घरजग्गा कारोबारबाट माघ महिनामा तीन अर्ब ८७ करोड राजस्व संकलन 

फाल्गुन ४, २०८१

रासस

Three billion 87 million revenue collection in the month of January from real estate business

काठमाडौँ — देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व संकलनमा गिरावट आएको छ ।

घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा तीन अर्ब ८७ करोड २४ लाख ८१ हजार छ सय ४७ रुपैयाँ बराबर राजस्व संकलन भएको छ । 

पुसमा चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ रुपैयाँ राजस्व संकलन भएको थियो । विभागका अनुसार गत मंसिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ रुपैयाँ राजस्व प्राप्त भएको थियो । 

चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार राजस्व संकलनमा सामान्य वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलना चालु आवको सात महिनामा राजस्व संकलनमा झण्डै १४ प्रतिशतले वृद्धि भएको छ । 

चालु आवको माघ मसान्तसम्म कुल २४ अर्ब ७१ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । 

गत आवको सोही अवधिमा २१ अर्ब ६५ करोड बराबर राजस्व संकलन भएको थियो । गत माघमा कुल ४६ हजार ५० हजार ६९ लिखत पारित भएको थियो भने गत पुसमा त्यो संख्या ४८ हजार एक सय ५६ थियो । 

काठमाडौं उपत्यकाभित्रका विभिन्न नौवटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजस्व संकलन गरेको छ । सो कार्यालयले ३३ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन गरेको विवरणमा देखिन्छ ।

यस्तै, डिल्लीबजार मालपोत कार्यालयले २६ करोड ९२ लाख, कलंकी मालपोतबाट २६ करोड एक लाख, मालपोत कार्यालय चाबहिलले २० करोड ८० लाख तथा भक्तपुर मालपोत कार्यालयले २४ करोड ४२ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको विभागले जनाएको छ ।

रासस

Link copied successfully