काठमाडौँ — राष्ट्रिय दलित आयोगले सर्लाहीका सत्येन्द्रकुमार राम र नेहा रौनियारको जोडीमाथि राज्यबाट भएको अत्याचारको घटनाका विषयमा सत्यतथ्य छानबिन गरी कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।
आयोगले बिहीबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलगायत उच्च अधिकारीलाई आयोगमा बोलाएर विभिन्न उक्त मुद्दासहित दलित समुदायमाथि भइरहेका अन्याय र अत्याचारका घटनामा गम्भीर भएर कानूनी उपचारका लागि पहल गर्न निर्देशन दिएको हो।
आयोगले सत्येन्द्र र नेहाको जोडी छुटाउन खोज्ने, पक्राउ गर्ने र यातना दिनेविरुद्ध छानबिन गरी कारबाही गर्न निर्देशन दिएको आयोगका सदस्य एवम् प्रवक्ता सुन्दर पुर्कुटीले जानकारी दिए । आयोगमा भएको उक्त छलफलका क्रममा आयोगका अध्यक्ष देवराज विश्वकर्मा तथा सदस्यहरूले सो घटनाको विषयमा प्रहरीसँग सोधपुछ गरेका थिए ।
छलफलपछि प्रवक्ता पुर्कुटीले विज्ञप्ति जारी गर्दै उनीहरूको सुरक्षामा ध्यान दिन पनि निर्देशन दिइएको जनाएका छन् । घटनाको विषयमा दलित आयोगले चासो नदिएको भन्दै दलित अधिकारकर्मीहरूले गत आइतबार ज्ञापनपत्र बुझाएका थिए। घटना बाहिरिएको १० दिनपछि बल्ल आयोगले यो विषयमा चासो लिएको हो।
घटनामा गृहमन्त्रीको भूमिकाको विषयमा भने आयोगले खुलाएको छैन । पीडित सत्येन्द्रले गत २४ पुसमै आफूलाई प्रहरीले यातना दिएको र श्रीमतीलाई बेपत्ता बनाएको भन्दै आयोगमा निवेदन दिएका थिए।
