नेपाली विद्यार्थीलाई छात्रावासमै बस्ने व्यवस्था मिलाउन ओडिसाको कालिंगा इन्स्टिच्युटलाई दूतावासको अनुरोध

फाल्गुन ५, २०८१

कान्तिपुर संवाददाता

Embassy request to Kalinga Institute in Odisha to arrange hostel accommodation for Nepalese students

काठमाडौँ — भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको छ । 

दूतावासले सो इन्स्टिच्युटमा विकसित घटनाक्रमका सम्बन्धमा उक्त शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालिएको सूचनाप्राप्त हुनासाथ संस्थाका रजिस्ट्रारलगायत प्रतिनिधिसँग छलफल गर्दै सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको दूतावासले जनाएको छ ।

उक्त संस्थामा रहेका नेपाली विद्यार्थीहरूको कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउनसमेत दूतावासले अनुरोध गरेको छ । 'यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीलाई छात्रावासमा बस्ने व्यवस्था मिलाइ कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी गराएको छ,' दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै, उक्त शैक्षिक संस्थाकी विद्यार्थी प्रकृति लम्सालको मृत्यु सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धानको विषयलाई संस्थाले गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको छ । 'यस घटनाका सम्बन्धमा राजदूतावासले नेपाली विद्यार्थीलगायत भारतको केन्द्रीय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायसँग निरन्तर सम्पर्क गरिरहेको र उक्त निकायबाट आवश्यक सहयोग एवं समन्वय भइरहेको छ । प्रभावित नेपाली विद्यार्थी एवं अभिभावकले केही समस्या भएमा राजदूतावाससँग सम्पर्क राख्न सक्नुहुनेछ,' विज्ञप्तिमा भनिएको छ ।

कान्तिपुर

Link copied successfully