पार्टीमा जिम्मेवारीपूर्वक काम गर्नुपर्यो, पार्टीको आन्तरिक संगठन संरचना चुस्त बनाउनुपर्यो भनेर ध्यानाकर्षण गराएका छौं । - कृष्णप्रसाद सिटौला
काठमाडौँ — कांग्रेसका संस्थापन पक्षीय नेताले पार्टी सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनमा अघि सारिने उत्तराधिकारीबारे जिज्ञासा राखेका छन् । पार्टीको १४औं महाधिवेशनमा देउवालाई सहयोग गरेका ११ नेताले शुक्रबार बूढानीलकण्ठ पुगेर उत्तराधिकारीबारे प्रश्न गरेका हुन् ।
नेता कृष्णप्रसाद सिटौलाको अग्रसरतामा कांग्रेसका पूर्व तथा वर्तमान पदाधिकारीले देउवालाई भेटेका थिए । टोलीमा सिटौलाका साथै विमलेन्द्र निधि, प्रकाशमान सिंह, गोपालमान सिंह, शशांक कोइराला, पूर्णबहादुर खड्का, विजय गच्छदार, प्रकाशशरण महत, एनपी साउद, उमाकान्त चौधरी र बालकृष्ण खाण थिए ।
उनीहरूले महाधिवेशनको तयारी, संस्थापन समूहको एकता, पोखरामा सभापतिको भेलामा पूर्वपदाधिकारी र वरिष्ठ नेतालाई नबोलाइएको विषयमा प्रश्न गरेका थिए । सरसल्लाह र छलफलमा आफूहरूलाई किनारा पारिएको पनि उनीहरूको गुनासो थियो ।
१५ औं महाधिवेशनका लागि संस्थापनइतरका नेता शेखर कोइराला सभापतिको दौडमा लागिसकेका छन् । महामन्त्री गगन थापाले पनि सभापतिमा उम्मेदवारी दिने चर्चा छ । तर, संस्थापन पक्षबाट आकांक्षी नेता देउवाको ‘ग्रिन सिग्नल’ पर्खेर बसेका छन् । पछिल्लो समय सभापति देउवासँग महामन्त्री थापाको निकटताले संस्थापन पक्षका नेतामा संशय बढाएको छ । यही विषयमा छलफल गर्न नेताहरू सभापति देउवाको निवास पुगेका हुन् ।
छलफलमा १४ औं महाधिवेशनमा प्रारम्भदेखि दोस्रो चरणमा साथ दिएका सबै नेता अहिले पनि देउवाको साथमा रहेको सिटौलाले बताएका थिए । ‘संस्थापन पक्ष एक छैन, असुरक्षित छ भन्ने सन्देश गएको छ । त्यसप्रति चिन्ता व्यक्त गर्न आएका हौं,’ सिटौलाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘अहिले बजारमा पार्टी सभापतिका उम्मेदवार दुई जना मात्र छन् भन्ने परेको छ । हाम्रोबाट कोही पनि छैन भन्ने सन्देश जानु ठीक होइन ।’
सिटौलाको उक्त भनाइमा अन्य नेताले पनि समर्थन गरेका थिए । ‘१४ औं महाधिवेशनमा हामीले तपाईंलाई सघायौं । अब तपाईंले हामीलाई सघाउनुपर्यो,’ सिटौलाले भनेका थिए, ‘आगामी महाधिवेशनमा हामी मिलेर उम्मेदवारी दिन्छौं । तपाईंले हामीलाई सहयोग गर्नुपर्यो ।’
पार्टी विधानका कारण दुई पटकभन्दा बढी सभापति हुन नमिल्ने भएकाले आगामी महाधिवेशनमा देउवा उम्मेदवार हुन पाउँदैनन् । तर सिटौलाले देउवाको स्पष्ट जवाफ खोजेका थिए । ‘कतै फेरि तपाईं आफैं उठ्ने त तयारीमा हुनुहुन्न ? त्यसो हो भने पनि भन्नुहोस्,’ सिटौलाको भनाइ थियो । तर, देउवाले आफू उठ्ने सम्भावना नरहेको बताएको छलफलमा सहभागी एक नेताले बताए । उत्तराधिकारीको प्रश्नमा भने देउवाले ‘आफूले अहिले बोल्ने बेला नभएको र समय आएपछि सल्लाहमै निर्णय लिने’ जनाएको ती नेताले जानकारी दिए ।
कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको कार्यकाल २०८२ मंसिरमा ४ वर्ष पुग्दै छ । पार्टी विधानअनुसार ४ वर्षमा नियमित महाधिवेशन हुनुपर्ने हो । त्यसो हुन नसके १ वर्ष थप्न सकिने सुविधा विधानले दिएको छ । कांग्रेसका प्रायः महाधिवेशन ५ वर्षकै अन्तरालमा हुँदै आएका छन् । विधानबमोजिम कांग्रेसले २०८३ मंसिरसम्ममा महधिवेशन गरिसक्नुपर्छ । तर २०८३ मा पनि महाधिवेशन हुने सम्भावना नदेखिएको नेताहरूको भनाइ थियो । संविधानमा भने विषम परिस्थिति उत्पन्न भई पाँच वर्षभित्र निर्वाचन हुन नसके थप ६ महिनामा महाधिवेशन गर्न सकिने उल्लेख छ ।
हालसम्म २५/३० प्रतिशत क्रियाशील सदस्यको पनि नवीकरण नभएकामा सिटौलाले चिन्ता व्यक्त गरेका थिए । नेताहरूले २०८२ मंसिरमै महाधिवेशन गर्दा ठीक हुने सुझाव दिएका थिए । महाधिवेशनलगत्तै चुनावमा होमिँदा त्यसले नकारात्मक असर पार्ने उनीहरूको भनाइ थियो । कांग्रेसका सहायक महामन्त्री उमाकान्त चौधरीले समयभित्रै महाधिवेशन नभए त्यसले पार्टीभित्र नराम्रो स्थिति सिर्जना हुने र बाहिर पनि राम्रो सन्देश नजाने बताएका थिए ।
पार्टीका पूर्वमहामन्त्री शशांक कोइरालले भने आमचुनावभन्दा २ वर्षअगाडि वा चुनावपछाडि महाधिवेश गर्नुपर्ने धारणा राखेका थिए । सभापति देउवाले पनि चुनावपछाडि महाधिवेशनको तर्कमा छलफल गर्न सकिने बताएको एक नेताले जानकारी दिए । ‘उहाँको कुरा सुन्दा चुनावपछाडि महाधिवेशन लैजाने उपाय खोज्दै हुनुहुन्छ जस्तो लाग्यो,’ बैठकमा सहभागी ती भने ‘तर, त्यो पार्टीको विधान मात्रै होइन, संविधानविपरीत हुने र त्यसको असर नराम्रो पर्नेबारे सचेत गराएका छौं । उहाँले छलफलबाटै गर्ने हो भन्नुभएको छ ।’
नेता सिटौलाले पार्टी महाधिवेशनको तयारीमा भइरहेको ढिलाइ, पार्टीको संगठन तथा पार्टीका कार्यक्रममा पनि नेतालाई बोलाउन छाडिएका विषयमा पार्टी सभापतिको ध्यानाकर्षण गराएको बताए । नेताबीच आपसी सरसल्लाहमा सामूहिक रूपमा भेटेको उनले बताए । ‘पार्टीमा जिम्मेवारी पाएकाले जिम्मेवारीपूर्वक काम गर्नुपर्यो, पार्टीको आन्तरिक संगठन संरचनालाई चुस्त बनाउनुपर्यो, यसबारे सभापतिको ध्यानाकर्षण गराइएको छ,’ उनले भने ।
पार्टी पदाधिकारीको काम गराई चित्त नबुझेको गुनासो पनि नेताहरूले गरेका थिए । उपसभापति र महामन्त्रीहरू नै पार्टीको संगठन सुदृढ गर्नेतर्फ लाग्नुभन्दा पनि पार्टीको फोरमलाई आफ्नो स्थार्थ र आफ्नो उम्मेदवारी लक्षित प्रयोग गरेको उनीहरूले उल्लेख गरेका थिए । पार्टीमा सबै कुरा एकतर्फी भइरहेको उनीहरूको गुनासो थियो । उनीहरूले भैरहवामा हुन लागेको पार्टी क्षेत्रीय सभापतिको भेलामा पनि बोलाइने हो कि होइन भन्ने प्रश्न देउवासमक्ष राखेका थिए ।
छलफलमा नेता निधिले राष्ट्रिय निर्वाचनको प्रक्रियामा सुधार गरेर जान सुझाव दिएका थिए । उनले पहिला प्रतिनिधिसभा, त्यसपछि प्रदेशसभा र अन्त्यमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने दिएको सुझावलाई देउवाले सकारात्मक लिँदै त्यसमा छलफल बढाउने चासो देखाएका थिए । पार्टी महाधिवेशनको तयारी, पार्टी सुदृढीकरणको प्रक्रिया तथा पार्टीकै महत्त्वपूर्ण कार्यक्रममा नबोलाइने, छलफल, सरसल्लाह नगरिनेजस्ता विषयमा कायम असन्तुष्टि र गुनासालाई सभापतिसमक्ष राखिएको निधिले बताए ।
