बागलुङवासीलाई पाउरोटी चिनाउने राजन बेकरीको इतिहास
बागलुङ — उच्च शिक्षा पढ्न राजधानी छिरेका थिए, बाग्लुङ नगरपालिका-२ का राजन श्रेष्ठ। बीएस्सी भर्ना हुने तयारी पनि गर्दै थिए। अचानक बाबु चन्द्रकुमार र जेठो दाइ कृष्णकुमारले गाउँ बोलाए।
त्यसबेला उनको सपना थियो- सरकारी जागिरे बन्ने। तर अभिभावकको आग्रह टार्न सकेनन्। बाबु चन्द्रकुमार उद्योग व्यवसायमा जमिरहेका थिए। बागलुङ फर्किएर राजनले बीए पढ्दै व्यवसाय सम्हाले। राजधानी छाडेर २०५० सालमा फर्किएका उनले एक्लै व्यवसाय सम्हालेकै तीन दशक नाघिसकेको छ।
३१ वर्षदेखि बेकरी उत्पादनमा लागेका राजनको दैनिकी बिहान ४ बजेबाट सुरु हुन्छ। उनको व्यवसाय धेरै फस्टाएर लाखौं कारोबार गर्ने खालको भने होइन। बरु बाबुको पालादेखिको निरन्तरता मात्रै हो। बाबुले नै उद्योग व्यवसाय सुरु गरेको ५३ वर्ष पुगिसकेको छ।
श्रेष्ठ परिवारको व्यवसायले बागलुङवासीलाई पाउरोटी पनि खाजा हो भन्ने चिनाएको थियो। चिउरा र भुटेको मकैलाई मात्र खाजाको रुपमा खाने चलन 'राजन बेकरी'ले परिवर्तन गराएको थियो भन्छन्, राजनका दाइ काजी गाउँले श्रेष्ठ। 'सुका कप चियामा एक रुपैयाँको पाउरोटी खाए दिनभरलाई ढुक्क हुन्थ्यो,' उनी भन्छन्, 'साहु महाजनले मात्रै खाने पाउरोटी पहिलो पटक जनताको भान्सामा पुगेको थियो।'
भारतमा काम गर्न जानेहरुले मात्र स्वाद थाहा पाएको पाउरोटी बागलुङमा २०२८ सालमा भित्रिएको काजी बताउँछन्। बुवाले यो व्यवसाय सुरु गर्दा काजी मात्र तीन वर्षका थिए। ७ भाइमध्ये कान्छो राजनको नाममा 'राजन पाउरोटी उद्योग' स्थापना गरे। उद्योग बन्द हुन नदिन विज्ञान संकायमा उच्च शिक्षा लिन राजधानी पुगेका राजनलाई फर्काएको काजी सम्झिन्छन्।
चन्द्रकुमारको ५ वर्षअघि नै निधन भइसकेको छ। ७ दाजु आआफ्नै पेसामा छन्। जेठो कृष्णकुमार, माइलो भोजेन्द्र र साइँलो ईश्वर निजामती सेवाबाट निवृत्त भइसके। काइँलो काजी वरिष्ठ अधिवक्ता छन्। राजनभन्दा माथिका निर्मल र रामबिन्दु इन्जिनियर छन्। दिदी उमाले पनि लामो समय व्यवसायमा साथ दिइन्।
स्थापनाको ४० वर्षसम्म पनि बागलुङको एकमात्र पाउरोटी उद्योगका रुपमा 'राजन पाउरोटी' सञ्चालनमा थियो। डेढ दशकदेखि मात्र अन्य उद्योग सञ्चालनमा आएका छन्। अहिले त यहाँ बेकरी उद्योगको संख्या आधा दर्जन पुगिसकेको छ।
४० देखि ५० वर्षसम्म नियमित पाउरोटी लैजानेहरु पनि रहेको राजनले बताए। 'पछिल्लो समय बसाइँ सरेर जानेहरु धेरै छन्, त्यसैले पुराना ग्राहक घटे, नयाँ थपिए,' उनी खुसी हुँदै भन्छन्, 'कतिपय पुराना ग्राहकहरु टाढाबाट पनि राजन पाउरोटी भन्दै भेट्न र खाजा किन्न आउने गरेका छन्।' आएकाहरुले बाबुआमाको संगतबारे गफ गर्दा राजनलाई पुराना दिनको याद आउँछ। दाइहरुले डोकोमा बोकेर पाउरोटी घरघरमा लगिदिएको पनि सम्झन्छन्।
राजनले समेत त्यसबेला पर्वतको कुश्मा, म्याग्दीको बेनी र बागलुङको दोबिल्ला र बिहुँसम्म डोकोमा बोकेर पाउरोटी पुर्याउन गएको अनुभव सँगालेका छन्। 'अहिले त बजारभित्र मात्रै लगे पुग्छ, त्यसका लागि पनि ३ जना कामदार छन्,' उनले भने, 'भित्र काम गर्ने ३ जना कालिगड पनि छन्।' पत्नि दिपिकासहित घरका तीन जना सदस्यले पनि उद्योगमा समय दिएका छन्। भकुन्डे घर भएका गोविन्द रिजाल २२ वर्षदेखि आफूले यही यही उद्योगमा काम गरेको बताए।
यहाँ दैनिक दुई क्विन्टल पिठो उपयोग हुन्छ। राजनका अनुसार दैनिक ३० देखि ४० हजार रुपैयाँ कारोबार हुन्छ। भक्कु नामको बन पाउरोटीबाट सुरु भएको उत्पादन अहिले एक दर्जन परिकारमा पुगेको छ।
दिपिका दैनिक एक दर्जनसम्म बर्थडे केक पनि बनाउने गर्छिन्। 'कहिले एक-दुईवटा मात्रै अर्डर आउँछ भने कहिले राम्रै कमाइ हुन्छ,' उनले भनिन्, 'पुरानो बेकरी भनेर धेरैले विश्वास गरेका छन्। यसैमा खुसी छौं।'
पहिले श्रेष्ठ परिवारले दाउरा बालेको आगोमा पाउरोटी तयार पार्थ्यो। समय बदलियो, प्रविधि थपिए। अहिले ग्यास र विद्युतबाट चल्ने ओभन तथा मिक्सरमार्फत तयार हुन्छ। धुवाँले रातो हुनुपर्ने बाध्यता हटेर सजिलोसँग चाहेका बेलामा काम थाल्न सकिने अवस्था बनेको राजनले बताए। 'पहिलेझैं राति २ बजे उठेर दाउरा पोल्नुपर्ने बाध्यता हटेको छ,' उनी भन्छन्।
दिनको १ सय ५० वटा बनबाट सुरु भएको उद्योगमा अहिले थरीथरीका हजारौं बेकरी तयार हुन्छन्। अन्य उद्योग खुल्न थाले पनि उत्पादनलाई स्थिर बनाएको राजन बताउँछन्। व्यवसाय नछाड्ने तर अस्वस्थ्य प्रतिस्पर्धा पनि नगर्ने उनको सोचले गुणस्तरमा ख्याल गरेको देखिएको बागलुङ-२ की लक्ष्मी शर्माले बताइन्। उनी २० वर्षदेखि राजन बेकरीको नियमित ग्राहक हुन्। स्थानीय व्यवसायी गणेश जिसीले त राजन पाउरोटीबाट ४० वर्षदेखि स्वाद चाखिरहेका छ।
५ वर्षयता भने राजनले 'कालिका बेकरी'का रुपमा नाम फेरेका छन्। तर स्थानीयले अहिले पनि धेरैले राजन बेकरीकै रुपमा चिन्ने गरेका छन्।
थोरै लगानीमा पनि परिश्रम गरी नियमित काम सके व्यवसाय टिकाउन सकिन्छ भन्ने उदाहरण हो, राजन बेकरी। दुईवटा ओभन र मिक्चर गरी २५ लाख रुपैयाँ मात्रै लगानी भएको राजन सुनाउँछन्। यही उद्योगमा ७ जनाले रोजगार पाएका छन्, घरका सदस्य समेत जोड्दा त्यो संख्या १० पुग्छ।
राजन पछिल्लो समय उपभोक्तालाई सचेतना दिने काम पनि गर्छन्। 'खाने कुरामा गुणस्तरको ख्याल गरिएन भने समस्या पर्छ, त्यसैले हरेक ग्राहकलाई सुझाव दिने गरेको छु,' उनले भने, 'म्याद सकिनु दुई दिनअघि नै कतिपय परिकार फिर्ता ल्याउन कामदारलाई समेत सिकाइन्छ।'
पोखराबाट आउने पाउरोटीले ७ देखि १० दिनसम्मको म्याद राख्ने गरे पनि उनले भने ५ दिनको मात्रै राख्ने गरेका छन्। नमकिन, पफ र बिस्कुटलाई मात्र एकदेखि तीन महिनाको म्याद राख्ने गरेको उनले बताए।
पछिल्लो समय खाद्यसामग्रीमा विभिन्न मिसावट बढेपछि प्रशासनले अनुगमन बढाउने गर्छ। कहिलेकाहीँ त बिनागल्ती दुःख दिने र अपमान गर्ने गरेको राजनले गुनासो गरे। 'बजारमा अर्कैको सामानमा कमजोरी देखियो भने प्रशासनले हामीलाई पनि दुःख दिएको छ,' उनले भने, 'अनुगमनको निहुँमा पटकपटक आएर कामै रोक्न लगाउने, सामान जथाभावी फाल्ने गर्दा नराम्रो लाग्छ। कुनै पनि अनुगमनले अहिलेसम्म गुणस्तरमा कमजोरी भने देखाउन सकेको छैन।'
