सर्वोच्चको आदेशविपरीत ‘जनयुद्ध दिवस’ मनाउन ३ दर्जन पालिकामा सार्वजनिक बिदा

माओवादीले चुनाव जितेका प्रायः सबै पालिकामा बिहीबार सार्वजनिक बिदा, कांग्रेसले जितेका कतिपय पालिकामा पनि माओवादीको बहुमत भएका कारण बिदा

फाल्गुन १, २०८१

कान्तिपुर टिम

Public holiday in 3 dozen municipalities to celebrate 'People's War Day' against Supreme Court order

काठमाडौँ — सर्वोच्च अदालतको आदेशविपरीत करिब ३ दर्जन पालिकाले फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिएका छन् । कतिपय पालिकाले २०५२ मा सशस्त्र द्वन्द्व सुरु भएको दिनलाई ‘जनयुद्ध दिवस’ का रूपमा मनाउन वडा तहसम्म विभिन्न कार्यक्रम गर्दै छन् ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७९ मा हरेक वर्ष फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाउनका लागि सार्वजनिक बिदा दिने पहिलो पटक औपचारिक निर्णय गरेको थियो । त्यो वर्ष सरकारको निर्णयअनुसार सार्वजनिक बिदा दिइए पनि २०८० देखि भने त्यसलाई सर्वोच्चले रोक लगाएको थियो । 

मन्त्रिपरिषद्को निर्णयविरुद्ध द्वन्द्वपीडितका तर्फबाट अदालतमा परेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय संविधानको भावनाविपरीत रहेको ठहर गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले गत वर्ष पुस १३ मा सार्वजनिक बिदा खारेज गरिदिएको हो ।

सर्वोच्चको आदेशपछि संघ सरकारले बिदा नदिए पनि केही स्थानीय तहले गत वर्ष फागुन १ मा ‘जनयुद्ध दिवस’ को बिदा दिएका थिए । यो वर्ष पनि माओवादीले चुनाव जितेका पालिकामा बिदा घोषणा गरिएको छ । बिदाका लागि ती पालिकाले कार्यपालिका बैठकबाटै निर्णय गराएका छन् ।

माओवादी सशस्त्र विद्रोहको आधार इलाका मानिएको रोल्पाका १० मध्ये माओवादीले जितेका ७ स्थानीय तहमा सार्वजनिक बिदा घोषणा गरिएको छ । रोल्पा नगरपालिकासहित सुनिल स्मृति, लुङ्री, माडी, सुनछहरी, थबाङ र परिवर्तन गाउँपालिकामा ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिइएको हो । रोल्पाका त्रिवेणी, रुन्टीगढी र गंगादेव गाउँपालिकामा भने बिदा दिइएको छैन । त्रिवेणीमा एमालेले तथा रुन्टीगढी र गंगादेवमा कांग्रेसले अध्यक्ष पद जितेको छ । 

सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगरले सांस्कृतिक, खेलकुद र अन्य कार्यक्रम आयोजना गरेर बिदा मनाउने निर्णय गत माघ ९ को कार्यपालिका बैठकले गरेको जानकारी दिए । 

उनका अनुसार सशस्त्र द्वन्द्वका बेला पालिकाभित्र राज्यपक्षले १ सय ८२ र तत्कालीन विद्रोही पक्षले २५ गरी २ सय ७ जनाको ज्यान लिएका थिए । सुनछहरीमै पर्ने जेलबाङमा मात्रै राज्य र विद्रोही दुवै पक्षका कारण ७३ जनाको ज्यान गएको थियो ।

रोल्पाकै सुनिलस्मृति गाउँपालिकाले माघ १८ मा गरेको निर्णयअनुसार फागुन १ मा सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत नगेन्द्रप्रसाद रिजालले बताए । रोल्पामै परिवर्तन गाउँपालिकाले ‘जनयुद्ध दिवस’ मा ‘रचनात्मक कार्यक्रम’ गरेर मनाउन वडा तहसम्मलाई आह्वान गरिएको पालिकाका अध्यक्ष सुकबहादुर बुढामगरले बताए ।

Public holiday in 3 dozen municipalities to celebrate 'People's War Day' against Supreme Court order

रुकुम पश्चिममा त्रिवेणी, सानीभेरी र बाफिकोट गाउँपालिका तथा चौरजहारी र आठबिसकोट नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । तीमध्ये बाफिकोट गाउँपालिकामा कांग्रेसबाट निर्वाचित अध्यक्ष छन् । ‘जनयुद्ध दिवस’ को सार्वजनिक बिदा दिइएपछि पालिका अध्यक्ष जनककुमार बाठाको कांग्रेसभित्रै कडा विरोध भएको थियो । कांग्रेसनिकट विद्यार्थी नेता चन्द्रशेखर केसीले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले कारण देखाऊ र अन्तरिम आदेश जारी गरेको थियो ।

अन्तरिम आदेशपछि बाफिकोट गाउँपालिकाले ‘जनयुद्ध दिवस’ हटाएर अर्को सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको उद्गम बिन्दु सशस्त्र संघर्ष सुरुवात भएको दिन १ फागुन २०८१ मा मेलगैरी सहिद स्मृति मेला र सोही दिन ९५ सहिदका परिवारलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेकाले यस गाउँपालिकाअन्तर्गतका सबै सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइने,’ सूचनामा भनिएको छ ।

त्रिवेणी गाउँपालिकाले ‘जनयुद्ध दिवस’ को सट्टा ‘सशस्त्र संघर्ष’ सुरु भएको दिनको अवसरमा भनेर बिदाको सूचना जारी गरेको छ । सानीभेरी गाउँपालिकाले बिदा दिनुका साथै राष्ट्रियस्तरको ‘मौराखारा गुरिल्ला म्याराथन’ समेत आयोजना गरेको पालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिए ।

जुम्लाका सिँजा र तिला गाउँपालिकाले फागुन १ लाई सार्वजनिक बिदा घोषणा गरेका छन् । कालिकोटका रास्कोट नगरपालिका, शुभकालिका, महावै र सान्नी त्रिवेणी गाउँपालिकाले सांस्कृतिक कार्यक्रम आयोजना गरेर ‘जनयुद्ध दिवस’ मनाउने भन्दै बिदा दिएका छन् । हुम्लाको मुड्केचुला गाउँपालिका र जाजरकोटको नलगाड नगरपालिकाले सार्वजनिक बिदा दिएका छन् । दाङको बंगलाचुली गाउँपालिका, बर्दियाको राजापुर नगरपालिका र बाँकेको खजुरा गाउँपालिकामा पनि बिहीबार सार्वजनिक बिदा छ ।

अध्यक्ष कांग्रेसले जितेको अछामको रामारोशन गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । कार्यपालिकामा माओवादीको बहुमत रहेका कारण उक्त पालिकामा सार्वजनिक बिदाको निर्णय गरिएको हो । धादिङको गजुरी गाउँपालिकामा भने अध्यक्ष गणेशलाल श्रेष्ठले सार्वजनिक बिदा भन्दै सूचना प्रकाशन गरेका थिए । तर उपाध्यक्ष शर्मिला बिसुरालले त्यसको खण्डन गर्ने अर्को सूचना जारी गरेकी छन् । कार्यपालिका बैठकबाट निर्णय नभएकाले फागुन १ मा सार्वजनिक बिदा नरहेको उनको भनाइ छ ।

मकवानपुरको बागमती गाउँपालिका, बागलुङको ताराखोला गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिकाले पनि बिहीबार सार्वजनिक बिदा छ । गोरखाकै सहिद लखन गाउँपालिकाले नेपालका प्रथम सहिद लखन थापा मगर र उनका सहयोद्धा जयसिंह चुमी राना मगरको १४८ औं स्मृति दिवसको अवसर भनेर फागुन १ र २ मा सार्वजनिक बिदा दिएको छ । काभ्रेको चौंरीदेउराली गाउँपालिकाले पनि बिदा घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंद्वारा जारी सूचनामा ‘जनयुद्ध दिवस’का अवसरमा बिदा दिने निर्णय भएको बताइएको छ ।

खोटाङमा जन्तेढुंगा र खोटेहाङ गाउँपालिका, सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, पाँचथरको मिक्लाजुङ गाउँपालिका र भोजपुरको रामप्रसाद राई गाउँपालिकाले पनि ‘जनयुद्ध दिवस’ को बिदा दिएका छन् ।

कान्तिपुर

Link copied successfully