काठमाडौँ — सांसदले के सोधे ? प्रधानमन्त्रीले के उत्तर दिए ?, नेपाल विद्युत् प्राधिकरणलाई ‘डबल ए प्लस’देखि ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छानबिन गर्न समिति गठनसम्मका समाचार आज चर्चामा रहे ।
000
प्रधानमन्त्री केपी शर्माको वाकपटुता आज पनि संसद्मा झल्कियो । एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले प्रधानमन्त्री ओलीलाई सोधे, तपाईंले तामझामका साथ शिलान्यास गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडक बजेटको अभावमा अलपत्र र अधुरा छन् । पालिका अस्पतालहरू कतिका जगमात्र बसेका छन्, कतिका पिलरमात्र अस्थिपञ्जरजस्तै उभिएका छन् ।
000
नेपाल विद्युत् प्राधिकरणले यस वर्ष पनि ‘डबल ए (एए) प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । योसँगै प्राधिकरणले लगातार तेस्रोपटक डबल ए प्लस रेटिङ पाएको हो ।
000
भारतको राजधानी नयाँ दिल्लीस्थित एक रेलवे स्टेसनमा शनिबार राति भएको भागदौडमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । विश्वको सबैभन्दा ठूलो धार्मिक जमघट महाकुम्भ मेलामा जान रेल चढ्न भेला भएका धार्मिक पर्यटकबीच रेल चढ्ने क्रममा भागदौड भएको हो । उत्तरी शहर प्रयागराजमा हुने कुम्भ मेलाले प्रत्येक १२ वर्षमा दशौं लाख हिन्दू धर्मावलम्बीहरूलाई आकर्षित गर्दछ । फेब्रुअरी २६ मा समाप्त हुने उक्त कार्यक्रमका लागि रेल चढ्नका लागि भीडले संघर्ष गरिरहेका बेला नयाँ दिल्लीको रेल स्टेसनमा भागदौड भएको हो ।
000
पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छानबिन गर्न आठ सदस्यीय समिति गठन गरिएको छ । आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन भएको हो । समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला काार्यालयका उपअनुसन्धान निर्देशक सुरेशकुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्य-सचिव रहेका छन् ।
000
परराष्ट्रमन्त्री आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आइतबार ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेका छन् । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरुबीच आज साइडलाइन भेट भएको हो ।
