लेबनानमा नेपाली सेनाका उपरथीमाथि प्रदर्शनकारीको आक्रमण

स्वदेश फर्कन रफिक हरिरी विमानस्थल जाने क्रममा राजधानी बेरुतनजिकै सडकमा प्रदर्शनकारीद्वारा आक्रमण  

फाल्गुन ४, २०८१

बुद्धिसागर मरासिनी, मातृका दाहाल

Demonstrators attack Nepalese army officers in Lebanon

काठमाडौँ — लेबनानमा शान्ति स्थापनाका लागि तैनाथ नेपाली सेनाका उपरथी चोकबहादुर ढकालमाथि आक्रमण भएको छ । लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम फौज (युनिफिल) का डेपुटी फोर्स कमान्डर ढकाल स्वदेश फर्कने क्रममा हेजबुल्लाह समर्थक प्रदर्शनकारीको आक्रमणमा परेका हुन् । 

आक्रमणलगत्तै ढकाललाई युनिफिल मिसनअन्तर्गतकै ‘लेबल–३’ अस्पताल लगिएको थियो । नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार ढकालको टाउकामा चोट लागेको छ । 

उनको उपचार भइरहेको र खतरामुक्त रहेको पनि केसीले जानकारी दिए । ढकालसँगै आक्रमणमा परेका अन्य तीन नेपाली शान्ति सैनिकको अवस्था सामान्य छ । ढकाल दुई वर्षदेखि युनिफिल मिसनमा डेपुटी फोर्स कमान्डरका रूपमा कार्यरत थिए । कार्यकाल सकेर नेपाल फर्कन रफिक हरिरी विमानस्थल जाने क्रममा बेरुतनजिकै सडकमा शुक्रबार राति उनी प्रदर्शनकारीको आक्रमणमा परेका हुन् । 

लेबनान सरकारले दुई इरानी विमानलाई अवतरण गर्न रोक लगाएपछि लडाकु समूह हेजबुल्लाह प्रदर्शनकारीले विमानस्थलको बाटो अवरुद्ध गरेका थिए । उपरथी ढकाल विमानस्थलमा जाने क्रममा दुई वटा गाडीले एस्कर्ट गरेका थिए । तीमध्ये एक गाडी पार भइसकेपछि ढकाल रहेको र उनको पछुवा गाडीमा आक्रमण भएको थियो । 

युनिफिलका शान्ति सैनिकमाथि भएको आक्रमणप्रति कडा निन्दा गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विज्ञप्ति जारी गरेका छन् । ‘विमानस्थलको मुख्य सडकमा प्रदर्शनकारी समूहले आक्रमण गर्दा केही शान्ति सैनिक घाइते भएका छन् र युनिफिल गाडीमा पनि आगजनी गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता आक्रमण अस्वीकार्य छन । दोषीलाई जवाफदेही बनाउनुपर्छ । संयुक्त राष्ट्रसंघका कर्मचारी र सम्पत्तिको सुरक्षालाई सधैं सम्मान गरिनुपर्छ ।’

राष्ट्रसंघका महासचिव गुटेरेसले शान्ति सेनाविरुद्धको आक्रमणलाई मानवीय कानुनलगायत अन्तर्राष्ट्रिय कानुनहरूको उल्लंघन भनी टिप्पणी गरेका छन् ।

यस्ता घटना युद्ध अपराध पनि हुन सक्ने उनको भनाइ छ । महासचिव गुटेरेसले युनिफिलले लेबनानमा शान्ति स्थापनार्थ काम जारी राखेको उल्लेख गर्दै सम्बद्ध सबै पक्षलाई राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव नम्बर १७०१ अन्तर्गतका दायित्व पूरा गर्न पनि आग्रह गरेका छन् । सन् २००६ को उक्त संकल्प प्रस्तावअनुसार युनिफिललाई उसका गतिविधि सञ्चालन तथा कार्यान्वयनका लागि लेबनानभर आवतजावतको असीमित स्वतन्त्रता प्रदान गर्नॅपर्छ । 

सुरक्षा परिषद्को १७०१ प्रस्तावको अन्तिम लक्ष्य लेबनान र इजरायलबीचको स्थायी युद्धविराम भएको महासचिव गुटेरेसले जनाएका छन् । सन् २००६ को लेबनान युद्ध अन्त्यपछि इजरायली सीमामा बनाइएको मध्यवर्ती क्षेत्र अनुगमन गर्न युनिफिल गठन गरिएको हो । दक्षिणी लेबनानका विभिन्न स्थानमा यसका पोस्ट छन् । 

युनिफिल मिसन मुख्यालयले पनि विज्ञप्ति जारी गर्दै दक्षिणी लेबनानमा सुरक्षा र स्थिरता स्थापनाका लागि सेवा गरिरहेका शान्ति सैनिकमाथि गरिएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ । लेबनानका राष्ट्रपति जोसेफ आउन र लेबनानी सेनाले पनि ढकालमाथि भएको आक्रमणको निन्दा गरेका छन् । बीबीसीका अनुसार राष्ट्रपति आउनले घटना अस्वीकार्य भएको जनाउँदै त्यसमा संलग्नलाई कारबाही गर्ने बताएका छन् । ‘देशको शान्तिलाई अस्थिर र खलल पार्ने प्रयास गर्ने कुनै पनि पक्षप्रति सुरक्षा बलहरू उदार हुने छैनन्,’ राष्ट्रपति आउनले सामाजिक सञ्जालमा लेखेका छन् । 

लेबनानी आन्तरिकमन्त्री अहमद अल–हज्जरले आक्रमण ‘शान्ति सेनाविरुद्धको अपराध’ भएको प्रतिक्रिया दिएका छन । अलजजिराका अनुसार घटनामा संलग्न २५ जनालाई पक्राउ गरिसकेको हज्जरले बताएका छन् । हेजबुल्लाहको सहयोगी समूह अमल आन्दोलनले पनि युनिफिलमाथि दक्षिणी लेबनानमा भएको आक्रमणलाई ‘नागरिक शान्तिमाथिको छुरा प्रहार’ को संज्ञा दिएको छ । 

लेबनान र इरानबीच उत्पन्न टकरावका कारण लेबनानी सशस्त्र समूह हेजबुल्लाहका समर्थक बिहीबारदेखि बेरुतस्थित रफिक हरिरी विमानस्थलबाहिर भेला भएका थिए । लेबनानले दुई इरानी विमानलाई अवतरण गर्न रोक लगाएपछि त्यहाँ तनाव उत्पन्न भएको थियो । इजरायल रक्षा बल (आईडीएफ) ले इरानको कुर्द फोर्सले हेजबुल्लाहलाई हतियार पठाउन अन्तर्राष्ट्रिय उडान प्रयोग गरेको दाबी गरेपछि इरानी विमानलाई बेरुतमा अवतरण गर्न रोक लगाइएको थियो । हेजबुल्लाह र इरानले भने हतियार तस्करीका लागि रफिक हरिरी विमानस्थल प्रयोग भएको अस्वीकार गरेका छन् । 

लेबनानस्थित सिया मुस्लिम संगठन हेजबुल्लाह इरान समर्थित सशस्त्र समूह हो । सन् १९८० को दशकमा गृहयद्धका क्रममा इजरायली फौजले दक्षिणी लेबनानमाथि नियन्त्रण कायम गरेपछि इरानको आर्थिक र सैन्य सहायताबाट हेजबुल्लाहको उदय भएको हो । इजरायली सेना २४ मे २००० मा दक्षिणी लेबनानबाट फिर्ता भएको थियो । हेजबुल्लाहले आफ्नो कारबाहीका कारण इजरायल लेबनान छाड्न बाध्य भएको बताउने गर्छ । इजरायलले लेबनान छाडेसँगै हेजबुल्लाह निःशस्त्र हुनुपर्ने दबाब बढेको थियो । तर त्यसलाई बेवास्ता गर्दै हेजबुल्लाहले आफ्नो सैनिक संगठन ‘इस्लामिक रेसिस्टेन्स’ लाई थप सुदृढ पार्दै गयो । जसका कारण दुई पक्षबीच तनाव जारी छ । 

प्यालेस्टिनी समूह हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेपछि इजरायली सेनाले जवाफी कारबाही सुरु गरेको थियो । त्यसलगत्तै हेजबुल्लाहले हमासलाई समर्थन गरेपछि इजरायल–हेजबुल्लाह युद्ध सुरु भएको थिय । युद्धका क्रममा हेजबुल्लाह प्रमुख हसन नसरल्लाह मारिएपछि द्वन्द्व थप चर्किएको थियो । त्यसको असर इजरायल र लेबनान सीमा क्षेत्र ‘ब्लु लाइन’ (संयुक्त राष्ट्रसंघले दुई मुलुकबीचको विवादलाई कम गर्नका लागि कोरिदिएको सीमा रेखा) मा बस्ने शान्ति सैनिकलाई परेको थियो । २७ नोभेम्बर २०२४ मा अमेरिका, फ्रान्सलगायत देशको मध्यस्थतामा दुई पक्षबीच युद्धविराम भएसँगै लेबनान शान्त बनेको थियो । तर लेबनानमा इरानी विमान अवतरणमा रोक लगाइएपछि तनाव सुरु भएको हो । 

युद्धविराम सम्झौतामा इजरायल र हेजबुल्लाहलाई लेबनान र इजरायलबीचको अनौपचारिक सीमा ‘ब्लु लाइन’ र लिटानी नदीबाट करिब ३० किलोमिटरभित्रको क्षेत्रबाट आफ्ना लडाकु तथा हातहतियार हटाउन दुई महिनाको समय दिइएको थियो । लेबनानको दक्षिणी क्षेत्रमा रहेका हेजबुल्लाह लडाकु अन्यत्र सर्ने र उक्त क्षेत्रमा लेबनानी सेना परिचालन गरिने सम्झौतामा उल्लेख छ । सम्झौता कार्यान्वयनको अवधि १८ फेब्रुअरीसम्म बढाइएको छ । इजरायलले सम्झौताअनुसार सेना लेबनानबाट फिर्ता गर्न तयार रहेको जनाएको छ । लेबनानले दक्षिणी क्षेत्रमा करिब १० हजार सैनिक तैनाथ गर्दै छ । 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ६ हजारभन्दा बढी सुरक्षाकर्मी शान्ति मिसनअन्तर्गत विभिन्न द्वन्द्वग्रस्त मुलुकमा तैनाथ छन् । नेपाली सेनाका अनुसार नेपालले हाल लेबनानसहित कंगो, दक्षिण सुडान, सुडान, माली, सिरिया, मध्य अफ्रिकी गणतन्त्र, इराकलगायत देशमा राष्ट्रसंघमार्फत शान्ति सेना खटाउँदै आएको छ । संयुक्त राष्ट्रसंघमार्फत शान्ति सैनिक पठाउने देशको सूचीमा नेपाल पहिलो नम्बरमा छ ।

संयुक्त राष्ट्रसंघले सन् १९४८ देखि शान्ति सैनिक परिचालन गर्न थालेको हो । नेपालले भने त्यसको एक दशकपछि मात्र राष्ट्रसंघमार्फत शान्ति सैनिक पठाउन थालेको थिय । नेपाली सैनिक पहिलो पटक सन् १९५८ मा युनाइटेड नेसन्स अब्जर्भर ग्रुप इन लेबनानमा पर्यवेक्षकका रूपमा खटिएका थिए । नेपालले कन्टिन्जेन्टका रूपमा फौजलाई १९७४ देखि खटाउन थालेको हो । नेपाली सेनाले सन् १९७४ देखि लेबनानमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघमार्फत फौज तैनाथ गराउँदै आएको छ । लेबनानमा हाल बटालियन तहमा ८ सयभन्दा बढी शान्ति सैनिक तैनाथ छन् । नेपालले अहिलेसम्म ४४ मिसनमा काम गरिसकेको छ ।

बुद्धिसागर मरासिनी कान्तिपुर संवाददाता हुन्। उनी अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा रिपाेर्टिङ र टिप्पणी लेख्छन् ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully