काभ्रे — संघीय सांसद एवं पूर्वमन्त्री गोकुल बास्कोटाले युवा चेतनाले संसारको परिर्वतनको नेतृत्व गर्ने बताएका छन् । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा शनिबार आयोजित विश्व युवा महोत्सव (वर्ल्ड युथ फेस्टिभल)को अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले चेतनशील युवाको नेतृत्वले संसार परिवर्तन सम्भव हुने बताएका हुन् ।
उनले भने, ‘युवाहरुमा विद्रोह मात्र भएर हुँदैन, युवा चेतनशील हुनुपर्छ, युवामा नेतृत्व हुनुपर्छ, रचनात्मक भाव हुनुपर्छ, यस विश्व सम्मलेनले यिनै कुरालाई समेटेको छ, यस कार्यक्रम युवाहरुका लागि निकै लाभदायी हुनेछ, युवाहरुमा नेतृत्व विकासमा वृद्धि गर्नेछ ।’
कार्यक्रममा वाग्मती प्रदेशसभा सांसद तीर्थ लामाले विश्व युवा महोत्सव ऐतिहासिक सम्मेलन भएको उल्लेख गर्दै यसले काभ्रेको मात्रै नभएर देशकै पहिचान बोकेको बताए । यस प्रकारका कार्यक्रमले युवाहरुमा नयाँ उर्जा थप्न मद्दत पुग्ने उनको विश्वास छ ।
त्यस्तै, प्रदेश सांसद रत्न ढकालले देशका उर्जाशील युवा विदेश पलायन हुँदै गएको र स्वदेशमै रहेका युवाहरुमा छाएको निराशाजस्ता विविध समस्या समाधान गर्नका लागि तीन तहकै सरकार अग्रसर हुनुपर्नेमा जोड दिए । 
नेपालमा भएका अवसर, दक्षता, चुनौतीदेखि युवाहरूलाई स्वदेशमै भएका सम्भावनाबारे परिचित गराउँदै हौसला प्रदान गर्ने विश्वासका साथ काभ्रेमा विश्व युवा महोत्सव आयोजना हुन लागेको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले बताए । ७५ देशका १० हजार प्रतिनिधि महोत्सवमा सहभागी हुने छन् । त्यसमा २ सयभन्दा बढी वक्ताहरू हुनेछन् । ३ लाखभन्दा बढी युवा भेला हुने आशा गरिएको महोत्सवमा ५० भन्दा बढी विभिन्न गतिविधि हुने आयोजकले जनाएको छ । महोत्सवमा जलवायु परिवर्तन, लैंगिक एकता, महिला सशक्तीकरण, वाक स्वतन्त्रता, पर्यटन, राजनीति, लिडरसिप, स्थानीय खानालगायतका विषयमा बहस हुने छ ।
महोत्सव काठमाडौं विश्वविद्यालय परिसरमा २०८१ चैत १४ देखि १८ (२७-३१ मार्च २०२५) सम्म हुनेछ । उद्घाटन समारोहमा १ लाख युवा उपस्थित हुने अपेक्षा लिएको आयोजकको भनाइ छ ।
