काठमाडौँ — नेपाल-भारतबीच युनिटको ८.१ भारुमा बिजुली आयात-निर्यात सहमति, नेसपा (नयाँ शक्ति) को अध्यक्षमा भट्टराई निर्वाचितदेखि युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्प र पुटिनबीच सहमतिसम्मका खबर आज चर्चामा रहे ।
०००
नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पावर एक्सचेञ्ज कमिटी– पीईसी) को १६ औं बैठकले आयातनिर्यात हुने बिजुलीको प्रतियुनिट दर ८.१ भारु (१२ रुपैयाँ ९६ पैसा) तय गरेको छ । भारतको राजधानी नयाँदिल्लीमा बुधबार भएको पीईसी बैठकले प्रसारण लाइनको संरचनाअनुसार आयात–निर्यात हुने बिजुलीको प्रतियुनिट दर तय गरेको हो ।
०००
नेसपा (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन् । पहिलो महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार नेत्र चापागाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएको एक केन्द्रीय सदस्यले जानकारी दिए । यसअघि दुई उपाध्यक्षसहित २० केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । ९९ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारीसहित ७९ पदका लागि मतदान भएको थियो ।
०००
रुस र युक्रन युद्ध अन्त्य गर्न विषयमा अमेरिका र रुसका राष्ट्रपतिले टेलिफोन वार्ता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको कुराकानी लामो र निकै फलदायी भएको बताएका बीबीसीले जनाएको छ । वार्ताका क्रममा दुवै राष्ट्रपति युक्रेन युद्ध अन्त्य गर्न तत्कालै वार्ता सुरू गर्ने सहमित जुटेको ट्रम्पले जनाएका छन् ।
०००
पाँचपल्टको च्याम्पियन थ्रीस्टार क्लबलाई हराउँदै पहिलोपल्ट नेपालमा खेलेको ब्ल्याक बुल्स फुटबल क्लब उज्वेकिस्तानको टोली २४ औं आहा–रारा पोखरा गोल्डकपको फाइनल पुगेको छ । पोखरा रंगशालामा बिहीबार थ्रीस्टारलाई ४–० को अन्तरले हराउँदै ब्ल्याक बुल्सले नेपाल पुलिस क्लबसँगको फाइनल भेट पक्का गरेको हो । ब्ल्याक बुल्सको जितमा कुभोन्चबेक ओलिमोभ, साभकातजोन सात्तोरोभ, असिलबेक ओरिफजोनोभ र साइदजामोल दाभलातजोनोभले १–१ गोल गरे ।
०००
नेपाल सुपर लिग (एनएसएल) को खेलाडी अक्सन अर्को साता हुने भएको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगिताको तेस्रो संस्करणका लागि खेलाडी अक्सन फागुन १० मा हुन लागेको हो । यसपल्टका प्रतियोगितामा सात टिमका सहभागिता रहनेछ । त्यसमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पूर्वविजेता काठमाडौं रेजर्ससँगै झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल–लुम्बिनी एफसी र धनगढी एफसी रहेका छन् ।
