मुक्त कमलरीले बुझाए प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

फाल्गुन ५, २०८१

कान्तिपुर संवाददाता

Mukt Kamalari submitted a memorandum to Prime Minister Oli

दाङ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुक्त कमलरीले ज्ञापनपत्र बुझाएका छन् । एमाले सभालाई सम्बोधन गर्न ओली सोमबार घोराही आएको अवसरमा मुक्त कमलरी विकास मञ्चले विभिन्न माग राखी ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा मुक्त कमलरीलाई प्राविधिक शिक्षा नि:शुल्क हुनुपर्ने, परिचयपत्र वितरण गर्नुपर्ने र मुक्त कमलरी पुन:स्थापना आयोग गठन गरी उचित पुन:स्थापना गर्नुपर्ने माग राखिएका छन् ।

यसैगरी सरकार र मुक्त कमलरीबीच २०७० सालमा भएको १० बुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने, वेपत्ता र कुमारी आमा बनेका मुक्त कमलरी र उनीहरूका परिवारलाई न्याय र राहत दिनुपर्ने माग छन् ।

लामो समयदेखि पश्चिम तराईमा दासताका रूपमा रहेको कमलरी प्रथा अन्त्यका लागि सरकारले २०७० असार १३ गते कमलरी मुक्तीको घोषणा गरेको थियो । घोषणासँगै कमलरी मुक्ति भए पनि पुन:स्थापनाका धेरै काम हुन नसकेकाले सरकारको ध्यानाकर्षण गराउन ज्ञापनपत्र पेस गरेको मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले बताइन् ।

कान्तिपुर

Link copied successfully