले यस सम्बन्धी धेरै ध्यान दिने विश्वास लिएको छु ।'
उनले नेपालको सामाजिक विकासमा गैरसकारी संस्थाहरुले खेलेको भुमिका प्रशंसनीय रहेको बताउँदै मानव अधिकार, सुशासन, समावेशिता लगायतका विषयमा गैरसकारी संस्थाहरुले प्रभावकारी काम गर्दै आएको बताए ।
