हलेसी बजारको आगलागीमा सात करोड बढीको क्षति

फाल्गुन ५, २०८१

डम्बरसिं राई

Loss of more than 7 crores in Halesi Bazar fire

खोटाङ — आइतबार बेलुकी हलेसी बजारमा भएको आगलागीमा सात करोड बढीको क्षति भएको छ । आगलागीमा घर, होटल, पसललगायत गरी सात करोड ५० लाख बराबरको क्षति भएको हो ।

खोटाङका निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईका अनुसार पदमशेर राईको काठ र जस्ताले बनेको तीन तले घर, पहिलो तलामा राखिएको हार्डवेयर पसल, दोस्रो तलामा भएको निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालय जलेर नष्ट हुँदा करिब चार करोड रुपैयाँ बराबरको क्षति भएको छ । 

त्यस्तै ऐराख राईको न्यू–कल्याण होटल, चार तले पक्की घर र घरको पछाडिपट्टी दुई तले काठको घर गरी दुई करोड ५० लाख बराबरको क्षति भएको छ । प्रकाशचन्द्र गिरी हलेसी दर्शन होटलको फलामको ट्रष्टले बनेको एक तले भान्छा घर र दुई तले पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख बराबरको क्षति भएको छ । 

त्यसैगरी भरणशेर राईको पारुहाङ होटल, चार तले पक्की भवनको दोस्रो र तेस्रो तलामा आंशिक क्षति हुँदा अन्दाजी ५० लाख बराबरको भएको छ । प्रारम्भिक विवरणअनुसार सबैगरी करिब सात करोड बराबरको क्षति भएको निमित्त प्रजिअ राईले बताए । 

आइतबार साँझ सात बजेतिर स्थानीय पदमशेर राईको ग्यास पसलबाट सुरु भएको आगो साढे तीन घण्टापछि साढे १० बजेतिर नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा रणभीम गण मुढे ब्यारेक, सशस्त्र प्रहरी बल ७ नम्बर हलेसी गुल्म, नेपाल प्रहरी, जिल्ला प्रशासन, स्थानीय तह, स्थानीय लगायत गरी करिब पााच सय जना खटिएका थिए ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully