राष्ट्रिय सभाको विशेष अधिकार हनन् भएको भन्दै शाहीलाई कारबाही गर्न माग
काठमाडौँ — राष्ट्रिय सभाको काम र सदस्यको उमेरबारे राप्रपा सांसद ज्ञानबहादुर शाहीले दिएको अभिव्यक्तिप्रति राष्ट्रिय सभाको बैठकले खेद प्रकट गरेको छ । राष्ट्रिय सभाबाट पारित मिडिया काउन्सिल विधेयकलगायत विषयमा शाहीको फेसबुक स्टाटसप्रति आइतबारको बैठकले खेद व्यक्त गरेको हो ।
‘कसैले पनि लाइक, सेयर र सरकारले गरेका गलत गतिविधिको कमेन्ट गर्न नपाउने मिडिया काउन्सिल विधेयक पढ्दै नपढी हुबहु पास गरे’ शाहीले राष्ट्रिय सभालाई लक्षित गर्दै फेसबुकमा लेखेका छन् । उनले स्टाटसमार्फत राष्ट्रिय
सभाका सांसदको उमेरबारे पनि टिप्पणी गरेका थिए । तर मिडिया काउन्सिल विधेयकमा कसैले सामाजिक सञ्जालमा लेखे, लाइक वा कमेन्ट गरेमा कानुनी कारबाही हुने व्यवस्था गरिएको छैन । त्यस्तो व्यवस्था सामाजिक सञ्जाल विधेयकमा हो । उक्त विधेयक राष्ट्रिय सभामा दर्ता भएको मात्रै छ ।
प्रतिनिधिसभामा राप्रपाका प्रमुख सचेतकसमेत रहेका शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभा बैठकमा सांसदले आपत्ति जनाएका थिए । माओवादी सांसद गंगाकुमारी बेल्वासेले सभाको विशेषाधिकार हननमा शाहीलाई कारबाही माग गरेकी थिइन् । कांग्रेस सांसद नारायणदत्त मिश्रले अभिव्यक्ति दिँदा ख्याल राख्न आग्रह गरेका थिए । ‘मिडिया काउन्सिल विधेयकमाथि विधायन व्यवस्थापन समितिमा विभिन्न कोणबाट छलफल भएको छ,’ उनले भनेका थिए ।
एकीकृत समाजवादीकी सांसद जयन्ती राईले आपत्ति जनाएकी थिइन् । ‘प्रतिनिधिसभा सांसद शाहीको अभिव्यक्तिले राष्ट्रिय सभाको विशेष अधिकार हनन भएको छ, उक्त भनाइप्रति खेद प्रकट गर्छु, सभाले खेद प्रस्ताव पारित गर्नुपर्छ,’ उनको माग थियो । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शाहीले व्यक्त गरेको अभिव्यक्तिमा गम्भीर ध्यानाकर्षण रहेको बताएका थिए ।
मिडिया काउन्सिल विधेयकमा राष्ट्रिय सभाका २६ सांसदले विभिन्न दफामा ७८ वटा संशोधन दर्ता गरी विधायन व्यवस्थापन समितिमा सरोकारवाला पक्ष, सम्बन्धित मन्त्रालय र संशोधनकर्तासँग छलफल गरेको अध्यक्ष दाहालले बताए । समितिका १४ बैठकमा दफावार छलफल गरी प्रतिवेदन तयार पारेको र उक्त समितिको प्रतिवेदनसहित विधेयक पारित भएको जानकारी उनले दिएका थिए ।
‘यसरी पारित भएको विधेयकको सम्बन्धमा शाहीले यथार्थभन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाही र सभाका सदस्यको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढंगले व्यक्त गर्नुभएको देखिएकोले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्छ,’ अध्यक्ष दाहालले भने, ‘आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन शाहीलाई यो सभा निर्देशनसमेत दिन्छ ।’
