तनावपूर्ण सम्बन्धमा अल्झिएका युवा

सम्बन्धमा हुनुअघि आफू कस्तो थिएँ, दिनचर्या कस्तो थिय ? पढाइमा फोकस थियो कि थिएन ? राम्रा काम गर्न प्रोत्साहन भइरहेको छ कि घटिरहेको छ ? यस्ता कुराले सम्बन्ध ‘टक्सिक’ भए/नभएको थाहा पाउन सकिने मनोविद् बताउँछन्

फाल्गुन ३, २०८१

प्रविना पौडेल

A young man caught in a strained relationship

काठमाडौँ — सृष्टि (नाम परिवर्तन) कक्षा १२ पढ्दै गर्दाताका प्रेमसम्बन्धमा थिइन् । यतिबेला स्नातक तहको चौथो वर्षमा अध्ययनरत २२ वर्षीया सृष्टिले हालै साथीहरूसँग कलेज ‘ब्रेक’ मा खाजा खाने क्रममा पुरानो सम्बन्ध सम्झँदै भनिन्, ‘चिट गरेको थाहा पाउँदा पनि उसलाई छोड्न मन लागेको थिएन ।’ कक्षा १० पढ्दादेखि चिनेको साथीसँग उनी प्रेम सम्बन्धमा थिइन् ।

कक्षा १२ मा आइपुग्दा प्रेमीको अन्यसँग पनि सम्बन्ध रहेको उनले थाहा पाइन् । सुरुमा त उनलाई २–३ वर्षदेखि निकट रहेको प्रेमीले ‘चिट’ गर्‍यो भन्ने विश्वास गर्नै गाह्रो भयो । पछि यो सबै जान्दाजान्दै पनि सृष्टिले प्रेमीलाई छोड्न सकिनन् । ‘तिमीले चिट गर्‍यौ, ‘ब्रेकअप’ दिन्छु भन्दा रोइकराइ गरेर सरी भन्थ्यो । अब गल्ती नगर्ने वाचा पनि गर्‍यो तर त्यस्तो गल्ती बारम्बार दोहोर्‍याइहन्थ्यो र उसैगरी सरी भन्थ्यो,’ उनले विगत सुनाइन् ।

सृष्टिलाई बारम्बार प्रेमीले ‘इमोसनल्ली म्यानुपुलेट’ गर्ने, माया गर्छु भन्ने आश्वासन दिइरहने गर्थ्यो । जुन सही नभएको बुझ्न सृष्टिलाई महिनौँ लाग्यो । यो घटनाले उनलाई मानसिक रूपमा पनि तनाव बढायो । उनी सम्झिन्छिन्, ‘उसले गरेको गलत थियो भनेर बुझ्न पनि मलाई धेरै समय लाग्यो । आफूलाई धेरै गाह्रो भएपछि मात्र उसलाई छाड्ने निर्णय लिन सके ।’

त्यस्तै, कक्षा १२ मा अध्ययनरत १९ वर्षीया एक किशोरी आफूलाई हैरान पार्ने प्रेमीलाई अझै पनि केही गरेर सुधार्न सकिन्छ कि भन्ने चिन्तामा छिन् । न उनी प्रेमीलाई छोड्न सक्छिन् न उसले आफूमाथि शंका र ‘स्टक’ गर्ने बानीलाई नै छुटाउन सक्छिन् ।

२१ वर्षीय किशोरसँग एक वर्षयता प्रेम सम्बन्धमा रहेकी उनलाई प्रेमीले उनका हरेक गतिविधिको विवरण दिनका लागि बाध्य पार्ने प्रवृत्ति मन पर्दैन । सबै गतिविधि प्रस्ट बताउँदा पनि प्रेमीले शंका गर्न भने छोड्दैन । उनले सुनाइन्, ‘कहिलेकहीँ त उसले मेरो मोबाइलको गुगल ट्र्याककै विवरणसमेत हात पारेको हुन्छ । अनि त्यहाँ किन गएको ?, के कामले गएको ? भनेर सारा सोधीखोजी गरेर शंका गर्छ ।’

यति धेरै शंका गर्ने, बेलाबखत म्यासेन्जर र ह्वाट्सएपको च्याट विवरण पनि हेरिराख्ने प्रेमीलाई उनी न छोड्न सक्छिन् न उनलाई यो गतिविधि मन परेको छैन भनेर बताउन नै सकेकी छन् । भनिन्, ‘उसको यही बानी मन पर्दैन । तर भन्न पनि सक्दिनँ । छोड्छ कि भन्ने पीर लाग्छ ।’

प्रहरीको साइबर ब्युरोमा कार्यरत एक अनुसन्धान अधिकारीका अनुसार उनीकहाँ आउने कैयौं केसमध्ये केही यस्तै ‘टक्सिक रिलेसन’ (विशाक्त सम्बन्ध) पछि उत्पन्न अपराधसँग सम्बन्धित हुन्छन् । ती अधिकारीले सुनाए, ‘किशोरीहरू न प्रेमी छोड्न सक्छन् न उसले गरिरहेको निगरानी एक किसिमको अपराध नै हो भनेर यसविरुद्ध लड्न नै सक्छन् । समस्या परेपछि मात्रै उनीहरू प्रहरी कहाँ बुझ्न आउँछन् ।’ 

उनै प्रहरी अधिकारीले हालै आफूकहाँ आएकी एक किशोरीको घटना सुनाए । उनका अनुसार, २१ वर्षीया ती किशोरीको पूर्वप्रेमीले उनको सामाजिक सञ्जालका पासवर्ड हात पारेर त्यहीँबाट उनको चरित्र हत्या गरिदिन्छु भन्दै धम्काउने गरेको रहेछ । किशोरीले आफूलाई मानसिक तनाव दिएको बताउँदै प्रहरीमा पुगेकी थिइन । प्रहरीका अनुसार ती किशोरी यही कारण ६ महिनादेखि तनाव बोकेर बाँचिरहेकी छन् ।

A young man caught in a strained relationship

यी ‘टक्सिक रिलेसन’ का केही दृष्टान्त मात्र हुन् । जानेरै वा नजानेर त्यस्तो विषाक्त सम्बन्धमा हुने अन्य थुप्रै युवा छन् । किन कोही ‘टक्सिक रिलेसन’ मा बस्छन् वा ‘टक्सिक रिलेसन’ मा छु भन्ने थाहा पाउँदैनन् ? यसबारे धेरै अध्ययन नभएको विज्ञहरू बताउँछन् ।

मनोविद् करुणा कुँवरका अनुसार ‘रिलेसन टक्सिक’ हुने कारण बुझ्न सुरुदेखि नै रिलेसन कसरी सुरुआत भयो बुझ्न आवश्यक छ । सुरुसुरुमा कुनै पनि सम्बन्धमा एक अर्कालाई समय दिने, तारिफ गर्ने, धेरै ‘अटेन्सन’ दिने हुन्छ जसबाट ‘अट्याचमेन्ट’ बनेको हुन्छ । ‘किशोरकिशोरी वा युवाका कुरा गर्ने हो भने कतिको पहिलो सम्बन्ध भइरहेको हुन्छ । सम्बन्ध सधैं यसैगरी चल्छ भन्ने लाग्न सक्छ,’ मनोविद् कुँवर भन्छिन्, ‘धेरै समय सँगै बिताएको भएर पनि लत बसेको हुन्छ । तर कुनै पनि सम्बन्धमा त्यो सधैं कायम हुँदैन, अन्य कुरामा पनि फोकस बढ्छ । जस्तै पढाइ, करिअर, जसले सम्बन्धमा सम्मान र विश्वास घट्दै जान्छ र टक्सिक हुन थाल्छ ।’

किशोरकिशोरीहरू सुरुमा प्रेमिल बानीव्यवहारमा अभ्यस्त हुँदै गर्दा केही नराम्रो भएको रहेछ भने पनि सुरुमा थाहा पाउन सक्दैनन् । उनीहरू दीर्घकालीन सोच राखेर कुनै निर्णय नलिने गरेको पाइने भन्दै कुँवर थप्छिन्, ‘तर हिंसा भएपछि विस्तारै ठीक हुन्छ भन्ने ठान्छन् र अनेक आशा राखेर सम्बन्धमा बसिरहन्छन् । धेरै समयको सम्बन्ध भएपछि छोड्न पनि गाह्रो हुन्छ ।’

आफ्नो पार्टनरको नराम्रो बानीव्यहोरा परिवर्तन हुन्छ वा परिवर्तन गराउँछु भन्ने आशाले पनि धेरै प्रेमी सहेर बस्ने गरेको कुँवरले बताइन् । आफू सुध्रिने, आइन्दा गल्ती नगर्ने वाचा गर्ने, फेरि पनि उही समस्या दोहोर्‍याउनेजस्ता समस्या भयो भने विश्वास गरिरहेको पार्टनरलाई मानसिक रूपमा पनि आघात पर् । धेरै जना महिलाहरू यसको सिकार भएको पाइन्छ । यद्यपि यो महिला–पुरुष दुवैमा देखिने गरेको उनले बताइन् ।

त्यस्तै, ‘टक्सिक रिलेसन’ मा बस्ने, त्यहाँबाट निस्कन नसक्ने कुराहरू आफ्नो बाल्यकालको अवस्था र अनुभवबाट पनि असर गर्ने क्लिनिकल साइकोलोजिस्ट हसना श्रेष्ठ बताउँछिन् । उनका अनुसार कुनै पनि ‘रिलेसन टक्सिक’ हुने, त्यसबाट निक्लिन नसक्ने वा गाह्रो हुने कुराको मूल जरो उसको बाल्यकालसम्म जोडिन्छ । ‘आफ्नो परिवारमा के छ ? अभिभावकबीचको सम्बन्ध कस्तो छ भन्ने कुराहरूले हरेकको जीवनमा असर गर्छ । मान्छे सजिलै आकर्षित हुने पनि फेमिलियर कुराहरूमा हो,’ उनी भन्छिन्, ‘यदि घरमा राम्रो छैन भने आफूसँग नराम्रो हुनु पनि स्वाभाविक लाग्छ । सबैलाई यस्तै समस्या हुने हो भनेर सामान्यीकरण गराइन्छ ।’

यस्तो बानी व्यवहारको अर्को कारण पनि आफूलाई घरमा कस्तो व्यवहार गरिँदै छ भन्नेमा निर्भर हुने श्रेष्ठले बताइन् । ‘एउटा बच्चाले सानोमा आफ्नो अभिभावकले तिमीले गर्दा म खुसी भइनँ भन्नेजस्ता अभिव्यक्ति सुनेको भए उसलाई मैले गर्दा अरूलाई गाह्रो हुनु हुँदैन भन्ने भाव विकास हुन्छ । त्यसैले मान्छेलाई रिझाउने व्यवहार देखाउन थाल्छ ।’

यसैमा अन्य न्युरोलोजिकल कुराहरू पनि जोडिने श्रेष्ठको तर्क छ । भन्छिन्, ‘एउटै मान्छेले एक पटक राम्रो पनि अनुभूति गराउने र नराम्रो पनि अनुभव गराइरहेको हुन्छ । निकै नराम्रो अनुभूति भएपछि उसैले राम्रो पनि ‘फिल’ गरायो भने त्यो एकदम ‘रिवार्डिङ’ हुन्छ । त्यही रिवार्डको अनुभूतिले ब्रेनमा डोपामिनदेखि अन्य राम्रो अनुभव गराउने हर्मोन रिलिज हुन्छ । यही कारण नराम्रा कुराहरू पनि बिर्साइदिन्छ ।’

उस्तै तर्क गर्छिन् मानवअधिकारकर्मी मोहना अन्सारी । पारिवारिक कुराहरूले मानिसको सम्बन्धमा पनि असर गर्ने उनी बताउँछिन । ‘दिनभरि झगडा गर्ने र मिल्ने, माया देखाउने तर हानि हुने गरी घृणा पनि देखाउनेजस्ता घटना प्रायः को घर परिवारमा देखिन्छ’, उनी भन्छिन्, ‘फेरि यही कुरालाई कम्प्लेन गर्दा गम्भीर तरिकाले कसैले लिइरहेको हुँदैन । हिंसा पनि सहिरहेको हुन्छ । हिंसा भए पनि ठीकै छ भन्ने बुझाइ हुन्छ । जसले गर्दा अहिलेको जेनेरेसनमा टक्सिक भए पनि यस्तै त हो नि भनेर सामान्यीकरण गरिएको छ ।’

A young man caught in a strained relationship

त्यस्तै, महिलाहरूलाई हेर्ने दृष्टिकोणका कारण पनि यस्तो समस्या आउने अन्सारी बताउँछिन् । केही नराम्रो भयो भने महिलालाई आरोप लगाइने प्रचलन समाजमा छ । आफूले ‘काउन्सिलिङ’ गरेको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘महिलाहरूले सशक्त महसुस गरेका छैनन्, त्यस कारण पनि उनीहरू आफूलाई डिफेन्ड गर्न सक्दैनन् ।’

कसरी थाहा पाउने ‘टक्सिक रिलेसन’ ?

धेरैलाई सम्बन्ध ‘टक्सिक’ भएको पनि थाहा नहुने मनोविद् कुँवरको भनाइ छ । सम्बन्धमा हुनुअघि आफू कस्तो थिएँ, आफ्नो दिनचर्या कस्तो थियो ? करिअर, पढाइमा फोकस थियो कि थिएन ? राम्रा कुराहरू गर्न प्रोत्साहन भइरहेको छ कि घटिरहेको छ ? यस्ता कुराहरूले सम्बन्ध ‘टक्सिक’ भए/नभएको थाहा पाउन सकिन्छ । कोहीसँग बस्दा राम्रो अनुभव हुन्छ वा आनन्द आउँछ भने त्यो सम्बन्ध स्वस्थकर छ भनेर बुझ्न सकिन्छ ।

यदि तनाव महसुस भइरहेको छ, मनमा अनेक कुराहरू खेलिरहेका छन्, आफू पनि गलिरहेको जस्तो महसुस हुन्छ भने त्यो सम्बन्ध राम्रो होइन । यस्तो अवस्था आएको छ भने आफ्नो विगत सम्झनुपर्ने कुँवरले बताइन् । भन्छिन्, ‘कहीँ म्यानुपुलेसन धेरै हुन्छ । स्वतन्त्र पनि महसुस हुँदैन । आफ्नो वृत्तिविकासमा पनि हानि भइरहेको छ भने त्यही नै टक्सिक रिलेसनको सबैभन्दा ठूलो र बुझ्नुपर्ने लक्षण हो ।’

त्यस्तै, आफूलाई माया गर्न अर्थात् ‘सेल्फ लभ’ गर्न थालियो भने पनि ‘रिलेसन टक्सिक’ भएको बुझ्न सकिने श्रेष्ठ बताउँछिन । पार्टनरले ख्याल राखेको हो वा निगरानी गरेको हो, त्यो बुझ्न आफूलाई माया गर्न जान्नुपर्ने उनी बताउँछिन् । श्रेष्ठ भन्छिन्, ‘आफूले आफूलाई कसरी ट्रिट गरिन्छ, अरूले पनि आफूलाई त्यस्तै गर्ने हो । त्यसैले आफ्नो भ्यालु आफैंले गर्न पनि आवश्यक छ ।’

घरपरिवार र साथीहरूले किशोरकिशोरीका कुरालाई सुनेर उनीहरूका कुरालाई सहयोग गर्नुपर्ने अन्सारीको धारणा छ । भन्छिन्, ‘आजभोलि धेरै जनामा देखिएको यो समस्या समाधानमा धेरैको सहयोग आवश्यक छ । समस्या गम्भीर होइन भनेर उडाउने प्रवृत्ति छ जुन गलत हो ।’

प्रविना प्रविना कान्तिपुरकी मल्टीिमिडिया रिपाेर्टर हुन् । उनी युवा पुस्ता, प्रविधी र मनाेस्वास्थ्यका बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully