अर्थमन्त्री पौडेल डिस्चार्ज, मेयर आचार्य केही दिन अस्पतालमै बस्ने

फाल्गुन ५, २०८१

विवेक पोख्रेल

Finance Minister Poudel discharged, Mayor Acharya will stay in the hospital for a few days

काठमाडौँ — ‘पोखरा भ्रमण वर्ष’ घोषणा कार्यक्रम उद्घाटनमा शनिबार बेलुन पड्किँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको भने केही समय अस्पतालमानै उपचार हुने कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जरी विभागका प्रमुख तथा उपचार टोलीका सदस्य डा. विशाल कार्कीले बताए ।

डा. कार्कीका अनुसार घाउ गहिरो हुन सक्ने जोखिम रहेकोले मन्त्रीलाई ४८ घण्टा निगरानीमा राखेर अपचार पछि डिर्स्चाज गरेको बताए । कार्कीले भने, ‘घाउ गहिरो हुन्छ वा हुँदैन, श्वासनली र फोक्सोमा समस्या आउँछ आउँदैन भन्नेबारे अस्पतालमा ४८ घण्टा राखेर निगरानी गर्नु पर्ने थियो । अवस्था सामान्य देखिएपछि डिस्चार्ज गरेका हौँ । मन्त्रीज्यूलाई केही दिन नियमित ड्रेसिङ भने गर्नु पर्ने हुन्छ । जुन घरबाट नै सम्भव छ ।’

आचार्य भने आफैं बस्न चाहेकाले केही समय अस्पतालनै राखिने कार्कीले बताए । 'मेयरज्यूले मुटुसम्बन्धी पहिलेदेखि नै औषधि खानुहुँदो रहेछ। उहाँले केही समय बस्ने इच्छा राख्नु भयो,' कार्कीले भने।  

पोखरा भ्रमण वर्षको कार्यक्रम उद्घाटनका क्रममा शनिबार बेलुनको झुप्पा पड्किँदा मेयर आचार्यको गालाको धेरै भाग र देब्रे हातमा गहिरो जलन भएको थियो भने मन्त्री पौडेलको दुवै हातमा र अनुहारमा जलन भएको थियो । उनीहरूलाई पोखरामै प्रारम्भिक उपचार गरेर सोही दिन हेलिकोप्टरबाट काठमाडौंस्थित कीर्तिपुर अस्पताल ल्याइएको थियो ।

आयोजकले बेलुनमा हिलियम ग्यास भर्नुपर्नेमा हाइड्रोजन भरिएकोले यो दुर्घटना भएको बताएको छ। उद्‍घाटनमा मन्त्री आफैंले बालेको झिर्झिरे क्यान्डलको झिल्काले भेटेर बेलुन पड्किएको थियो । 

घटनाको सत्यतथ्य जाँचबुझ गर्न गृह मन्त्रालयले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा आइतबार ८ सदस्यीय छानबिन समिति पनि गठन गरिसकेको छ। पोखराको घटनापछि सार्वजनिक कार्यक्रमको सुरक्षा मापदण्डका विषयमा पनि प्रश्न उठेका छन् ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully