काभ्रे — सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारमाध्यमले सत्य-तथ्य सूचना सम्प्रेषण गर्नुपर्ने बताएका छन् ।
काभ्रेको धुलिखेलमा शुक्रबार नेपाल टेलिभिजन कर्मचारी युनियनले आयोजना गरेको सार्वजनिक सेवा प्रसारण नेपालको कार्यदिशा विषयक अन्तरक्रियात्मक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सञ्चारमाध्यमले सत्य-तथ्य सूचना मात्रै जनतामाझ पुर्याउनुपर्ने बताएका हुन् ।
संविधानमै उल्लेख भएको सूचना हकबारे उल्लेख गर्दै उनले भने, ‘सूचना पाउनु जनताको मौलिक हक हो, सूचनाको हकको प्रत्याभूति जनतालाई गराउनुपर्छ, जनतासमक्ष सूचना सम्प्रेषण गर्दा भने सत्य, तथ्यमा आधारित भएर मात्रै सूचना सम्प्रेषण गर्नुपर्छ ।’
अहिले सञ्चालनमा ल्याइएको सार्वजनिक सेवा प्रसारण नेपाललाई सफल बनाउन र प्रभावकारी सेवा प्रवाह गर्न मन्त्री गुरुङले निर्देशन दिए । ‘सरकारलाई सबल र सक्षम बनाउन कर्मचारीको महत्वपूर्ण भूमिका हुन्छ,’ उनले भने, ‘त्यस्तै सार्वजनिक सेवा प्रसारण नेपाललाई सफल बनाउनको लागि महत्वपूर्ण भूमिका कर्मचारीको हुने भएकाले राम्रो काम गर्न आग्रह गर्दछु ।’
